विमानस्थल नचल्दा उडानहरु ‘डाइभर्ट’, यस्तो छ विवरण

२०७६ असार २७ शुक्रबार १७:२१:०० मा प्रकाशित

काठमाडौं, २७ असार । निरन्तर वर्षाको कारण चिप्लो रहेको रन वेमा यति एयरलायन्सको जहाज चिप्लीइ दुर्घटना हुँदा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बनेको छ । 

नेपालगञ्जबाट उडेको यतिको एटीआर ७२ जहाज काठमाडौंमा ल्याण्ड गर्ने क्रममा चिप्लीइ रनवेभन्दा पर गएको थियो । उक्त जहाजलाई पार्किङ क्षेत्रमा ल्याउन नसकेपछि विमानस्थल अनिश्चीत कालको लागि बन्द गरिएको छ ।

जहाजको ल्याण्डीङ गियर माटोमा गाडिएको कारण जहाजलाई तानेर ल्याउन सम्भव नभएको विमानस्थल स्रोतले सरल पत्रिकालाई बताएको छ । गाडिएको गियरलाई निकालेर जहाजलाई पार्किङसम्म ल्याउने काममा अझै समय लाग्ने बताईएको छ । स्रोतका अनुसार उक्त काम सम्पन्न रातसम्मको समय लाग्ने भएको छ । 

यसरी विमानस्थल बन्द गरिँदा आन्तरिक उडान तथा अन्तर्राष्ट्रिय उडान दुबै प्रभावित बनेका छन् । आन्तरिकतर्फ पोखरा, भरतपुर, भैरहवाबाट आएको अधिकांश जहाजलाई उतै फर्काइएको छ भने धनगढिबाट उडेको श्री एयरलायन्सको जहाजलाई विराटनगर पठाइएको छ । विमानस्थल बन्द गरिएको सूचना जारी गरेपछि सबै आन्तरिक उडानहरु रोकिएको छ । 

त्यस्तै अन्तर्राष्ट्रियतर्फ दोहाबाट आएको कतार एयरवेज, ग्वाङझाउबाट आएको चाइना साउदर्नलाई कलकत्तातर्फ डाइभर्ट गरिएको विमानस्थलले जानकारी दिएको छ । 

त्यसबाहेक क्वाला लुम्पुरबाट आएको मालिन्दो एयर, ढाकाबाट आएको विमान बंगलादेशलाई ढाकातर्फ डाइभर्ट गरिएको छ भने ल्हासाबाट आएको सिचुवान एयरलायन्सले ल्हासातर्फ नै फर्काइएको छ । 

दिल्लीबाट काठमाडौं फर्कन लागेको नेपाल एयरलायन्सको जहाजलाई दिल्ली नै फर्काइएको छ भने बैंककबाट आएको थाइ एयरवेजलाई बैंककनै फर्काइएको छ । त्यस्तै दिल्लीबाट काठमाडौं आउने तालिका रहेको इन्डीगो एयरको उडान नै रद्द गरिएको बताईएको छ । 

सोलबाट आउन लागेको कोरियन एयरको जहाजलाई पनि उतै फर्काइएको जानकारी प्राप्त भएको छ । 
 

ताजा खबर