पत्रकारहरुको बहिष्कारमा ‘क्वीन’ कंगना

२०७६ असार २५ बुधबार ११:११:०० मा प्रकाशित

एजेन्सी । फिल्मको प्रबद्र्धन गर्ने क्रममा पत्रकारसँग विवादमा परेकी नायिका कंगना रनौटलाई भारतीय मनोरञ्जन पत्रकारहरुको समुहले बहिष्कार गर्ने घोषणा गरेको छ । अनेक विवादमा पर्ने ‘क्वीन’ कंगना यसपटक भने समस्यामा पर्ने देखिएको विश्लेषण गरिएको छ ।  

गत आइतबार आफ्नो फिल्म ‘जजमेन्टल हे क्या’ को प्रबद्र्धन गर्न गरिएको कार्यक्रममा पिटीआईका पत्रकार जस्टिन रावलाई उनले अनेक आरोप लगाएकी थिइन् । कंगनाको पछिल्लो फिल्म ‘मणिकर्णिका’ को आलोचना गर्दै लेखेको भन्दै कंगनाले उनीसँग पत्रकारहरुको माझमा नै बाझेकी थिइन् ।

उक्त पत्रकारले आफुले त्यस्तो नगरेको बताएपनि कंगनाले ती पत्रकारहरुसँग लामो समयसम्म झगडा गर्दै उनको कुरा पनि नसुन्ने र कुनै उत्तर पनि नदिने अड्डी कसेकी थिइन् । कंगनाको उक्त व्यवहार सामाजिक संजालमा भाइरल भएको छ । धेरैले कंगनाको यस कदमको विरोध गरेका छन् ।

उनको उक्त व्यवहारको भत्सर्ना गर्दै भारतीय मनोरञ्जन पत्रकारहरुको समुहले उक्त फिल्मकी निर्माता एकता कपूर र नायिका कंगनाले माफी माग्नुपर्ने माग राखेका छन् ।

एकताले उक्त कार्यक्रममै विवाद साम्य पार्ने कोशिस गरेकी थिइन्, तर स्थिती उनको नियन्त्रण भन्दा बाहिर गएको थियो । पत्रकारहरुको समुहको माग प्रति सकारात्मक उनले सार्वजनिक रुपमा खेद प्रकट गर्दै उक्त घटनाप्रति माफी माग्ने तयारी गरेको बताईन्छ ।

कंगनाको उक्त फिल्म आगामी जुलाई २६ मा रिलिज हुने तालिका रहेको छ । पत्रकारको समुहले कंगनाको आगामी सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिएको छ । त्यस्तै उनले यस घटनामा माफी नमागेसम्म भविष्यमा पनि उनको कुनै कार्यक्रमलाई मिडिया कभरेज नदिने बताईएको छ ।

यो घटनाको विवाद बढिरहँदा यसमा कंगनाको बहिनी रंगोली चण्डेलपनि मिसिएकी छिन् । उनले ट्वीट गर्दै कंगनाले यस घटनामा माफी नमाग्ने ठोकुवा गरेकी छिन् । रंगोलीले पत्रकार रावलाई देशद्रोही पनि भनेकी छिन् ।

 

ताजा खबर