चार घण्टामा पुगिने बाटोमा १२ घण्टाको यात्रा 

२०७६ श्रावण १० शुक्रबार २२:२१:०० मा प्रकाशित

दोलखा । काठमाडौंबाट ४ घण्टाको  यात्रामा पुगिने चरिकोट जान अहिले १२ घण्टा भन्दा बढी समय लाग्छ । मोटरसाइकल वा साना सवारी साधनबाट त चरिकोट काठमाडौं ओहोरदोहोर गर्ने कुरा सोच्दै नसोचे पनि हुने भएको छ ।

ठेकेदार कम्पनिको लापरवाही र डिभिजन सडक कार्यालयको हेलचेक्र्याईँका कारण यो बाटोमा यात्रुले दैनिक दुःख खेप्न वाध्य भएका छन् ।
कोटेश्वरका सजन निरौला चरिकोट जान नसकेर विचबाटो बाटै फर्किन वाध्य भए । उनले भने— ‘यति हिलो छ कि कतै जान सक्ने संभावना नै देखिन, विचबाटै फर्किएँ ।’

 बाटोभरि हिलो जमे पछि सवारी आवागमन कष्टकर बनेको हो । दैनिक हजारौं यात्रु र सवारी साधन बाटोमै बस्न बाध्य भएका छन् । सडक आसपासका स्थानियले समेत दिनदिनै सास्ती भोगीरहेका छन् । 

भारतीय एक्जिम बैङ्कको झण्डै एक अर्ब २४ करोड ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको यो सडकमा सरकारी उदासिनताका कारण विगत ४ वर्षदेखि दोलखा जाने यात्रुहरुले दुःख खेप्न वाध्य भएका हुन् । 

 ५५ किलोमीटरको लामोसाँगु–चरिकोट सडक विस्तारको क्रममा बिभिन्न ठाउँमा थुपारिएको माटोका कारण अहिले सडक रोपाईं गर्न तयार भएको खेतको गह्रा जस्तो बनेको यात्रुहरुको गुनासो छ । 

काठमाडौँ चरिकोटको एक सय ३३ किलो मीटरको दूरी तय गर्न १२ घण्टा भन्दा बढी समय लाग्ने भएपछि इमर्जेन्सी विरामीलाई काठमाडौंमा उपचारका लागि ल्याउन नसकिने भएको छ । यस्तो संवेदनशिल विषयमा सरोकारवाला निकायमात्र हैन राजनीतिक दलहरुले पनि चासो नदिएको चरिकोटका व्यवसायीहरु बताउँछन् । 

दोलखा उद्योग वाणिज्य संघका सदस्य एवं होटल पावन चरिकोटका प्रबन्ध निर्देशक गणेश शाही भन्छन् – ‘दोलखाको व्यवसाय चौपट भयो । बाटोका कारण परेको यो पीडाको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ शाहीकै पहलमा सामाजिक संजालमा सडक निर्माणमा ढिलासुस्ती विरुद्ध दवाब समूह बनाइएको छ । दवाब समूहका माध्यामबाट ढिलासुस्ती विरुद्ध युवाहरु एकजुट हुन थालेका छन् ।

सडकबाट पीडित यात्रु तथा सडक आसपासका वासिन्दाले इमर्जेन्सी विरामी भए ज्यान जोगाउन कठीन भएको भन्दै आक्रोश पोखेका छन् ।
 विगत केहि दिन देखि सवारी साधनलाई गन्तव्यसम्म पु¥याउन सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नम्बर ७ डाँडापाखरमा दिनरात नभनी सक्रिय बनेका प्रहरी हवल्दार ज्ञानबहादुर बोहोरा सडकको दुरावस्थाले सयौ यात्रुले कष्ट बेहोरी रहेको बताउँछन् । दैनिक एक सय भन्दा बढी साना तथा ठूला सवारी साधन सञ्चालन हुने लामोसाँगु चरिकोट सडकमा अहिले डोजरले तानेर मुश्किलले बसहरु सञ्चालन गरिदै आएको छ । 

‘हामीलाई आफ्नै घरको वरिपरी पुग्न पनि समस्या छ, सवारी साधनहरु त गुड्न नसकेर २/३ दिनसम्म बाटोमै बस्न वाध्य छन्’— ठूलोपाखरकी  सानुकान्छी तमाङले भनिन् । 

लामोसाँगु चरिकोट सडक विस्तार कार्यक्रम अन्तर्गत लामोसाँगु–मूडे २५ किलोमीटर सडक विस्तार र मूडे–चरिकोट ३० किलोमीटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो । दुबै कामको सम्पन्न अवधि दुई बर्षको थियो । तर सम्पन्न अवधि सकिएर एक बर्ष नाघिसक्दा समेत दुबै कामको प्रगति ७० प्रतिशत पनि हुन नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले हर्जाना लगाएको थियो । 

लामोसाँगु–मूडे सडक खण्ड अन्तर्गत जिरो किमी देखि २५ किमीसम्म लामोसाँगु मूडे सडक खण्डको काम गरिरहेको सिमाञ्चल, गौरी पार्वती, सुनौलो खिम्ति जेभीले अहिले दैनिक झण्डै तीन लाखको दरले हर्जाना तिरीरहेको र २५ किमी देखि ५५ किमीसम्म मूडे–चरिकोट सडक खण्डको काम गरिरहेको शकिल हेदर, शङ्करमाली, सुनौला खिम्ति जेभीले अहिले दैनिक झण्डै चार लाखको दरले हर्जाना तिरीरहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख एवं आयोजना प्रमुख धमेन्द्र कुमार झाले सरल पत्रिकासँग बताए । 

उनका अनुसार, त्यति गर्दा पनि काम नभएपछि साउन ५ गते सार्वजनिक सूचना मार्फत तीन दिने अल्टिमेटम सहित काम सम्पन्न नहुदासम्मको लागि यातायात सहज हुने गरी आवश्यक व्यवस्थापन गर्न चेतावनी दिईएको र अहिले खाल्डा खुल्डी पुर्ने र अन्य आवश्यक व्यवस्थापनको काम भैरहेको आयोजना प्रमुख झाले बताए । तर  खेतको आली जस्तो बनेको सडकको दायाँ वायाँका स्थानिय भने सडक व्यवस्थापनको लागि डिभिजन सडक कार्यालय तथा ठेकेदार कम्पनिका  कोहि पनि सडकमा उपस्थित नभएको बताउँछन् ।

पर्यटकिय र धार्मिक महत्वको दोलखा भीमेश्वर र कालिञ्चोक दर्शन गर्न जाने पर्यटकहरुले खचाखच हुने चरिकोटको व्यवसाय यति बेला संकटमा परेको छ । बाटोकै कारण आफूहरु एकदमै समस्यामा परेको व्यवसायीहरुको गुनासो छ ।

यसैबीच नेपाली कांग्रेस दोलखाले सात दिन भित्र सडकको व्यवस्थापन गरी यातायात सहज गर्न जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काको नेतृत्वमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ध्यानाकर्षणपत्र बुझाउँदै सात दिनभित्र सडक सुधार नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । यसैगरि दोलखा उद्योग बाणिज्य संघले पनि सडक सुधारको माग गर्दै भोली शनिवार चरिकोट बजार बन्दको घोषणा गरेको छ । (स्थानिय संवाददाताको सहयोगमा/ तस्बिर सौजन्यः चिरन्जीवी)
 

ताजा खबर