प्रदेश सरकारको योजना : सबै स्थानीय तहमा पर्यटकिय पार्क 

२०७६ श्रावण २५ शनिबार ०८:५६:०० मा प्रकाशित


काठमाडौँ । प्रदेश ३ सरकारले पर्यटन प्रवद्धनको लागि सबै स्थानीय तहहरुमा पार्क निर्माण गर्ने महत्वकांक्षि योजना बनाएको छ ।प्रदेशभित्रका एक सय १९ ओटा स्थानीय तहहरुमा ०७९ सालभित्र पार्क निर्माणको लागि १० करोड रकम विनियोजन गरेर काम सुरु गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले चालु आर्थिक बर्ष २०७६÷७७ को बजेटमा पर्यटन प्रर्वद्धनको लागि प्रदेश ३ का सबै स्थानीय तह विभिन्न पार्कहरुको निर्माण हुने भएको हो । 


प्रदेशलाई पर्यटकिय मन्त्रालयको रुपमा स्थापित गर्न पार्कले सघाउ पुग्ने पर्यटन मन्त्री अरुण नेपालले जनाए । पर्यटकीय क्षेत्रको विकासबाट प्रदेश विकासको खाका तयार गर्न सकिने उनले बताए । स्थानीय तहहरूसँगको साझेदारीमा चालु बर्षको सुरुवाती दिनबाटनै पार्क निर्माणको काम सुरु गरिने जनाएको छ । 
प्रदेश भित्र रहेका प्रायः स्थानीय तहले पर्यटन प्रर्वद्धनको लागि चालु बर्षको लागि आफ्नो पालिकामा पार्क निर्माण गर्न सम्बन्धित स्थानीय तहले बजेट छुट्याइएका छन् । स्थानीय तहको योजना सफल बनाउँन प्रदेश सरकारलेसहयोग गर्ने मन्त्रालयले जनाएको छ ।


प्रदेश सरकारले ल्याएको बजेटमा प्रदेशभित्र घोषित हिल स्टेशन, भ्यु टावर, छनौट भएका नमूना पर्यटन गन्तव्य, हिमालचुली तथा उच्च पहाडी पदमार्ग, साहसिक पर्यटकिय गन्तव्य र मानवनिर्मित विभिन्न सम्पदाको संरक्षणको लागि बजेट छुट्टाएको छ । पुर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएका योजनाहरुको विस्तृत परियोजना प्रतिवेद (डिपिआर) निर्माणको काम सुरु भैसकेको छ । अन्य क्षेत्रमा भने सम्भाव्यता अध्ययनको काम सुरु भैसकेको÷हुँदै छ । प्राय ः स्थानीय तहले आफ्नो क्षेत्रमा पार्क निर्माणको स्थल चयन गरिसकेका छन् । 


पार्क निर्माणले सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई सफल बनाउँन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।सन् २०२० देखि २०३० सम्मको दशक अवधिलाई ‘प्रदेश भ्रमण दशक’को रुपमा मनाउँने लक्ष्य प्रदेश सरकारले राखेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर सहिद स्मृति र मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुद्र स्मृति पार्क बनाउने प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने र चालू आर्थिक वर्षबाटै निर्माण अघि बढाउने गरि बजेट छुट्याएको छ । पालिकाकै मुख्य लगानीमा र प्रदेश सरकारको सहयोगमा ती क्षेत्रमा पार्क निर्माण कार्य भैरहेको छ । 


धादिङमा निर्माण भैरहेको मजदुर सहिद स्मृति पार्कमा चेपाङ संग्रालय, तालिम हल, भ्यु प्वाइन्ट, पिकनिक स्पट, गेस्ट हाउस, वाकिङ स्ट्रिटलगायत संरचना निर्माण हुनेछ । यस्तै,  मकवानपुर गढीमा पिकनिक स्पट, बाल उद्यान, गोलघर, मन्दिर, व्यावसायिक सटर, स्विमिङ पुल, मैत्री बगैँचा, भ्यु प्वाइन्टलगायत संरचना निर्माण हुनेछ । 


पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार भन्ने अवधारणका साथ ऐतिहासिक सिन्धुलीगढीलगायतको महत्वपुण गढीको संरक्षण तथा प्रर्वद्धन, होमस्टे विकास तथा विस्तार लगायतको योजना बनाएको छ । संघिय सरकारको समन्वयमा स्थानीय तहको सहकार्य र निजि क्षेत्रको साझेदारिमा सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमाना डांगडुङ्गेमा फिल्मसिटी निर्माण गर्न समेत प्रदेश सरकारले बजेट छुट्याएको छ । 

ताजा खबर