‘नेपाली कम्युनिष्टले मार्क्सको बेइज्जत गरे’

२०७४ असार २ शुक्रबार १६:०८:०० मा प्रकाशित

८२ वर्षमा पनि युवाजस्तै जोश र जाँगरका साथ प्रस्तुत हुने प्रजातान्त्रिक आन्दोलनका योद्धा डिल्लीप्रसाद सिटौला नेपाल र नेपालीको सुदूर भविष्यप्रति निकै आशावादी देखिन्छन् । बिज्ञान, प्रविधि र शिक्षाले सुसज्जित आजको युवापुस्तालाई आत्मअनुशासन, उच्च नैतिक मूल्य मान्यतासहितको आदर्श जीवनशैली, लोकतान्त्रिक संस्कार, देश प्रेमबारे अझ बढी गम्भीर र जिम्मेवार बनाउन सके देशले नागरिकको हितमा ठोस काम गर्न सक्ने सिटौलाको अटल विश्वास छ ।
बिसं १९९२ मा माता गौरादेवी र पिता रङ्गलाल सिटौलाको जेठो छोराको रुपमा तेह्रथुमको सिरुवानी संक्रान्तिमा जन्मिएका सिटौलाले संक्रान्ति स्कूलमा कक्षा सातसम्म अध्ययन गरे । भारतको दार्जिलिङ्गबाट एसएलसी र काठमाडौंको त्रिचन्द्र कलेजबाट आइएस्सीसम्म अध्ययन गरेपछि राजनीतिमा होमिए ।


जहानीयाँ राणा शासनबिरुद्ध ०७ सालको क्रान्ति र वीपी कोइरालाको चामत्कारिक ब्यक्तित्वबाट प्रभावित सिटौला २०११ सालमा वीपी र गणेशमान सिंहको भाषण सुन्न काका छविलाल सिटौलासँग काठमाडौंको लैनचौर गएका थिए । वीपी कोइरालाको बौद्धिक, तार्किक भाषण र निडर ब्यक्तित्वबाट प्रभावित भइसकेका सिटौलालाई काँग्रेस पार्टीले देश र जनताको हितमा ठोस काम गर्नसक्ने लाग्यो अनी बलराम प्याकुरेलबाट पार्टीको चौअन्नी सदस्यता लिए ।


त्यसयता पार्टीले सञ्चालन गरेका आन्दोलनहरुमा खटिंदा उनी धनकुटामा एरिया नजरबन्दमा परे । उनी पटक पटक गरेर तीनवर्ष जेल परेका थिए । पूर्णानन्द शर्माको कार्यकालमा सिटौला झापाको पार्टी सचिव, पटकपटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहे । उनी २०४८ सालमा राष्ट्रियसभाका सदस्य पनि भए । झापाको बिर्ताबजारस्थित सिटौला निवासमा बिष्णु निष्ठुरी र कृष्ण हुमागाईँले नेता सिटौलासँग गरेको राजनीतिक संवाद बिस्तारमा :

देशको वर्तमान राजनीतिक घटनाहरुलाई कसरी हेरिरहनु भएको छ ?


नेपाली जनताले सात दशकदेखि गर्दै आएको संघर्ष र उनीहरुको आकांक्षाहरु सैद्धान्तिकरुपमा संस्थागत हुँदैछ । ब्यवहारिक रुपमा पनि हुनुपर्छ । प्रदेश र संघको चुनावपछि देश सहीबाटोमा अघि बढ्छ । बुद्धिजीवीहरुको भूमिका प्रभावकारी भएन, उनीहरु ठीक भएनन् । नेताले गल्ती गरे बुद्धिजीवीले सही सल्लाह र आलोचना गर्नुपर्छ, तर यहाँ त बुद्धिजीवीसमेत लोभमा फसेका हुन् कि जस्तो देखियो ।


