श्रमदानमा पक्की कुलो निर्माण

२०७६ श्रावण ७ मंगलबार १५:०८:०० मा प्रकाशित

बेझाड, ७ साउन । निस्दी गाउँपालिका–६ अर्चलेका स्थानीयवासीको श्रमदानमा ‘पक्की कुलो’ निर्माण गरिएको छ । 

कच्ची कुलोले सिँचाइ सुविधा पु¥याउन कठिन परेपछि स्थानीयवासीले श्रमदान गरेर पक्की कुलो निर्माण गरेका हुन् । पार्कुला र चिदिबयाको बीच भागमा पर्ने बोगादी खोलामा बाँध बाँधेर ल्याइएको बोगादी कुलो पक्की निर्माण गर्ने काम हालसालै सम्पन्न भएपछि धान रोपाइँ गरिएको छ । 

एक रोपनी क्षेत्रफल बराबर चार जना उपभोक्ता गरी जम्मा २८० जनाको श्रमदानमा कुलो निर्माण गरिएको अनुगमन समितिका संयोजक कृष्णबहादुर सुनारीले बताए ।

“उपभोक्ताको श्रमदान र लगानीमा राम्रोसँग काम भएको छ, अब सिँचाइको समस्या समाधान हुँदै जानेछ”, उनले भने । यसले बोगादी कुलोबाट, मडाम्दी, पार्कुला र ड्याङ्गबारी क्षेत्रका ७० रोपनी जमीनमा सिँचाइको राम्रो सुविधा पुग्ने सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष दुर्गाबहादुर मश्राङ्गीले बताएका छन् । 

उनका अनुसार कुलोबाट यहाँका २५ घरधुरीका कृषक लाभान्वित हुनेछन् । स्थानीयवासीको श्रमदान र उनीहरुबाट उठाइएको रकमले मात्र काम सम्पन्न नहुने भएपछि गाउँपालिकाबाट सहयोग माग गरिएको उपभोक्ता समितिले जनाएको छ । कुलो निर्माणमा गाउँपालिकाले रु चार लाख ५० हजार रकम सहयोग गरेको छ ।
       
उपभोक्ताबाट प्रतिरोपनी रु ८०० रकम गरी कूल पाँच लाखको लागतमा कुलो निर्माण गरिएको उपभोक्ता समितिका सदस्य मीनबहादुर मश्राङ्गी बताउँछन्। “कुलो भरिने पानी लगायो, बीचमै चुहिएर खेतको मुहानमै नपुग्ने, कृषकलाई बालीनाली लगाउने बेला बर्सेनी समस्या परिराखेको थियो”, उनले भने ।

मूल कुलोको अन्तिम स्थान ड्याङ्बारी क्षेत्रबाट दुई वटा कुलोमा पानी विभाजन गरेर खेतमा सिँचाइका लागि लगिएको छ । ड्याङ्बारी क्षेत्रमा पुग्ने दुई सय मिटर र पार्कुला खेतमा पुग्ने तीन सय मिटर खेतमा सिँचाइका लागि लगिएको कच्ची कुलोलाई पक्की गर्न गाउँपालिकासँग रकम माग गर्ने समितिले जनाएको छ ।

गाउँमा पक्की कुलो निर्माण सम्पन्न भएपछि धान, गहँु, तोरी, तरकारी लगायतका बालीनालीको उत्पादन सजिलैसँग लिन पाइनेछ । रासस

ताजा खबर