मोदी अहिल्यै नआउने पहिला  जयशंकर आउने

२०७६ श्रावण १७ शुक्रबार १३:१७:०० मा प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले तत्काल भारतबाट कुनै उच्चस्तरिय भ्रमण नहुने जनाउ नेपाललाई दिएका छन् । सरकारले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका लागि कुटनीतिक पहललाई सक्रिय बनाएको भएपनि उनले तत्काल नेपाल आउने आफ्नो कुनै कार्य योजना नभएको परराष्ट्र श्रोतले बताएको छ ।
 

यस्तै नयाँ दिल्लीस्थितका अनुसार मोदीको बिशेषदुतका रुपमा भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरले भने नेपालको यात्रा गर्ने सम्भावना रहेको छ । गत साता नेपाल आएका भाजपाका वरिष्ठ नेता सुब्रमण्यम स्वामीसँगको भेटमा समेत प्रधानमन्त्री ओलीले आफु आफ्ना समकक्षी भारतिय प्रधानमन्त्री मोदीलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएको बुझिएको छ । केही समय यता सरकारीस्तरबाटै भदौमा नरेन्द्र मोदी नेपाल आउने चर्चा चलाईएको छ । ईण्डियन आयल कर्पोरेशनको सहयोगमा निर्मित रक्सौल– अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम बनाएर सरकारले भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि निमनत्रणा पठाउने तयारी गरिरहेका बेला उक्त पाईपलाईनलाई भिडियो कन्फरेन्सका माध्यमबाटै उद्घाटन गर्ने सन्देश मोदीका तर्फबाट आएको थाह भएको छ ।  

मोदीले सार्क राष्ट्रको पहिलो भ्रमणमा माल्दिभ्स, श्रीलंका पछि लाई रोजेका छन् । मोदीका भुटान यात्राको समाचार यस अघिनै भारतीय सञ्चार माध्यमहरुले सार्वजनिक गरि सकेकाछन् । यसैकारण नेपालले भुटान पछि मोदीलाई नेपालको भ्रमणका लागि अनुरोध गरेको बताईएको छ । यतिबेला सरकारी स्तरबाट र स्वयं भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले समेत मोदीको भ्रमणका लागि कुटनीतिक पहल गरेपनि सफल भएका छैनन् ।

नेपाल भारत प्रबुद्ध समूह इपीजीको प्रतिवेदन भारतले हालसम्म नबुझेको र नेपाल भारतबीचका केही महत्वपूर्ण विषयहरुमा अहिलेसम्म टुंगोमा नपुगेकाले पनि मोदीको भ्रमण नहुने भएको हो । भारतले कतिपय विषयमा नेपाललाई धारणा लिएर आउन भन्दै आएको छ । यसले पनि महत्वपूर्ण विषयहरु टुंगोमा पुग्न सकेको छैन । 

स्रोतका अनुसार ठूला जलविद्युत आयोजना र दुई देशबीच रहेका केही समस्याहरुमा भारतले नेपालको औपचारिक प्रस्ताव माग्दै आएको छ । विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा कुरा मिलिरहेको छैन । महाकाली सन्धीको अढाई दशकपछि पनि कार्यान्वयन अगाडि बढेको छैन । यसमा भारतले नेपालको प्रस्ताव नआइरहेको बताउँदै आएको छ । यो बाहेकै पनि भारतीय जनता पार्टी र उसको सहयोगी संस्था राष्ट्रिय स्वयं सेवक संघले नेपाल सम्बन्धमा उठाउँदै आएको राजनैतिक मुद्दामा नेपाल पक्ष सधैं असहमत रहँदै आएका करण पनि यस पटक भारतबाट हुने उच्चस्तरिय भ्रमण अन्यौलमा पुगेको राजनैतिक विश्लेषकहरु बताउँदछन् । 

मोदीको भ्रमण अघि भारतले नेपालसँग केही महत्वपूर्ण विषयमा टुंगोमा पुग्न चाहेको बुझिएको छ । पहिलो कार्यकालमा चारपटक नेपाल भ्रमण गरिसकेका भारतीय प्रधानमन्त्रीबाट यसपटक भ्रमणको चासो नदेखिनुलाई गम्भीरताका साथ लिइएको छ । पहिलो कार्यकालमा मोदीले भुटानपछि नेपाललाई दोस्रो गन्तव्य बनाएका थिए । उनले धार्मिक र सांस्कृतिक भ्रमण गर्दै पशुपतिनाथ र मुक्तिनाथको दर्शन समेत गरेका थिए । मोदी लुम्बिनी जाने चर्चा चलेको थियो । 
 

यसपटक मोदीले नेपाललाई पहिलो कार्यकालमा जसरी महत्व नदिएको देखियो । प्रधानमन्त्री भएपछि उनी पहिलो विदेश भ्रमणका लागि मालदिभ्स पुगे । दोस्रो गन्तव्य श्रीलंकालाई बनाए । जबकि पहिलो कार्यकालमा भुटान भ्रमण लगत्तै नेपाल भ्रमण गरेका थिए । 

