निर्मलाको पाप चन्द्रागिरिको टुप्पोबाट कराउनेछ

२०७६ श्रावण १४ मंगलबार १६:५३:०० मा प्रकाशित

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक बर्ष बित्यो ।उनको बलात्कार र हत्याको रहस्य खोतल्न सरकारका प्रहरीहरुले निकै प्रयत्न गरे । तर, उनीहरुको प्रयत्न काम लागेन । उल्टै, प्रहरीमाथि नै प्रमाणहरु नष्ट पारिएको, अनुसन्धानको गोरेटो भत्काइएको जस्ता आरोप लाग्यो । निर्मला जस्ता धेरै बालिकाले धरापमा परेर ज्यान गुमाएको यो देशमा निर्मलाको बलात्कारी र हत्यारा पत्ता लाग्नु थिएन लागेन ।

निर्मला एउटा संकेत बनिन । मानिसको कुत्सित र पाशविक आक्रमणमा परेर ज्यान गुमाएकी निर्मलालाई दुनियाँले सम्झिइ रह्यो । सम्झनाको यो क्रममा, अघिल्लो सप्ताहान्तमा, पत्र–पत्रिका, रेडियो–टेलिभिजन र सन्चारका अन्य माध्यममार्फत मानिसले उनको सम्झना गरे । यही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’प्रेससंग मुखातिव भए । गृहमन्त्री ‘बादल’ले भने, ‘निर्मला प्रकरण जस्ता अपराध पहिले पनि थिए, आज पनि छ, भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमका अपराध पूर्णतःनिषेध गर्न सकिदैन ।’

गृहमन्त्री बादलको यो महावाणी नेपालको अपराध इतिहासको कुन खातामा रहनेछ ?अध्येताले बताउने छन । गृहमन्त्री थापाले निर्मलाको हत्याका बारेमा दिएको प्रतिक्रियाले यो बिभत्स काण्डलाई नै हलुका बनाएकोछ । यस किसिमको अपराध पूर्णत निषेध गर्न सकिंदैन भनेका छन गृहमन्त्री बादलले । यसको सोझो अर्थहुन्छ – नेपालमा बलात्कार र बलात्कारपछि हत्याका घटना भोलिपनि भै रहनेछन । यस्ता घटनालाई सरकारले रोक्न सक्दैन । यो घटनाको प्रकृति सानो हो । (अथवा, के हो ?) गृहमन्त्री बादलको बसमा छैन यसको ब्याख्या ।कुनैपनि अपराध पूर्ण निषेध गर्न सकिदैन, यो सामान्य कुरा हो । तर, यदि गृहमन्त्री ‘यस किसिमको अपराध पूर्ण निषेधगर्न सकिदैन’ भन्छन भने यसको भयावह चरित्र आफै उजागर हुन्छ ।

एमाले र माओवादी एकतापछि ‘एकताका गृहमन्त्री’ का रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त बादल बितेका चौध महिनामा गृहमन्त्रीका रुपमा असफल सावित भै सकेका छन । उनको असफलताको प्रारम्भ निर्मला हत्याकाण्डबाटै शुरु भएको हो । अहिले पनि यही घटना प्राथमिकतामा छ ।यद्यपि, कामरेड बादलका जनयुध्दकालीन अन्तरंग मित्र नेत्रबिक्रम चन्द ‘बिप्लव’पनि गृहमन्त्री बादललाई असफल गृहमन्त्री बनाउने एक महत्वपूर्ण मोहोरा हुन । गृहमन्त्री बादललाई थाहा छ, बिप्लवको सैन्य शक्ति फैलिदोछ । तर, उनी केहीगर्न सक्दैनन । केही गर्न सक्ने हैसियतमा छैनन उनी ।

कन्चनपुरमा मारिएकी एउटी सानी केटी निर्मलाकोे बलात्कारी र हत्यारालाई पक्रिन नसक्ने उनका प्रहरीले बिप्लवको सुरक्षित घेरा तोडन सक्लान भन्ने कसैले सोचेको छैन । बिप्लव समूह वर्तमान सरकारको फितलो गृह ब्यबस्थापनको सोच र पहूँचभन्दा धेरै बाहिर छ । अहिलेका लागि बिप्लवले नेपाल कम्युनिष्ट पार्टीको कमाण्डमा रहेको राज्यसंग आफनो भाग खोजेको अर्थ लगाएपनि यो समूह कुनबेला ‘जलजला’भएर निस्किन्छ ? कसैले भन्न सक्दैन । धेरैको अनुमान छ, नेकपा सह अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएर कुरा गरेपछि नेता बिप्लव मत्थर हुनेछन । तर, यसको सम्भावना क्षीण छ । प्रचण्डले बोलाउने बित्तिकै उनको अगाडि पुग्नैपर्ने बाध्यकारी अवस्थाबाट बिप्लव टाढा पुगी सकेका छन ।

