आफ्नो सुरक्षाको प्रत्याभूति भए हिन्दू धर्म मान्न प्रचण्ड तयार

२०७६ श्रावण २४ शुक्रबार ११:५२:०० मा प्रकाशित

काठमाडौं । ‘दोस्रो शक्तिशाली नेता’ को राजनीतिक दर्जामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सुरक्षाको प्रत्याभूति हुनेभएमा वैदिक सनातन हिन्दू धर्म पुनस्थापना गर्दा आफूलाई कुनै आपत्ति नहुने बताएको खुलासा भएको छ ।

केही साता अघि नेपाल आएका भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेको भनी एक पूर्वमन्त्रीले खुलासा गरेका हुन् । नेपाली कांग्रेसका नेता एवं पूर्व कानून मन्त्री दीनवन्धु अर्यालले बिहीबार राति सगरमाथा टेलिभिजनसँगको कुराकानीमा यो कुराको खुलासा गरेका हुन् ।

  पछिल्ला दिनमा प्रचण्डले सार्वजनिक सभाहरुमा व्यक्त गरेका अभिव्यक्तिले उनी ठूलै चिन्तामा परेको बुझ्नसकिने नेकपाका एक केन्द्रीय सदस्यले बताए । सपरिवार युएईको अत्याधुनिक सुविधा सम्पन्न होटलमा एकसाता बिताएर फर्केपछि उनमा यस्तो छटपटी देखिन थालेको उनको बुझाई छ । 
भारतीय गुप्तचर प्रमुखसँगको भेटपछि नै प्रचण्ड अलिक तनावमा देखिन थालेको ती केन्द्रीय सदस्य बताउँछन् । त्यो भेटमा रअ प्रमुखले नेपालमा वैदिक सनातन हिन्दू धर्मको पुनस्थापना आवश्यक देखिएको भन्दै यसमा प्रचण्डको धारणा मागेका र प्रचण्डले आफूलाई कुनै आपत्ति नभएको बताएको ती सदस्यले आफूले सुनेको बताएका छन् । 

पूर्व राजामाथि खनिनुको कारण

यतिबेला आफ्ना कमजोरी लुकाउन अरुलाई लाञ्छित गर्ने प्रवृत्ति पनि प्रचण्डमा राम्रैसँग देखिन थालेको छ । मुलुकको प्रधानमन्त्रीका रूपमा दुई÷दुईपटक जिम्मेवारी सम्हालिसकेका प्रचण्डले पछिल्लोपटक विघटित राजसंस्थाका नायक ज्ञानेन्द्र शाहबारे सार्वजनिक रूपमै गरेको टिप्पणी यतिबेला सार्वजनिक खपतको विषय बन्न पुगेको छ । आफ्ना कमजोरी र पूर्वकर्म लुकाउन उनले बेला÷बेलामा दिने गरेको विवादास्पद अभिव्यक्तिकै कारण अहिले उनको सर्वत्र आलोचना भैरहेको देखिन्छ । केही दिनअघि उनले आफ्नै नेतृत्वमा सञ्चालित   ‘जनयुद्ध’मा संलग्न बाल सैनिक लेनिन विष्टले द्वन्द्वकालका मुद्दा र यसका अभियानकर्ताविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उठाएका मुद्दाका विषयमा दिएको विवादास्पद अभिव्यक्ति र गत आइतवार रामेछाप पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई लिएर आएको अभिव्यक्ति यतिबेला व्यापक आलोचनाको विषय बनेको छ । विवादमै रमाउने र विवाद रुचाउने नेताका रूपमा यतिबेला प्रचण्डलाई स्थापित गरेको छ । 

हिरो बन्ने चाहना

यसअघि ‘हेग लगे हिरो हुन्छु’ भनेर आएको प्रचण्ड अभिव्यक्तिले गाईजात्राको पूर्वसन्ध्यामा जनतालाई राम्रै राजनैतिक प्रहसनको झल्को दिएको थियो भने पछिल्लोपटक उनले दिएको,‘ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट लखेट्ने’ अभिव्यक्तिले उनको राजनीतिक उचाई समेत प्रष्ट पारेको राजनीति विश्लेषकहरु टिप्पणी गर्छन् । प्रचण्डको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा कुनै बेला उनीसँगै रहेर काम गरिसकेका विश्लेषक मुमाराम खनालले बुधवार प्रशारित एक टेलिभिजन कार्यक्रममा ‘प्रचण्डको हताश अवस्था’ भनेर टिप्पणी गरेका छन् ।

प्रचण्डले पछिल्ला दिनमा दिँदै आएका विवादास्पद अभिव्यक्तिलाई चिरफार गर्दै राजनैतिक विश्लेषकहरुले बताउने गरेका छन्– हेगकै सन्दर्भमा प्रचण्डलाई त्यति साह्रो ज्ञान नभएको उनीहरुको विश्लेषण छ । हेगको अन्तर्राष्ट्रिय अदालत कुनै व्यक्तिलाई ‘हिरो वा नायक’ घोषणा गर्ने संस्था नभएर युद्धअपराधीले गरेको अपराधको पुर्पक्ष गर्नका लागि बनाइएको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था हो र त्यहाँ प्रचण्डलाई उभ्याइँदा अपराधीका रूपमै उभ्याइने हुन्छ । यस्तोमा प्रचण्डको हेगका सन्दर्भमा आएको यस्तो अज्ञानतापूर्ण अभिव्यक्तिलाई केहीले सत्य निरूपण तथा मेलमिलाप आयोगको नेतृत्वमा आफूले चाहेको व्यक्तिलाई नियुक्त गर्ने सहमति भएकै कारण प्रचण्डको यस्तो अभिव्यक्ति आएको हुन सक्ने बताएका छन् ।
 
पछिल्लो समय दुई तिहाइ बहुमतको शक्तिशाली सरकार केही आफ्नै कारण र केही हदमा बाह्य चलखेलका कारण जनतामा अलोकप्रिय बन्दै गएको अवस्था छ । सरकारसम्बद्ध यही नेकपा दलका अध्यक्ष हुन् प्रचण्ड । सरकारले कुनै निर्णय गर्न र कार्यान्वयनका लागि कुनै बाधा थिएन तर पनि सरकारबाट जनअपेक्षित कुनै काम हुन सकिरहेका छैनन् ।  पछिल्लो समय निर्मला हत्याकाण्ड, ३३ किलो सुन प्रकरण, होली वाइन, वाइड बडी किन्दाको अर्बौं भ्रष्टाचार, बालुवाटारको सरकारी जग्गा विवाद, भारतबाट आयातित तरकारी र फलफूलको परीक्षणलगायतका प्रकरणले सरकारलाई विवादमा तानेको छ । भ्रष्टाचार रोकिएन । महँगी बढ्दा जनताको ढाड सेकियो । सुशासन र पारदर्शिता नेताको भाषणमै सीमित रह्यो– जसले सरकार र पार्टी नै बदनाम हुँदै गएको यस स्थितिमा जनताको ध्यान पार्टी र आफूबाट हटाउनकै लागि प्रचण्डले कुनै पात्र तयार गर्नैपर्ने  हुन्थ्यो । यसका लागि प्रचण्डले पूर्व राजालाई तारो बनाएर ध्यान मोड्न खोजेको बुझ्न सकिन्छ- विमर्शको विश्लेषण छ।  

ताजा खबर