पुरानो नेवारी बस्ती  ‘सम्पदा बस्ती’ का रुपमा विकास गरिने

२०७४ भदौ २० मंगलबार ०७:३०:०० मा प्रकाशित

काठमाडौँ, २० भदौ । कीर्तिपुर नगरपालिकास्थित सय वर्ष पूरानो नेवारी बस्तीलाई ‘सम्पदा बस्ती’ को रुपमा विकास गर्ने भएको छ । 

 कीर्तिपुर, नगाउँ र पाँगा क्षेत्रमा रहेका प्राचीन नेबारी बस्तीका विविध पक्षबारे अध्ययन गरी अभिलेख तयार गर्न शुरु गरिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । 

सम्पदा बस्ती जोगाउनका लागि प्राविधिकले त्यस क्षेत्रको अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि खर्च लागतको अनुमान गरिने छ । नगरपालिकाले विभिन्न संघ संस्थाको प्राविधिक सहयोगमा त्यस क्षेत्रको अध्ययन गरी पुराना घरका बनोट, नेवारी संरचना, आँखीझ्यालको बनोटकाबारेमा प्रतिवेदन तयार गर्ने छ । 

सोही प्रतिवेदनका आधारमा नगरपालिकाले सम्पदा बस्तीको डिपिसी, उचाइको मापदण्ड तयार गर्नेछ । सम्पदा बस्ती क्षेत्रभित्र बन्ने नयाँ घरको आकार तथा उचाइ एउटै प्रकारको संरचनामा निर्माण गरिने छ । प्राचीन समयमा नेवार सुमदायले जीविकोपार्जनका लागि गर्दै आएका विभिन्न कामलाई पनि बस्ती आसपासमा व्यवस्थित गरिने नगरपालिकाले जनाएको छ । 


नेवारी संस्कृतिलाई उक्त क्षेत्रमा प्रतिविम्बित गरी दीर्घकालमा पर्यटकलाई आकर्षित गरेर आय आर्जनका योजना समेत सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 

नगर प्रमुख रमेश महर्जनले आधुनिक नेपालको निर्माणमा छुट्टै इतिहास कायम गरेको कीर्तिपुरमा बसोबास गर्ने समुदायका इतिहास र पहिचान आज लोपोन्मुख बन्दै गएकाले सम्पदा बस्तीको विकास गरी नेवरी शिष्टता र सभ्यतालाई समाजमा पहिचान गराउने उद्देश्य रहेको बताए । रासस 

ताजा खबर