'म नेपाल आइडलबाट बाहिरिँदा मेरा स्रोता घटेका छैनन्' गायिका मेनुका पौडेल

२०७४ भदौ १६ शुक्रबार २२:५१:०० मा प्रकाशित

यी हुन् गायिका मेनुका पौडेल । नेपाल आइडलमा स्रोता/दर्शकले निकै रुचाएकी गायिका मेनुका प्रतिष्पर्धाबाट बाहिरिईन् । दर्शकको भोटिंगका आधारमा उनी अगाडिका छनौटमा पर्न असमर्थ भएकाले बाहिरिएको बताईएको थियो । तर उनको बहिर्गमनले धेरै स्रोता/दर्शकलाई खल्लो बनाएको प्रतिक्रियाहरु सामाजिक सञ्जालमा प्रशस्त आए।उनी भने यसलाई आफूले सामान्य रुपमा लिएको बताउँछिन्। उनको स्पष्ट बिचार छ – मानिसको जीवनमा जहिले पनि जे पनि आईपर्न सक्छ । भन्छिन् –‘ मान्छेको भाग्य कुनै पनि बेला चम्किन सक्छ ! ’ 
 पढौं गायिका मेनुकाका मार्मिक अभिव्यक्ति उनकै शव्दमा –  


तपाईँको एक दिन कसरी बित्छ ?

बिहान उठ्यो । आफ्नो सधैंजसो गर्ने कामहरु गर्छु । त्यसपछि कफि पिउँछु । कफि पिईसकेपछि आफ्नो समय अनुसार दुई तीन घण्टा रियाज  गर्छु । रियाजपछि केही समय आराम गर्छु । त्यसपछि ईन्टरनेट चलाउँछु । त्यो मेरो एउटा साथी हो । घरपरिवारहरुसँग खाना खाँदै गफगाफ पनि गर्छु । अहिले त्यस्तो दैनिकी नै भन्ने त छैन । रेर्कडिङ भयो भने त्यसमा व्यस्त होइन्छ नत्र घर मै बसेर रियाज गर्ने हो । सरल पत्रिकासँग कुराकानी गर्नु अघि पनि म रेर्कडिङ मै थिएँ । एउटा मन छुने राष्ट्रिय गीतको रेकर्डिङमा छु,त्यो अब छिटै स्रोता माझ आउँदैछ ।

नेपाल आइडलबाट बाहिरिए पछि ?

नेपाल आइडलमा हुँदा जति धेरै दर्शकले मेरो गायनलाई मन पराउनु भएको थियो। आज पनि त्यहि नै छ । मेरो गीत सुन्नेको संख्या घटेको छैन । झन्झन् बढ्दो छ । केही समय अघि मेरो एउटा गीत रिलिज भएको थियो,त्यसलाई पनि एकदमै धेरैले मन पराईदिनु भयो ।

नेपाल आइडलबाट आउट हुन्छु भन्ने सोच्नुभएको थियो?

यसमा केही भन्न सकिन्न । जे पनि हुनसक्छ । कार्यक्रम भनेको एउटा नियम अनुसार चल्ने कुरा हो । म आउट भएँ तर मलाई त्यस्तो नराम्रो केही लागेन । म जहाँसम्म पुग्नु थियो त्यहाँसम्म पुगिसकेकी थिएँ । अब अगाडि बडाउने नबडाउने भन्ने कुरा त स्रोताहरुको हातमा छ । त्यसकारणले गर्दा म अगाडि बढ्न पनि सक्छु नबड्न पनि सक्छु भन्ने मलाई लागिसकेको थियो । अहिले त्यो क्षणहरु सम्झिएर पनि केही हँुदैन । जे भयो राम्रैको लागि भयो ।

 यति धेरै चर्चा पाउँछु भन्ने सोच्नुभएको थियो ?

यो चाहिँ मान्छेलाई अचानक आउने कुरा हो । पहिलो कुरा त नेपाल आइडल नै आउँछ भन्ने थाहा थिएन । अब नेपाल आइडल शुरु हुने भयो भन्ने थाहा भएपछि फर्म भरियो । अडिसन दिईयो र कार्यक्रममा सहभागी भएर अगाडि बढ्दै गइयो । भोटिङको कारणले आउट पनि भइयो । मान्छेले नबिसाईकन काम गर्दै जानुपर्र्छ जे पनि आईपर्छ । मान्छेको जीवनमा जे पनि हुन सक्छ। संगीतमा संलग्न मान्छेले मेहनत गरि नै रहनुपर्छ । विसाउनु हुँदैन । नेपालमा कतिबेला आफ्नो ठाउँमा के के आउँछ भन्ने कुरा अगाडि नै थाहा हुँदैन । त्यसकारणले सँधै तयारी अवस्थामा नै   बस्नुपर्छ । मान्छेको भाग्य कुनैपनि बेला चम्किन सक्छ ।

तपाईँको प्रस्तुतिले आम–दर्शक, निर्णायक सबै खुशी नै देखिन्थे, एक्कासी नजिता आफ्नो पक्षमा नआउँदा दुःख त लाग्यो होला नि ?