नयाँ दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँगको भेटका लागि नेपाली राजदूतावासले झण्डै दुई महिना अगाडि देखि लेखेको पत्रको नतिजा बल्ल १० साउनमा आयो । मोदीको दोस्रो कार्यकालमा सबैलाई आश्चर्यमा पार्दै विदेशमन्त्री बनाइएका सुव्रमण्यम जयशंकरले भेट दिन समय लगाए । अनौपचारिक भेट भएको भनिएपनि ढिलो गरी पाएको समयले आशंका पनि जन्मायो । 

राजदूत आचार्यले यसै हप्ता लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न समय पाए । योगीसँगको भेटपछि मात्रै आचार्यले जयशंकरसँग भेट पाउनुलाई समेत यतिबेला कुटनैतिक वृतमा अर्थपूर्ण मानिएको छ । भेटमा दुई देशबीचको सम्बन्धको गहिरो समिक्षा भएको बुझिएको छ । जयशंकर विदेश सचिव हुँदा नेपालमा नाकाबन्दी भएपछि भारतसँगको सम्बन्ध चिसिएको थियो । संविधान निर्माणका बखत २०७२ सालको नाकाबन्दीका कारण नेपालमा भारतप्रति नकारात्मक धारणा विकास हुन पायो । त्यसयता सम्बन्धमा सुधार आइसकेको छ । 

यस अघिनै भारतीय विदेशसचिव विजय केशव गोखलेले दुई देशबीच पुराना विषयमा अल्झनेभन्दा सुन्दर भविष्य निर्माणमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिएकाथिए । यसको अर्थ भारत नाकाबन्दीको घटना बिर्सेर सम्बन्धलाई अझ मजुबत बनाउने नीति अनुसार बढ्न खोज्दैछ । भारतको नेपाल मामलामा देखिएको चासोको विषय अझै स्पष्ट छैन । कुटनीतिकको जटिल गञ्जागोलले यसलाई बाहिर ल्याउन पनि सकेको छैन । भारतमा सत्तारुढ भारतीय जनता पार्टीको स्पष्ट बहुमत आएकाले उसको चासोमा परेको हिन्दु अधिराज्यले महत्व पाउने त होइन ? भारतको वर्तमान संस्थापनलाई राम्ररी बुझेका एक जना नेपाली राजनितिज्ञ संविधान जारी गर्दैको समयदेखि भारतले आफ्ना असन्तुष्ठिहरु अप्रत्यक्षरुपमा राख्दै आएको बताउँदछन् । उनि भन्दछन्, हिजो भाजपा सरकार नेपाललाई कुनै पनि शर्तमा हिन्दु राज्यको आवरणमा राख्न चाहन्थ्यो । अहिले त अघिल्लो कार्यकालको भन्दा शक्तिशाली उपस्थिती उसको सरकारमा रहेकै कारण पनि विगतका आफ्ना नेपाल एजेण्डालाई कार्यान्वयनमा लानु उसको प्रमुख ध्येय रहेको छ । 

जयशंकर विदेशसचिव हुँदा संविधान जारी गर्दा भारतको चासो बोकेर नेपाल आउँदा नेताहरुलाई के के भने अझै खुलेको छैन । यदाकदा नेताहरुसँगको चर्चामा तत्कालिन मोदी सरकारले धर्मको मुद्दामा चासो राखेको विषय उठ्छ । हुनपनि सत्तारुढ भाजपाका नेताहरु प्रतिपक्षीमा रहँदा नेपाली नेताहरुलाई धर्मको विषयमा विचार गर्न भन्थे । सत्तामा पुग्दा र बाहिर रहँदाको विषय फरक हुन्छ । तर, भारतीय पक्षले नेपाल मामलामा आफ्नो चासोको विषय फेरि राख्न सक्छ । जयशंकर विदेशमन्त्री बन्नुले विगतमा उनले मोदीको विशेष दूतका रुपमा नेपाल आएर देखाएको चासोलाई त्यतिकै नछाड्लान् ? विद्यावारिधी गरेका पूर्व कुटनीतिज्ञ तथा विदेशसचिवले मोदीको नेपाल भ्रमण तय गर्नु अघि त्यसलाई पक्कै पनि सार्थक बनाउन खोज्लान् । 

भारतमा नेपाली राजदूत निलाम्बर आचार्यको योगी आदित्यनाथबाट शुरु भएको महत्वपूर्ण भेटघाट आफैंमा अर्थपूर्ण छ । योगीसँगको भेटपछि उनले विदेशसचिव जयशंकरसँग भेटेका छन् । भेटमा भारतीय पक्षको चासो पक्कै पनि प्रकट भएको होला । यस अवस्थामा नेपाल र भारतबीचको सम्बन्ध र चासोको विषयले सार्थकता पाउने दिशा लिन सक्छ । भारतको सत्तारुढको चासो नेपालमा हिन्दु धर्मको मुद्दामा समेत रहेको छ । योबाहेक सुरक्षा र आर्थिक सम्बन्ध उत्तिकै महत्वपूर्ण छ । जसमा भारत सतर्क छ । आजको विमर्श साप्ताहिक लेख्छ– मोदीको नेपाल भ्रमण अघि यी विषयहरु टुंग्याउने भारतीय प्रस्ताव पक्कै पनि आउन सक्छ ।
 

ताजा खबर