कपन क्षेत्रका सडक नियमित अनुगमन हुने 

२०७४ भदौ २० मंगलबार १६:३४:०० मा प्रकाशित

काठमाडौं,२० भदौ । काठमाडौ निर्वाचन क्षेत्र नं. चार अन्तर्गत कपन क्षेत्रमा निर्माण भईरहेका सवै बाटोहरुको निर्माण कार्य अवदेखि तिव्र रुपमा हुने भएको छ ।

बाटो सम्बन्धी सवै सरोकारवालाहरुले बाटो निर्माणमा आईपरेका सवै अवरोध हटाउँदै निर्माण कार्यलाई तिव्रता दिने आज प्रतिबद्धता जनाएका छन् । 
क्षेत्र नं. चारको सांसदको कार्यालयले कपनमा आयोजना गरेको सडक निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारबालाहरुले अवदेखि कुनैपनि बाहनामा निर्माण कार्यमा ढिलाई हुन नदिने अठोट गरेका छन् ।

कार्यक्रममा सांसद गगनकुमार थापाले सडक निर्माणका लागि आईपर्ने कुनै पनि समस्या आफुले जुनसुकै निकायमा पुगेर समाधान गरिदिने बताए । उने सामान्य समस्या देखाएर बाहना नगर्न आग्रह गर्दै अव पनि काममा सुधार नआए ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

उनले सवैभन्दा कम मूल्यमा टेण्डर हाल्नेलाई काम गर्न दिने व्यवस्थाले निर्माण व्यवसायीहरु गैरजिम्मेबार भएको अनुभव सुनाउँदै सक्ने भन्दा थोरै मुल्यमा टेन्डर हाल्न नपाइने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सडक विभागका महानिर्देशक गोपाल सिग्देलले सवै सडक योजनाहरु अन्तिम चरणमा पुगेकाले कपनको रुप चाडै नै फेरिने बताए । 
सडक निर्माण व्यवसायीहरुले सम्झौता गर्दा नै असार, साउन र भदौमा काम नगर्ने सम्झौता हुने भएकाले अहिले सडकमा अस्तव्यस्त हुनु स्वभाविक भएको भन्दै उनले अव तिव्ररुप्मा काम हुने बताए।


कार्यक्रममा सडक विभागका क्षेत्रीय निर्देशक शिवहरी सापकोटाले हरेक हप्ता कपन क्षेत्रमा सडकको अनुगमन गर्ने बताउदै हरेक हप्ता केही न केही सुधारको महशुष गराउने अठोट व्यक्त गरे।   
 

ताजा खबर