नेपालमा वैदिक विश्वविद्यालय स्थापना गरिने

२०७४ भदौ १७ शनिबार २१:१०:०० मा प्रकाशित

काठमाडौँ, १७ भदौ । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिनेलगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भयो । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ १५ गते शुरु भएको सम्मेलन आज ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । 

नेपाललाई वैदिक सनातन धर्मावलम्बीको मूल केन्द्र बनाउने घोषणालाई पनि सम्मेलनले पारित गरेको समाजका अध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक हरिबोल भट्टराईले बताए। 

नेपाललाई वैदिक दर्शनको केन्द्र बनाउन अध्यक्ष भट्टराईको संयोजकत्वमा सम्मेलनमा भाग लिएका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिकालगायत देशका प्रतिनिधि सदस्य रहने गरी समिति गठन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ । 

सम्मेलनले बंगलादेश, पाकिस्तान, अफगानिस्तानलगायत देशमा अल्पसंख्यकका रुपमा रहेका हिन्दू समुदायमाथि भइरहेको अन्याय, अत्याचार रोकी परापूर्वकालदेखि मान्दै आएको धर्म, संस्कार, चाडपर्व र रीतिरिवाज स्वतन्त्र रुपमा मान्न पाउने अधिकारको सुनिश्चित गर्न संयुक्त राष्ट्र संघमार्फत् सम्बन्धित देशका सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्ताव पनि पारित गरेको आयोजक समिति सदस्य त्रिलोचन पौडेलले बताए। 

सम्मेलनले नेपालमा वैदिक विश्वविद्यालयको स्थापना गर्ने निर्णय पनि गरेको छ । यसैगरी यज्ञ, ध्यान र पूजा अर्चनालाई वैज्ञानिक एवं व्यवस्थित रुपमा अगाडि बढाउने प्रस्ताव पनि सम्मेल पारित गरेको छ । रासस 

ताजा खबर