मलाई त्यस्तो केही पनि महशुस भएन किनभने खेलमा जीतहार त अवश्य हुन्छ नै । अब कार्यक्रम नै नहेरी आफुले भाग लिन जाँदा चाहिँ एउटा कुरा हुन्थ्यो होला तर मैले धेरै रियालिटी शोहरु हेरें त्यसो हुँदा अडियन्सको भोटले जे पनि हुनसक्छ भन्ने कुरामा विश्वस्त थिएँ । म यो कुरामा जे भए पनि ठीकै छ भन्नेमा नै थिएँ । मलाई  दुःख लागेन । ज–जसले मेरो लागि भोट गर्दिनुभयो उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

तपाईँको आवाज त गायिका कोइली देवीसँग दाँजिन्छ नि, कस्तो लाग्छ यसो भनेको सुन्दा ?

सुन्दा त मलाई खुशी नै लाग्छ । यो आफुले भन्नुपर्ने कुरा भन्दा पनि स्रोताहरुले मूल्याङकन गर्ने कुरा हो । त्यसकारणले मेरो लागि स्रोताहरुले जे गर्नु भएको छ,राम्रो गर्नु भएको छ । उहाँहरुसँग म एकदमै खुशी छु ।

व्यक्तिगत सन्दर्भ, तपाईँ जन्मिदै दृष्टिविहिन हुनहुन्थ्यो कि पछि यस्तो भएको हो ?

हजुर म जन्मजात नै दृष्टिविहिन हो । बच्चा अवस्थाबाट नै म आँखा देख्दिन ।

तपाईलाई सानैदेखि संगीत क्षेत्रमा लाग्छु भन्ने थियो ?

  मेरो पहिले देखिकै क्षेत्र गीत संगीत नै हो । मेरो जन्मथलो झापा हो । म पाँच वर्षको उमेरमा सेतो गाउँ उच्च माध्यमिक बिद्यालय गरामनिमा पढ्न गएँ । त्यहाँ दृष्टिविहिनहरुलाई पढाइन्छ । सानो हुँदा त्यहाँको माहौल पनि संगीतमय भएको हुनाले म त्यहाँबाट संगीतमा छिरें । म पाँच वर्षको उमेरमा नै संगीतमा लागेकी हुँ ।


पहिले कहाँ र कस्तो अवस्थामा गीत गाउनु भएको थियो,सम्झन सक्नुहुन्छ ?

म पारिवारीक वातावरणसँगै होस्टेलको वातारणमा पनि हुर्केकी हुँ । त्यसपछि म होस्टेलमा आयोजना हुने कार्यक्रमहरुमा गीत गाउँथे । होस्टेलमा गाएको पहिलो गीतबाट नै मेरो सांगीतिक यात्रा शुरु भएको हो भन्दा पनि हुन्छ ।

 छिटै नेपाल आइडलबाट बाहिरिनुमा कसैप्रति गुनासो छ कि ?

मलाई त्यस्तो केही पनि गुनासो छैन । पहिलो कुरा त गुनासो भनेको के हो,मलाई त्यो नै  थाहा छैन । त्यहि भएर कसैसँग पनि मैले गर्नुपर्ने गुनासाहरु केही छैनन् । सबैजनासँग म एकदमै खुशी छु ।

पहिला भन्दा अहिले धेरैले तपाईंलाई चिनेका छन् , कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

एकदमै रमाईला रमाईला प्रतिक्रियाहरु पाइरहेको छु । कति कुराहरु आफ्नै कानले पनि सुनिरहेकी हुन्छु । कति कुराहरु प्रत्यक्ष रुपमा पनि गर्नुहुन्छ । कतिले अप्रत्यक्ष रुपमा मेरो कुरा गरिरहनु भएको हुन्छ  । यसले मेरो काम गर्ने क्षमता झन् बढाउँछ । मलाई धेरै खुशी दिएको छ । 

 तस्बिर: मेनुकाको फेसबूकबाट 

ताजा खबर