राजेश हमालबारे भारतीय मिडियाले लेख्योः यी हुन् नेपालका 'अमिताभ र शाहरुख खान'

२०७६ श्रावण १५ बुधबार ०९:४२:०० मा प्रकाशित

काठमाडाैं, १५ साउन । महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन् । भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादी’ शीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताबारे उल्लेख गरेको छ । साथै राजेश भारतमा समेत परिचित अभिनेता भएकाे पिन उल्लेख गरिएकाे छ ।

हमाललाई भारतका महानायक अमिताभ बच्चन तथा बलिउड बादशाह शाहरुख खानसँग तुलना गर्दै आजतकले लेखेको छ, ‘राजेश एक यस्ता सुपरस्टार हुन्, जसलाई नेपालमा महानायकको उपमा दिइन्छ । ५५ वर्षको उमेरमा राजेशको चार्मिङ नेपालमा यस्तो छ कि, जस्तो भारतमा अमिताभ र शाहरुखको छ ।’

परिवारको चाहना विपरित अभिनयमा लागेका राजेशले हासिल गरेको पहिचान केही वर्षको मेहनतको फल भएको समाचारमा उल्लेख छ ।समाचारमा उल्लेख भएअनुसार राजेशले सन् १९८८ मा फिल्म ‘युगदेखि युगसम्म’बाट डेब्यु गरेका थिए । आफ्नो पहिलो फिल्मबाटै राजेशले दर्शकको मन जिते। त्यसपछि उनले फर्केर हेर्नु परेन। देउता, बसन्ती, हामी तीन भाई, गिरफ्तार, कर्मयोद्धा, शकुन्तलाजस्ता फिल्मबाट दर्शकमाथि छुट्टै छाप छोड्न सफल भए । 

राजेशको पढाइदेखि अभिनयसम्मको यात्रा सजिलो थिएन्। परिवारको विरोधका बीच राजेशले फिल्मी क्षेत्रमा पाइला राखेका थिए । राजेशले भारतको पञ्जाब विश्वविद्यालयबाट एमए डिग्री पास गरेका थिए भने रुसको मस्कोमा आफ्नो पढाई पुरा गरेका थिए । फिल्मी करियरको उत्कर्षमा रहँदा राजेशको आफ्नो कपालप्रति एकदमै गर्व गर्थे। यसैकारण उनले आफ्नो पिताको अन्तिम संस्कारमा समेत कपाल काट्न (कपाल खौरिन) नमानेको समाचारमा उल्लेख छ ।

समाचारमा राजेश पछिल्लो समय बहुचर्चित टिभी शो को बन्छ करोडपति होस्ट गरिरहेकोमा अमिताभसँग तुलना गर्दै लेखेको छ, ‘जसरी भारतमा अमिताभ बच्चन आम दर्शकका सुपरस्टार हुन, त्यसैगरी लोकप्रियता नेपालमा राजेश हमालको छ ।’ 

आजतकमा समाचार प्रकाशित भएपछि युट्युबरले राजेशलाई पछ्याएका छन्। भारतका विभिन्न युट्युब च्यानलमा राजेशको कथा छ्याप्छ्याप्ती भेटिन्छ ।  उसाे त बलिउडमा नेपालका उदितनारायण झा पनि जमेका छन्। सप्तरी घर भएका झा बलिउडमा ९० काे दशकका चर्चित गायक हुन्। उनले भारतकाे सर्वाेच्च पद्मश्री पुरस्कार पाइसकेका छन् ।

ताजा खबर