१० वर्षसम्म उस्तै पूर्वका दुई नमुना सडक

२०७४ भदौ २० मंगलबार ०७:२२:०० मा प्रकाशित

एक वर्ष नपुग्दै भत्किन्छ भन्ने आमधारणालाई मोरङको उर्लाबारी-आमवाडी र झापाको पाडाजुँगी-गौरीगन्ज सडकले गलत सावित गरिदिएका छन् । मजबुत र टिकाउ निर्माणका कारण यी दुई सडक दस वर्षसम्म जस्ताको तस्तै छन् ।

पूर्वका यी सडकले स्थानीयको मन त जितेकै थिए, हिजोआज भने 'राम्रा सडक नेपालमा बन्दैनन्' भन्ने मान्यतालाई नै गलत सावित गरेर नमुना बनेका छन् ।सुनवर्षी नगरपालिकाका सत्यनारायण साह उर्लाबारी-आमवाडी सडक भएर दिनहुँजसो आहोरोदोहोर गर्छन् । १० वर्षअघि निर्माण भई हस्तान्तरण भएको बेला पहिलो पाइला राख्दाकै अनुभव अहिले पनि हुने गरेको साह सुनाउँछन् ।

'अरूतिर बनाउनासाथ खाल्डो पर्‍यो, भत्कियो, कालोपत्रे उप्कियो भनेर गुनासो गर्छन् । तर, हाम्रोतिर १० वर्षअघि बनाएर छाडेको सडक अहिले पनि उस्तै छ', उनी भन्छन्, 'राम्रो सडक बनाउन चाहँदा त बन्ने रहेछ नि !'

सिजुवाकी उषा ढुंगानालाई कक्षा-६ मा पढ्दा देखेको र हिँडेको सडक अहिले पनि उत्तिकै नयाँ नै लाग्दोरहेछ । कतै नभत्किएको तथा राम्रो अवस्थामा चालु देखिनुले सडक दह्रो बनेको रहेछ भन्ने प्रमाणित भएको ढुंगाना बताउँछिन् । 'हाम्रो गाउँमा पक्की सडक भत्किन्छ र टिक्दैन भन्ने संशय अब हटेको छ', उनी भन्छिन्, 'यो सडक बलियो भएरै होला भत्किएको, बिग्रिएको र खाल्डा परेको देखिँदैन ।'

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा रोड नेटवर्क डेभलपमेन्ट प्रोजेक्ट (आरएनडीपी)ले १० वर्षअघि निर्माण गरेको सडकको विषयमा उपभोक्ताले गुनासो गरेका छैनन् । बरु सडकलाई माया गर्ने संस्कारका कारण एक दशकपछि पनि मजबुत देखिन्छ । विराटनगरलाई हुलाकी मार्ग भएर पुरानो सदरमुकाम रंगेली, आमवाडी हुँदै उर्लाबारी र झापासम्म जोड्न यो सडक महत्वपूर्ण मानिन्छ।

झापाको पाडाजुँगी-गौरीगन्ज सडकका उपभोक्ता विवेक घिमिरे निर्माण पक्षमा ध्यान दिँदा मजबुत बन्ने रहेछ भन्ने उदाहरण यो सडकले पेस गरेको बताउँछन् । भन्छन्, 'प्राविधिक पक्षलाई ध्यान दिएर बलियो बनाउने नियत भए मात्र पनि सडक टिक्ने रहेछ भन्ने हामीले देख्यौं ।'
उनका अनुसार गौरादहमा पछिल्लोपटक निर्माण भएका धेरै भित्री सडक भत्किएर ग्राभेल बनिसके तर पाडाजुंगी-गौरीगन्ज सडक उस्तै छ । यो सडकले गौरीगन्जलगायत क्षेत्रलाई पूर्व-पश्चिम राजमार्गसँग जोड्छ ।

एडीबीको सहयोगमा उर्लाबारीबाट बरडंगासम्मको २८ किलोमिटर खण्ड आसपास ड्रेन बनाएर सडक निर्माण भएको छ । माटो बग्न सक्ने ठाउँमा 'सपोर्ट' गर्न झार उमारिएको छ । यो सडकसहित आरएनडीपी परियोजनाअन्तर्गतका विभिन्न सडक निर्माण गर्न सरकारले एडीबीसँग सन् २००२ मा ४.२ अर्ब रुपैयाँबराबरको ऋण सम्झौता गरेको थियो ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर नन्दकुमार गुप्ता उर्लाबारी र गौरीगन्ज सडक प्राविधिक रूपमा मजबुत निर्माण भएको दाबी गर्छन् । भन्छन्, 'धेरै भार भएका मालवाहक सवारी साधनको चाप नभएकाले पनि सडक टिकेका हुन् । फेरि सबबेस, बेसकोर्स र बिटुमिनको प्रयोग उच्चस्तरमा भएकाले पनि सडक दह्रो भएका हुन् ।' प्राविधिक पक्षमा ध्यान दिएकाले पनि यी सडक 'पूर्वकै टिकाउ सडक' बन्न पुगेको उनको ठम्याइ छ । अन्नपूर्ण पोस्ट ।

ताजा खबर