लामा त एकदिन घर फर्किन्छन तर विस्फोटमा मरेका मान्छे नि

२०७६ श्रावण ९ बिहीबार ११:४९:०० मा प्रकाशित

 केहि समयअघि कवि संगीत स्रोता पक्राउ परे । एउटा कविलाई बिना कारण पक्राउ गरिएको भन्दै चौतर्फि विरोध भयो । पक्राउ परेको केहि घण्टापछि झुक्किएर पक्राउ परे भन्दै प्रहरीले उनलाई छाड्यो । साउन ५ गते मध्यराति नेत्रविक्रम चन्द विप्लव समूहका उपत्यका व्युरो इन्चार्ज तथा जनगायक माइला लामा काठमाडौंबाट पक्राउ परे । मध्यराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ परेका थिए लामा । अहिले लामाको हातमा हत्कडी लगाईयो भन्दै चौतर्फि विरोधका स्वरहरु गुञ्जन थालेका छन् । तर संगीत र लामा पक्राउ प्रकरण फरक हो । संगीत झुक्किएर पक्राउ परे भने लामा बम विस्फोट गराएको आरोपमा पक्राउ परेका हुन् ।

लामो समय माओवादीको साँस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकारको पहिचान बनाएका व्यक्ति हुन् । उनीमाथि गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा बम विस्फोट गराएको आरोपमा पक्राउ गरेको प्रहरीको दाबी छ ।

उनी पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा गृहमन्त्री रामबहादुर थापासँग लामाले जनयुद्ध ताका खिचेको तस्बिर प्रचार भैरहेको छ । नेतादेखि कार्यकर्तासम्म पत्रकारदेखि कलाकारसम्म सामाजिक सञ्जालमा लामाकै पक्षमा देखिन्छन् । हिजो मात्रै लामाको एउटा तस्बिर सार्वजनिक भयो । जुन तस्बिरमा लामाको हातमा हत्कडी लगाईएको छ ।

भावुकताको अर्थ

हो, सरकारको नराम्रो कामलाई खबरदारी गर्नु नागरिकको दायित्व हो । संगीत जस्तै झुक्किएर पक्राउ परे विरोध गर्नु स्वभाविक हो । तर बम विस्फोट, हत्या हिंसा मच्चाउनेलाई पक्राउ नगर भन्नु के हाम्रो दायित्व हो ? हामी किन हिंसा रोज्दैछौं ? वम विस्फोट गराएको आरोपमा पक्राउ परेका हुन् लामा । उनलाई बिना आरोप पक्राउ गरेको होइन् । लामामाथि छानविन गर्न प्रहरीले पाउँछ । छानविन गर्दैमा बिग्रिने त केहि होईन, बिग्रिने त त्यो हो विस्फोटमा जो मरेका छन् अनि जसको अंगभंग भएको छ । बम विस्फोटमा मान्छे पनि मर्न सक्छन्, घाइते पनि हुन सक्छन् । मर्ने त मरि गए तर घाइतेहरु जिन्दगीभर अपांग पनि त हुनसक्छन् । अझ भनौं घाइतेको जिन्दगी तहसनहस नै हुनसक्छ । तर एउटा के बुझ्नुपर्छ भने पक्राउ परेका लामा जेलबाट एक दिन अवश्य घर फर्किनेछन् तर वम विस्फोटबाट मरेका ती मान्छे कहिल्यै घर फर्किने छैनन् । त्यसैले विरोधका लागि विरोध मात्रै नगरौं ।


 सन्तोष बराल, ओखलढुंगा ।
 

ताजा खबर