पर्यटक प्रवद्र्धनका लागि चार पार्क

२०७६ श्रावण १ बुधबार १२:१६:०० मा प्रकाशित

तनहुँ, १ साउन ।  डिभिजन वन कार्यालयले आर्थिक बर्ष ०७५\७६ मा  जिल्लामा चार पार्क र एक सामुदायिक वनको भवन निर्माण गरेको छ । आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनका लागि करीब रु पन्ध्र लाखका दरले ती आकर्षक पार्क र भवन निर्माण गरिएको हो । 

केन्द्रीय सरकारको सहयोगबाट जिल्लाको भानु नगरपालिका–४ मा भानु पार्क र गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दिपुर गाउँपालिका–१ मा शहीद स्मारक पार्क, भानु नगरपालिकामा ढाडफेदीमा ढाडफेदी पार्क, शुक्लागण्डकी नगरपालिका–२ मा शहीद स्मारक पार्क निर्माण गरिएको छ । यसैगरी   भिमाद गाउँपालिका–९ स्थित ढुङदुम सामुदायिक वन उपभोक्ता समितिमा भवन निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए ।  घरबास सञ्चालन गरिएका गाउँपालिका र नगरपालिकामा पार्क निर्माण गरेर आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने उद्देश्य रहेको उनको भनाइ थियो । 

४७ घरबासका लागि पाँच करोड २५ लाख

पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँमा हालसम्म ४७ घरबास सञ्चालन गरिएका छन् । प्रतिघरबासलाई रु दश लाखका दरले चार करोड ७० लाख रकम प्रदान गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा सबै तहमा होमस्टे सञ्चालन गरिए पनि ऋषिङ गाउँपालिकामा एउटा पनि घरबास सञ्चालनमा नरहेको  डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । 

उनका अनुसार जिल्लामा सबैभन्दा बढी बन्दिपुर गाउँपालिकामा दश, भानुनगरपालिकामा नौ, शुक्लागण्डकी नगरपालिकामा सात, देवघाट गाउँपालिकामा छ, व्यासनगरपालिकामा पाँच, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिका दुई र आँबुखैरेनी गाउँपालिका दुई  घरबास सञ्चालन छन् । 

सामुदायिक वनमा पर्यापर्यटन

सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका छ वन समूहलाई पाँच लाखका दरले रू तीस लाख प्रदान गरिएको छ । जिल्लाको व्यासनगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिएको छ । 

बाह्र पोखरी निर्माण

डिभिजन वन कार्यालयले वन उद्यान कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा बाह्र वटा पोखरी निर्माण गरेको छ । प्रदेश सरकारको लगानीमा प्रतिपोखरी रु एक लाखका दरले पोखरीका लागि बाह्र लाख खर्च भएको जनाइएको छ । वन्यजन्तुका लागि र वनमा आगलागी हुँदा नियन्त्रणमा लिन सजिलो हुने उद्देश्यले ती सामुदायिक  वनमा पोखरी निर्माण गरिएको डिभिजन वनप्रमुख केदार बरालले जानकारी दिएका हुन् । रासस

ताजा खबर