प्राकृतिक शहरमा नेवारी सांस्कृतिक सङ्ग्रहालय

२०७६ श्रावण ९ बिहीबार १२:४९:०० मा प्रकाशित

पोखरा, ९ साउन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो । नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा पछिल्लो पुस्तालाई ज्ञान दिने र पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ सङ्ग्रहालय निर्माण गरिएको हो ।  

    नेवाःखल कास्कीले नेवारी संस्कृतिलाई जीवन्त राख्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पोखरा महानगरपालिका–३ नदीपुरमा निर्माण गरिरहेको सङ्ग्रहालय सम्पन्न भएसँगै यो पोखरा पर्यटनको अर्को महत्वपूर्ण गन्तव्य बन्ने छ । भीमसेन द्वादश गुठीको पौने तीन रोपनी जमीनमा निर्मित आकर्षक नेवाःक्षेत्र (नेवारी भवन)को तेस्रो तल्लामा सङ्ग्रहालय स्थापना गरिएको छ । नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले सङ्ग्रहालय अबको छ महीनापछि पूर्णतःसम्पन्न भई सर्वसाधारणका लागि खुला गरिने जानकारी दिएका छन्  ।

    सङ्ग्रहालयमा नेवारी परम्परा तथा संस्कृति झल्काउने पुराना भाँडा, रोजा, कलश, मधुश लगायतका सामग्री राखिएको र विस्तारै थप गर्दै जाने उनले जानकारी दिए । सङ्ग्रहालयभित्र २३६ वर्ष पुरानो पाथी देख्न सकिन्छ भने छ फिट अग्लो पानस पनि छ । त्यस्तै २०९ वर्षअघिको गाग्री सङ्ग्रहालयमा राखिएको छ ।

    सङ्ग्रहालयभित्रै तायामचाः, बाह्रभैरव नाचलगायत सम्पूर्ण नेवारी कर्मकाण्ड बारेको श्रव्यदृश्य सामग्रीसमेत राख्दै नेवारी संस्कार संस्कृतिका अध्येता र पर्यटकलाई अवलोकन गराउने लक्ष्य राखिएको पालिखेले बताए । तीनतले भवनलाई कलात्मक ढङ्गले निर्माण गरिएको छ । भक्तपुरबाट ल्याइएको करीब २०० वर्ष पुराना झ्याल, ढोका भवनमा प्रयोग गरिएको छ । पालिखेका अनुसार हालसम्म भवनका लागि सात करोड रुपैयाँ खर्च भइसकेको र बाँकी काम सम्पन्न गर्न थप रु दुई करोड लाग्नेछ । 

    निर्माण कार्य सकिएपछि पर्यटकलाई निश्चित शुल्क लिएर अवलोकन गर्ने व्यवस्था गरिने उनको भनाइ छ । “जनजातिका संस्कृति पनि पर्यटनका महत्वपूर्ण आकर्षण  हुन्, सङ्ग्रहालयबाट कम्तीमा पनि पोखरामा पर्यटकको बसाइँ चार घण्टा लम्बिने विश्वास गरेका छौँ”, पालिखेले थपे ।

    गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९, सङ्घ सरकारद्वारा घोषित भिजिट नेपाल २०२० का साथै प्रदेश सरकारको सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यप्राप्तिको योजनालाई सङ्ग्रहालयले सघाउने विश्वास गरिएको छ ।  गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले जातजातिको संस्कृतिको अध्ययन अवलोकन गर्न सकिने यस्ता पूर्वाधारबाट पर्यटकको बसाइँ लम्ब्याउने मद्दत  पुग्ने बताए । 

    प्रदेश सरकारले समृद्धिको मुख्य आधारका रुपमा पर्यटनलाई लिएको र संस्कृति, प्रकृति एवं साहसिक पर्यटनका माध्यमबाट प्रदेशको समृद्धि हासिल गरिने बताउँदै उनले भने, “हामी संस्कृतिमा धनी छौँ भन्छौँ तर हाम्रा जातजातिका संस्कृतिको संरक्षण गर्न सकेका छैनौँ, यसलाई जोगाउनु टड्कारो आवश्यक छ ।”

    नेवारी संस्कृतिको जगेर्ना आवश्यक भएको बताउँदै उनले यो राष्ट्रको महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गरे । मन्त्री लम्सालले सरकारले नवलपुरमा थारु, म्याग्दी वा बाग्लुङमा मगर, पोखरामा नेवारी, लमजुङमा गुरुङलगायत ११ वटै जिल्लामा फरकफरक जातिको सांस्कृतिक सङ्ग्रहालय बनाउने योजना राखेको जानकारी दिए । सङ्ग्रहालय निर्माणमा हालसम्म नेपाल पर्यटन बोर्ड पोखराले रु ८५ लाख लगानी गरिसकेको छ । प्राकृतिक सम्पदामा अडिएको यहाँको पर्यटनलाई थप विस्तार गर्दै नयाँ नयाँ गन्तव्य खोजी भइरहेको वास्तविकतामा नेवाः सङ्ग्रहालय महत्वपूर्ण बन्ने विश्वास लिइएको बोर्डका प्रबन्धक सूर्य थपलियाले बताए ।

    नेपालका बाइसे चौबीसे राजाका पालादेखि नै पोखराको इतिहास चर्चामा रहेको बताउँदै उनले भने, “प्रकृति र संस्कृतिले भरिपूर्ण यस शहरमा नेवार जाति लामो समयदेखि बस्दै आएका कारण काठमाडौँ, भक्तपुरमा जस्तै उनीहरूको गरिमामय इतिहास कायम रहेकाले निर्माणाधीन सङ्ग्रहालयले यहाँको सांस्कृतिक पर्यटनमा विशिष्ट योगदान पु¥याउनेछ ।” संस्कृतिविद् तीर्थ श्रेष्ठका अनुसार कास्कीका तत्कालीन राजा सिद्धिनारायण शाहले विसं १८३५ मा भक्तपुरबाट २६ घर नेवारलाई ल्याएर पोखरामा बसाएका थिए । त्यस समयदेखि नै सङ्गठितरुपमा नेवार समुदायको पोखरामा बस्ती विकास शुरु हुनुका साथै उनीहरूले यहाँ बन्द व्यापार शुरु गरेको उनले जानकारी दिए । विसं २०२० सम्म पनि पोखरामा मुख्य चोक तथा बजारमा नेवार समुदाय नै व्यापारमा सहभागी भएको श्रेष्ठको भनाइ छ ।  रासस

ताजा खबर