नेपालमा अहिलेको अवस्थामा वीपीजस्तो दूरदर्शी नेताको अभाव छ । वीपीमा सय बर्षपछिको नेपाल र नेपालीको सुदूर भविष्यबारे सोच्न सक्ने दृष्टिकोण, चिन्तन र योजना थियो । देशले सँधै वीपीजस्तो नेता पाउन नसक्दो रहेछ, भएका यिनै नेतालाई बुद्धिजीवीले खबरदारी गरेर अघि बढ्नुको बिकल्प छैन । कमी कमजोरीका बीचमा पनि देशले अब १०÷१५ बर्षमा उन्नति गर्छ, प्रगतिको बाटोमा अघि बढ्छ, अब हाम्रा राजनीतिक मुद्दाहरु क्रमशः किनारा लाग्दै गएका छन्, हामी अब आर्थिक मुद्दामा बढी केन्द्रित हुनुपर्छ ।

लोकतन्त्रको संस्थागत बिकासमा अवरोध आउनसक्ने खतरा देख्नुहुन्न ?


परिवर्तन नचाहने र नबुझ्नेहरु संसारभर नै हुन्छन् । जर्मनीमा पनि हिटलर चाहियो भनेर बर्षमा एकदिन कराउँछन् मानिसहरु । तानाशाहको पनि केही राम्रा पक्षहरु पनि हुनसक्छन्, त्यसरी पनि उनीहरु कराएका हुन सक्छन् । निरङ्कुशतामा आफ्नो स्वार्थ पुरा गर्दै आएका मानिसहरुलाई त्यही ठीक लाग्न सक्छ । तर आजको दुनियाँमा लोकतन्त्रको विकल्प अर्को छैन, लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो ।


नेपालमा पनि पहिलादेखि लागेको बानी छाड्न नसकेका, अन्धकारमा रमाउने मानिसहरु छन् । तिनीहरु यस्ता कुराहरु भनिरहन्छन् । जनताले तानशाह, निरङ्कुशता र अधिनायकवादलाई आफ्नो अभिमतद्वारा संसारमा कहीँ पनि स्थापित गराएका छैनन्, गराउँदैनन् । जनताका अधिकार खोस्नेले पनि जनताकै लागि खोसेको हो भन्ने गरेका छन्, त्यसैले जनताभन्दा महान र ठूलो अरु कोही हुनसक्दैन, छैन ।


हेर्नुस् न राणाशासन गयो, पञ्चायत गयो, राजतन्त्र नै गयो । खोई राणा शासन, पञ्चायत त फिरेन । प्रजातन्त्र पटकपटक अपहरणमा पर्यो, तर जनताले फिर्ता ल्याए, त्यसोहुँदा अबको आधुनिक युगका सभ्य जनताले निरङ्कुशता चाहँदैन ।

देशलाई सहज ढंगले अघि बढाउने कुशल नेता नै छैनन् त अहिले ?


नेपालमा नेता थुप्रै थिए अहिले पनि छन्, तर राजनेताको खडेरी देखेको छु मैले । सबैलाई मिलाएर समेटेर लैजान सक्ने नेतृत्वको संकट छ । डाइनामिक लिडरको अभावमा हामीमाथि अरुहरुकै प्रभाव र दबाव बढ्दै गएको छ । हाम्रा नेताहरु सत्तामुखी भएका कारण यस्तो स्थिति आएको हो । वीपीले हामीलाई भन्नुभएकै थियो कि दक्षिणसँग सतर्क रहनु, उत्तरबाट त्यति खतरा छैन भनेर ।

यति लामो राजनीतिक यात्रा गर्नुभयो,यसवीचमा समाजमा के कस्ता परिवर्तन भए त ?


