महिनावारी हुँदा विद्यालय जाँदैनन् किशोरी 

२०७६ श्रावण १० शुक्रबार १५:५१:०० मा प्रकाशित


नेपालगन्ज । नेपालगन्का अधिकांश सामुदायिक विद्यालयमा अध्ययरत किशोरी महिनावारी भएको समयमा विद्यालय जाँदैनन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा प्याड फेर्न र सरसफाइका लागि पानीको व्यवस्थापन नभएकाले महिनामा करिब पाँचदिन किशोरीको विद्यालय छुट्ने गरेको छ । विद्यालय जान नपाउँदा पढाइसँगै मानसिक पीडा हुने गरेको उनीहरु बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिकामा ४३ सामुदायिक विद्यालय छन् । नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको सङ्ख्या करिब ६ हजार रहेको छ । “महिनावारी भएका समयमा कपडा फेर्न तथा सेनेटरी प्याड प्रयोग गर्न मिल्ने सरसफाइयुक्त शौचालय नभएकाले बाध्य भएर विद्यालय नजाने गरेका छौं”, एक छात्राले भनिन् । 

महिनावारी हुँदा विद्यालयमै सेनेटरी प्याड प्रयोग गर्न सकिने शौचालय भएमा सहजता हुनुका साथै कपडा र प्याड फेर्न घर जानुपर्ने बाध्यता नहुने छात्राको भनाइ छ । “विद्यालयमा महिलामैत्री शौचालय निर्माण, सरसफाइको व्यवस्था र सेनेटरी प्याडको व्यवस्था भएपछि छात्राले महिनावारी हुँदा विद्यालय छाड्नै पर्दैन”, शिक्षिका मोहिनी योगी बताउँछिन् । कक्षा ६ देखि १० सम्मका छात्रालाई यो समस्याले पिरोल्ने गरेको छ ।

विद्यालयमा छात्राका लागि कपडा र प्याड फेर्न मिल्नेसम्मको शौचालय तयार गरिदिए मात्र पनि धेरै छात्रालाई सजिलो हुने उनको सुझाव छ ।  नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित केही सामुदायिक विद्यालयमा अहिले महिलामैत्री शौचालय निर्माण हँुदैछन् तर अझै थुप्रै विद्यालयमा महिलामैत्री शौचालय निर्माण हुन सकेको छैनन् । उपमहानगरले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरमा रहेका सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए । रासस

ताजा खबर