कता गयो नेवानिको कमाई ?

२०७६ असार २८ शनिबार ०८:०२:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) को आर्थिक संकट अहिले चर्चा विषय बनिरहेको छ । निरन्तर जहाज उडिरहे पनि अपत्यारिलो रुपमा कंगाल व्यवहार देखाएपछि यसमा चौतर्फि चासो बढिरहेको देखिएको छ । अनेक बहानामा रणनीतिक साझेदार भित्र्याउन आतुर रहेको नेवानि व्यवस्थापनले आर्थिक पाटोमा अपारदर्शी व्यवहार गरेको भन्दै आलोचना खेपिरहेको छ । 

नेवानिले दुईवटा न्यारोबडी ए३२० जहाज र दुईवटा वाइडबडी ए३३० खरिद गर्न कर्मचारी संजय कोष र नागरिक लगानी कोषबाट पटक पटक गर्दै कुल ३२ अर्ब ऋण लिएको छ । उक्त ऋणको ब्याज सहित वार्षिक ४ अर्ब ५२ करोड त्रैमासिक रुपमा तिर्नुपर्ने शर्त रहेको छ । पछिल्लो ८ महिनायता किस्ताको रकम नेवानिले नतिरेको बताईन्छ । यसअघि न्यारोबडी जहाजहरुको किस्ता खुरुखुरु तिरिरहेको निगम अकस्मात किस्ता नै तिर्न नसक्नुलाई शंकाको दृष्टिले हेरिएको छ । 

आर्थिक समस्यामा परेको जनाउँदै कर्मचारी संचय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको किस्ता तिर्न नसक्ने बताउँदै नेवानिका कार्यकारी अध्यक्ष मदन खरेलले सरकारसँग सहायता माग गरिरहेका छन् । खरेलले सरकारसँग २० अर्ब सहयोग मागेका छन् । वार्षिक किस्ता ४ अर्ब ५२ करोड मात्र भएको र निगमको जहाजहरु पछिल्लो समय उच्च अकुपेन्सीमा उडेपनि ठूलो रकम माग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको    छ ।  

यसरी मागेको रकम आर्थिक कमजोरीका कारण नभएर सरकारसँग ठूलो रकम लिइ ऋण तिर्दै नेवानिको अस्तव्यस्त व्यवस्थापनलाई यथावत राख्ने कदम भएको आरोप यस क्षेत्रका जानकारहरुले लगाइरहेका छन् । 

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत् सबैभन्दा धेरै यात्रु बोक्ने हवाइ कम्पनी नै नेवानि रहेको तथ्य बाहिरिएको छ । सन् २०१८ मा चार लाख ९३ हजार १ सय ७० यात्रुलाई सेवा दिइ नेपाली हवाइ व्यवसायको ११.७ प्रतिशत बजार हिस्सा ओगटेको निगम अहिले टाट उल्टेको व्यवहार देखाएपछि स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पनि चकित् परेका छन् । 

निगमको ६१ औं वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले जहाज उडेको छ, यात्रु प्रशस्तै छन् भन्ने गरेपनि आर्थिक संकट परेको भन्दा अचम्म लागेको बताएका थिए । 

त्यस्तै नेवानि अन्तर्गतका आधिकारिक ट्रेड युनियनले पनि आर्थिक पारदर्शिताको आवाज उठाएको छ । नयाँ गन्तव्यमा जहाज उडाउन नसकेपनि जेट एयरवेजले उडान ठप्प पारेसँगै भएकै गन्तव्यमा पनि यात्रुको चाप सहित उल्लेख कमाएको नेवानिले आर्थिक रुपमा सधैं दरिद्र व्यवहार देखाएपछि ट्रेड युनियनले यस्तो प्रश्न तेर्साएको बुझिएको छ । 

ट्रेड युनियनले नेवानिका कार्यकारी अध्यक्ष खरेललाई २१ दिनको अल्टिमेटम दिएर आर्थिक विवरण सार्वजनिक माग गरेको थाहा भएको छ । संस्था राम्रोसँग चलिरहँदा लामोसमय देखि किस्तानै तिर्न नसक्नुको कारण माग्दै यसबारे सबैकुरा स्पष्ट पार्न पनि युनियनले आग्रह गरेको छ । 

ताजा खबर