हिमालयले भोलीदेखि ढाका उडान भर्ने

२०७६ श्रावण ५ आइतबार १२:००:०० मा प्रकाशित

काठमाडौं, ५ साउन । हिमालय एयरलायन्सले नयाँ गन्तव्यको रुपमा सोमबारदेखि काठमाडौं–ढाका–काठमाडौं उडान गर्ने भएको छ ।

नयाँ गन्तव्यको खोजीमा रहेको हिमालयले छोटो दुरीको अन्तर्राष्ट्रिय गन्तव्यको रुपमा बंगलादेशको राजधानी ढाकालाई छनौट गरेको बताएको छ । नेपाली विद्यार्थीहरु बंगलादेशमा विशेषगरी मेडिकल शिक्षाका लागि जाने गरेको र बंगलादेशीहरु नेपालमा घुम्न आउने भएकाले उक्त क्षेत्रमा यात्रुको अभाव नहुने विश्लेषण गरिएको छ ।

यसअघि ढाका–काठमाडौं रुटमा विमान बंगलादेश र युएस बंगालाले दैनिक उडान भर्ने गरेको थियो । युएस बंगालाको विमान फागुन २८, २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेयता उक्त एयरलायन्सले नेपाल उडान बन्द गरेको छ ।

विमान बंगलादेशले समयमै उडान नभर्ने तथा यात्रु सुविधामा ध्यान नदिने गर्नाले हिमालयले यस क्षेत्रमा राम्रो गर्न सक्ने यस क्षेत्रका जानकारहरुले बताइरहेका छन् ।

सातामा तीन उडान भर्ने तालिका सार्वजनिक गरेको हिमालयले सोमबार, बुधबार र शनिबार यस क्षेत्रमा उडान भर्ने यसअघि नै बताइसकेको छ । उडान हुने दिन बिहान ११ः१० मा काठमाडौंबाट उडेर १३ः१० मा ढाका पुग्ने र १४ः१० मा ढाकाबाट उडेर १५ः२० मा काठमाडौं फर्कने तालिका रहेको छ ।

हिमालयले ढाका बाहेक, युएईको अबुधाबी, साउदी अरबको दम्माम, कतारको दोहा र मलेसियाको क्वाला लुम्पुरमा उडान भर्दै आएको छ ।

यसअघि श्रीलंकाको कोलम्बो, म्यानमारको यांगुन र चीनको चङकीङमा उडान सुरु गरेपनी यात्रु अभाव भन्दै हिमालयले ती क्षेत्रको उडान बन्द गरेको छ ।

भारतको दिल्ली, चीनको ग्वाङझाउ जस्तो आकर्षक गन्तव्यमा उडान भर्न लामो समयदेखी प्रयास गरेपनी हिमालयले ती क्षेत्रको लागि स्वीकृती नपाएको बताईन्छ । अन्तर्राष्ट्रिय उडान भर्दै आएपनी हिमालय चरम घाटामा रहेको बताईएको छ ।

 

ताजा खबर