सबभन्दा पहिले त छुवाछुत जस्तो कुप्रथा हट्यो । समाजबाट ठूलो कलङ्क मेटियो । समाज सभ्यतातर्फ बढ्यो । साम्प्रदायिक सद्भाव बढ्यो । हली, गोठाला, नोकर, चाकर, कमैयाहरु मुक्त भएका छन् । बैदेशिक रोजगारीले गर्दा बिदेश गएर बैदेशिक रोजगारीबाट पैसा कमाएका छन् ।
शिक्षाको क्षेत्रमा देशले ठूलो फड्को मार्यो । प्रविधि र शिक्षाले मानिसको जीवनस्तरमा स्तरबृद्धि गरेको छ । सूचना प्रविधिले विश्वका मानिसहरुलाई एकठाउँमा जोडेको छ । सबैका हात हातमा मोवाइल फोन छ, सूचनाबाट कोही बञ्चित छैन । कसैले कुनै कुरा लुकाउन सक्दैन, समाज पारदर्शी बन्दै गएको छ । यी सब त प्रजातन्त्रकै उपलब्धि त हुन नि ।


तर शिक्षा महङ्गो भएको छ, बिभेद छ, एकरुपता छैन । धनी र गरीबले पढने स्कूल फरक छन्, सामुदायिक बिद्यालयहरुको स्तरबृद्धि गरेर सबैका लागि समान शिक्षा नीति काँग्रेसले नै लागू गर्नुपर्छ । निजी स्कूलहरुबाट परीक्षाको नतिजा राम्रो आए पनि राष्ट्रप्रेम भएका बिद्यार्थी उत्पादन गर्न सकेको छैन । देशप्रेम र आफ्नो मौलिक संस्कृति अनि परम्परा, पहिचानलाई माया र जगेर्ना गर्न सिकाउनुपर्छ ।

प्रविधिको बिकाससँगै सांस्कृतिक अतिक्रमण पनि भइरहेको छ भनिन्छ नि ?


त्यो प्रविधिले हाम्रो संस्कृति पनि विश्वभर पुर्याएको छ नि त ! प्रविधिले विश्व एउटा गाउँजस्तो भएपछि गीत, संगीत र साहित्य मनपर्नेले जस्को पनि हेर्न, सुन्नसक्छ, पाउँछ खुला समाजमा । सबैले आ–आफ्नो संस्कार, संस्कृति र परम्परालाई छोड्नु हुँदैन । अर्काको राम्रो कुरा छ भने त्यो सिके हन्छ, तर आफ्नो भित्र रहेका कुसंस्कार र बिकृतिलाई भने छोड्नुपर्छ ।

तपाईँ त प्रजातन्त्रवादी नेता, कांग्रेसले परिवर्तनको नेतृत्व गरेको चर्चा गर्नुभयो तर नेपालमा वामपन्थी दलहरुले जनमत आकर्षित गरिरहेको देखिन्छ नि ?


नेपालमा कम्युनिष्ट नै छैनन् । एकपटक मार्क्सवाद र कम्युनिज्म राम्ररी पढौं । नेपालमा अहिले म नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीलाई मात्र कम्युनिष्ट जस्तो देख्छु । हाम्रो देशमा यो (कम्युनिज्म) सम्भव नै छैन । कम्युनिष्टका नाममा, लोगोमा मानिस झुक्याएका छन् । कम्युनिष्ट त भियतनामको हो, होचि मिन्ह कम्युनिष्ट हुन् । हामी काँग्रेसहरु पनि मार्क्सवाद हौं, तर कम्युनिष्ट होइनौं । समाजवादीहरुले मार्क्सवादसँग तर्सिनु पर्दैन । मार्क्सले पूँजीको कुरा गरेका छन्, शासन प्रणालीको होइन । नेपालका कम्युनिष्ट भनिनेहरुले मार्क्सवादको बेइज्जत गरे ।
सत्ताको रक्षा बन्दुकले गरेको हुन्छ र त्यसको अन्त्य अनि प्राप्ति पनि बन्दुकबाटमात्रै हुन्छ भन्ने कम्युनिष्टहरु बुलेटबाट होइन, ब्यालेटबाट सत्ता प्राप्त र अन्त्य हुन्छ भन्ने मान्यतालाई स्वीकार गरेर हिंसाको बाटो छाडेर लोकतान्त्रिक प्रतिस्पर्धामा आउनु त हामी लोकतन्त्रवादीहरुको सैद्धान्तिक जीत नै हो नि । हामी (काँग्रेस) ले भनेको लोकतान्त्रिक पद्धति र प्रणालीलाई स्वीकार गरेर खुल्ला राजनीतिक प्रतिस्पर्धामा आएपछि के को कम्युनिष्टको कुरा गर्नु रु आफ्नो गलत सिद्धान्त छोडेर लोकतान्त्रिक अभ्यासमा आए । यो राम्रो हो कि उनीहरुले हिंसाको बाटो छाडेका छन् ।

