शेयरले यसरी हिस्स बनायो मलाई

२०७६ श्रावण १६ बिहीबार १५:४६:०० मा प्रकाशित

सन् २०१५ तिरको कुरा हो, एकथरी मानिसहरु भन्दै थिए– कुमारीले दिन्छिन, यो­त्योे सबै दिन्छिन् । त्यसैले ढीला नगरौं प्रति कित्ता रु.३००मा उठाउँदा केहि महिनामानै डबल हुन्छ भन्ने सुनेर उठाएँ । 

घोरिएर सोच्दा पैसा कमाउनका लागि सेयरबजारतिर लागौं भन्ने लाग्यो । पछि यस्तो अवसर कहाँ मिल्छ भन्दै हतार हतार लगानी गरें । त्यो सेयर आज ४ वर्ष पछि रु.२००मा झरेको छ । अर्काथरी मानिसहरु भन्दै थिए, नेपाल–बंगला भन्ने नामको बैंकको सेयर प्रति कित्ता रु.७००मा उठायो भने केहि महिनामानै रु.१२०० पुग्छ, सकेको उठाए हुन्छ भन्ने सुनें । केहि महिना भित्रनै प्रतिकित्ता रु.५००का दरले नाफा हुन्छ भने सके जति आटौं भन्ने लाग्यो । यसो सोचें पछि यस्तो अवसर मिल्दै मिल्दैन भन्ने लागेर हतार गर्दै लिएँ । ४ वर्ष पछि त्यो सेयर रु.२०० जतिमा लडिरहेको छ । 

सिटिजन बैंक भनेको त झण्डै बंगला जस्तै हो भन्ने सुनें अनि त्यताको पनि रु.६००मा उठाउन पाउनु चानेचुने कुरा होईन भन्ने लाग्यो अनि लिएँ, आज रु.२०० हल्लिरहेको छ । 

लक्ष्मी भनेको चाहिं लक्ष्मीनै हुन्, यिनले पनि दिनुसम्म दिन्छिन् भन्ने सुनेर रु३५० हाराहारीमा उठाउँदा राम्रो हुन्छ भन्ने लाग्यो अनि लिएँ । आज तिनले पनि परिणाम देखाई दिएकी छिन् । 

त्यतिनै बेला जलश्रोत कम्पनीमा लगानी गर्ने मानिस बुद्धिमानी हुन्छ भन्ने लाग्यो । बजारमा अपिको सेयर रु.४०० हाराहारीमा उठायो भने केहि महिनामानै रु.८०० पुग्छ भन्ने हल्ला सुनें, अनि त्यो छोड्ने कुरै भएन् लिएँ । ४ वर्ष पछि आज त्यो रु.१००मा झरेको छ ।

 मोदि खोलातिर जलश्रोत कम्पनीको सेयर बजारमा आउनु भन्दा अगाडि गोप्य रुपमा रु.३००का दरले किन्यो भने त्यो बजारमा आउने वित्तिकै रु.७०० पुग्छ भन्ने सुनेर डक्कै लिएमा फाईदा हुन्छ भन्ने लाग्यो र ४वर्ष अगाडि लगानी गरियो । हाल त्यो सेयर रु.१००मा धर्मराई रहेको छ ।
 अर्को सरकारी लगानी भएको जलश्रोत कम्पनी नेपाल हाईड्रो रु. २००मा किन्दा फाईदै फाईदा हुन्छ भनेर उठाएँ उक्त सेयर आज रु ६० भएर हल्लिरहेको छ । 

सेयर किनेको केहि महिना चहल पहल पनि थियो । कुनै सेयरमा १०­२० रुपैयाँ बढेको पनि थियो । बेलुका विस्तरामा पल्टिएर क्याल्कुलेटर चलाउँदै हिसाब गर्दा थोरै मज्जा चाहिं भएको पनि हो । तर झण्डै ३ वर्ष ओरालो यात्रामा गति लिएको सेयरले धेरै पटक ट्वाईलेट जाउँकी कसो गरौं भन्ने बनाई दियो । स्थिर सरकार आयो भने देश विकास हुन्छ अनि सेयर बजार पनि जम्छ भन्ने सोच पनि बनाएँ । 

एक दिन त पक्कै साँवा हाराहारीमा पुग्छकी भन्ने आशा थियोनै तर स्थिर सरकार जमेको साढे एक वर्षको समयमा मलाई भने स्यालले साँढेको जाईफल झर्छ र खाउँला भनेर पर्खिएको कथाको सम्झना पो भैरहेको छ । 

सजिलैसँग डक्कै पैसा कमाउने मेरो सपना सेयर बजारको आजको अवस्थाले विस्तरामा पल्टिएर माथि सिलिङतिर हेर्दै हात भने बेसीको रुख समातेर बस्ने बनाई दियो । साँवाको आशा गर्दै ४ वर्षत कुरेकै हो । अव कति वर्ष कुर्दा साँवा हातलाग्ने हो भन्ने यकिन छैन । आफ्नो विगतलाई सम्झँदा मनै अमिलो हुन्छ ! 

ताजा खबर