बालिकालाई ‘युवा प्रतिभा पुरस्कार’

२०७६ श्रावण ४ शनिबार १७:४२:०० मा प्रकाशित

इलाम । पत्रकार जसुदा प्रधानको स्मृतिमा स्थापित ‘युवा प्रतिभा पुरस्कार’ कवयित्री बालिका थपलियालाई प्रदान गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्धन समितिले कवयित्री थपलियालाई पुरस्कृत गरेको हो ।

  जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगरपालिकाका मेयर महेश बस्नेतलगायतले थपलियालाई पुरस्कृत गरे । त्यस अवसरमा पुरस्कृत कवयित्री थपलियाले इलामकी कवयित्री जसुदा खाकीले देखेको सपना पूरा गर्न प्रयास गर्ने बताइन् ।

सामाजिक विकृति–विसंगतिविरुद्ध चेत खुलाउनेखालको साहित्य सिर्जना गर्ने थपलियाले आफ्नै बुवाबाट साहित्य क्षेत्रमा लाग्ने प्रेरणा मिलेको सम्झना गरिन् । ‘बुबा कवि हुनुहुन्थ्यो, घरमा साहित्यिकलगायतका धेरै पुस्तकको पुस्तकालयजस्तै भएकाले पनि मलाई साहित्यप्रति रुचि बढ्यो,’ उनले भनिन्, ‘साहित्य सिर्जना मेरो रुचिको क्षेत्र हो ।’

 ‘यसपटक भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्धन समितिले उपयुक्त प्रतिभालाई सम्मान गरेकोमा खुशी लागेको छ,’ साहित्यकार प्रकाश थाम्सुहाङले भने, ‘कवयित्री बालिका गाउँमा बसेर साहित्य सिर्जना अनवरत लागिरहनुभएको छ ।’

समिति अध्यक्ष विमल वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका कवि–कवयित्रीले आफ्ना रचना सुनाएका थिए ।
 

ताजा खबर