गृहमन्त्री बादलको कार्यकालमा धेरै उपद्रव भएका छन । सुनको ‘भोल्युम’ ठूलो नभएपनि दुवइबाट काठमाडौ आएर त्रिभुवन बिमानस्थलमा उभिएको जहाजबाट तेत्तीस किलो सुनको बरामदी गृहमन्त्री बादलका बिरुध्द निकै वजनदार ‘काण्ड’ थियो । यो सुन काण्ड यति वजनदार किन भयो भने जसरी सुन बरामद भएको थियो त्यसरी नै त्यो सुन गायव भएको थियो । यो सुन काण्डमा गृहमन्त्री बादल अधिनस्थ प्रहरी सेवामा रहेका धेरै निर्दोष प्रहरीलाई बलिको बोको बनाइयो ।न्यायाधीशहरु पनि जोगिएनन ।

सरकारलाई सहयोग नगर्ने कतिपय ब्यापारीहरुलाई सुन काण्डमा जवर्जस्ती फँसाइयो । हिन्दी फिल्मको शैलिको प्रयोग गरेर हो कि कसरी हो ! सुन काण्डमा मुछिएको कर्ता मध्येको एकजनाको हत्या भयो । सरकारी सेवामा रहेका र सर्वसाधारण मानिसहरुको भागमभाग चल्यो । गृहमन्त्री बादलको पृष्ठभूमिको ज्ञान जसलाई थियो, ती उम्किन हतारिए । बरु भोलि जे होला, अहिलेको सत्तासंग सम्बन्ध नराख्ने हिसावले धेरै शहरबाट फरार भए । अहिले यो सुन काण्ड बिभिन्न अदालतको अध्ययन र निर्णयको बिषय बनेको छ । जानिफकारका अनुसार, यो काण्डसंग सम्बन्धित मुद्दा प्रदेश नम्बर एकको राजधानी बिराटनगरस्थित अदालतमा नचलेको भए र काठमाडौंमा चलेको भए अहिलेसम्म छिनोफानो भै सकेको हुन्थ्यो । कुरा जे सुकै होस, यी घटना नै गृहमन्त्री बादलको मूल्यांकनकालागि पर्याप्त छन ।

गृह मन्त्रालयको सुसन्चालनमा गृहमन्त्री बादलको असक्षमता जगजाहेर भएपनि निर्मला काण्डमा एकजना गृहमन्त्री बादलमात्रै दोषी होइनन । नेपाल प्रहरीमा जो अहिले प्रहरी महानिरीक्षक छन, ती एक अनुभवी र कर्तब्य परायण प्रहरी अधिकृतका रुपमा नाम कमाएका ब्यक्ति हुन । तर, प्रहरी महा निरीक्षकका रुपमा लोकले उनको साहस र दक्षता कतै पनि परिलक्षित भएको देख्न पाएन । उनी प्रहरी महानिरीक्षक भएको अवस्थामा आर्थिक र ब्यापारिक जगतमा जस प्रकारका बिचलन देखिएका छन ती देखिनु हुने बिषय होइनन । सरकार राजनीतिक हिसावले चलि रहेको छ । यो स्वाभाविक होइन । नेपाली जनता राजनीतिक नेताहरुको स्वार्थ अनुकुलहुनेगरि खतरा मोल्न तयार छैनन ।

शान्ति–सुरक्षाको प्रश्नमा गृहमन्त्री बादलको आलोचना अस्वाभाविक होइन । अन्ततः यो गृहमन्त्रीको होइन, सरकार प्रमुखकै आलोचना हो । निर्मला काण्डका प्रारम्भिक दिनहरुमा प्रम ओली जसरी आफना स्थानीय कार्यकर्ताको आवाज बने त्यो नै गलत प्रक्रिया थियो । प्रधानमन्त्रीजस्तो ब्यक्तिले निर्मला काण्डमा मुछ्न खोजिएका बम दिदीबहिनीको प्रतिरक्षामा जे बोले, त्यसको प्रतिक्रिया पूरै काण्डमा देखियो ।

प्रम ओलीको झण्डै एकपक्षीय लाग्ने त्यो प्रतिक्रियाले न्यायिक सिध्दान्तका सामान्य मान्यताकापनि प्रतिकूल थिए । वर्तमान सरकारलाई सदनमा दुइतिहाई बढीको समर्थन प्राप्त छ । तर, सरकारले त्यो समर्थनको सम्मान गर्न सकेको छैन । कुनदिन यो सरकारको दुइतिहाइको घैंटो सोम शर्माको सत्तुको घैंटो सोम शर्माकै लात्तीले फुटे झैं फुट्छ । कसले के भन्न सक्दछ र ? भौतिकवादीहरु पाप र धर्ममा बिश्वास गर्दैनन । तर निर्मलाको पाप चन्द्रागिरिको डाँडाको टुप्पोबाट कराउनेछ ।(वरिष्ठ पत्रकार किशोर नेपालको जनकपुर टूडेमा प्रकाशित विश्लेषण ।)

ताजा खबर