अब स्थानीय तह चुनावको कुरा गरौं, कम्युनिष्ट पार्टीसँग काँग्रेसको चुनावी तालमेललाई के भन्नुहुन्छ ?


मैले अघि नै भने नि को कम्युनिष्ट ? लोकतन्त्र स्वीकारी सकेपछि अब लोकतन्त्रवादी नि । लोकतन्त्रमा कसैसँग पनि निषेधको राजनीति गर्नुहुँदैन । सत्ता र सैद्धान्तिक पाटो पार्टी संगठन हो । एजेण्डा मिल्नेहरुबीचको चुनाबी तालमेल र गठबन्धन स्वाभाविक हो ।

 

भनेपछि माओवादी केन्द्रसँग तपाईँहरुका मुद्दा मिल्छन् त ?


किन नमिल्नु ? कतिपय सवालमा हाम्रा एजेण्डा मिलेका छन् र त चुनावी तालमेल भएको हो नि । संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी सिद्धान्त आदिमा हामी एक ठाउँमा छांै । परिवर्तनका संवाहक, जनआन्दोलनका सहयात्री दलहरुका बीच गठबन्धन हुनु उचित हो ।
बरु परिवर्तन बिरोधी, ०६२ ०६३ को जनआन्दोन दबाउन भूमिका भएका, संघीयता गणतन्त्र र धर्म निरपेक्षतालाई स्वीकार नगरेको राजतन्त्रकै वकालत गर्ने राप्रपासँग एमालेले कुन सैद्धान्तिक र बैचारिक धरातलका आधारमा गठबन्धन गर्नसक्यो !

दोस्रो चरणमा पनि गठबन्धन हुनसक्छ ?


आवश्यकताको सिद्धान्त र शक्ति सन्तुलनका आधारमा गठबन्धन हुन्छ, यो संभव छ । चुनावी तालमेल स्थानीय आवश्यकताका आधारमा हुनुपर्छ । केन्द्रबाट लाद्ने कुरा प्रत्युत्पादक पनि हुनसक्छ । स्थानीय समितिबाट भएको तालमेललाई कार्यान्वयन गर्न गराउन सहज हुन्छ । मुद्दा मिल्ने जो कोहीसँग पनि नेपाली काँग्रेसको तालमेल हुनसक्छ ।

राजनीतिलाई त्याग, तपस्या, निष्ठा र बलिदानको पर्याय मानिन्थ्यो । अहिले त धन, दौलत शान मान आर्जन गर्ने माध्यमका रुपमा गुटबन्दी गर्नेहरुले कब्जा गर्नलागे भन्ने गुनासो छ नि !


प्रजातन्त्र आएपछि सुकिला मुकिला चिल्लाहरु पार्टीमा हावी हुनेछन्, तिनका बिरुद्ध सच्चा काँग्रेसले फेरि एकपटक संघर्ष गर्नुपर्छ । वीपीले यो कुरा पहिल्यै भन्नु भएको थियो । यो नौलो कुरा होइन । त्याग, तपस्या भएका पुराना कार्यकर्ताले पनि आफ्नो क्षमताको बिकास गर्दै जानुपर्छ । युगको चेत र आफ्नो योग्यताको बिकास सँगसँगै लगेर जनतासँगको अटुट सम्पर्क र सम्बन्धमा बसेमात्र स्थापित हुन सकिन्छ ।

ताजा खबर