कपिल देव जस्तै देखिए रणवीर सिंह, यस्तो छ कारण

२०७६ असार २३ सोमबार १४:३८:०० मा प्रकाशित

एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान कपिल देवको जीवनीमा आधारित फिल्म ‘८३’ को लागि नायक रणवीर सिंहले प्रशस्तै मेहनत गरेका छन् । 

उनले हालै सार्वजनिक गरेको तस्विरमा उनी दुरुस्तै कपिल देव देखिएपछि सामाजिक संजालमा उनको चर्चा ह्वात्तै चुलिएको छ । 

यसरी दुरुस्तै कपिल देव जस्तै देखिनुमा उनले विभिन्न चार किसिमको विशेषज्ञको साथ लिएको बताइन्छ । यसको लागि उनले मेकअप, हेयर स्टाइलिस्ट, बडी ट्रेनर र क्रिकेट एक्सपर्टको साथ लिएका थिए । साथै उनले कपिल जस्तै बन्नको लागि कपिलको पुरानो भिडियो हेर्नुका साथै उनको बारेमा छापिएको लेखहरु पनि थुप्रै पढेको बताईन्छ । 

पछिल्ला दिनहरुमा सफल बन्दै गएका रणवीरले फिल्मको लागि निक्कै नै प्रयास गरिरहेको चर्चा पनि चलिरहेको छ । यहि क्रममा उनले फिल्मको शुटिङ अगाडी कपिल देवको घरमा १० दिन कपिलसँगै बिताएको बताईएको छ । 

कपिल जस्तै देखिएका रणवीरले उनीजस्तै ब्याटिङ र बलिङ गर्न पनि सिकेका छन् । पहिल्यै देखि राम्रो ब्याटिङ गर्ने गरेका रणवीरलाई कपिलको ब्याटिङ शैली पछ्याउन अप्ठ्यारो नभएको तर दुरुस्तै बलिङ गर्न सिक्न भने प्रशस्तै मेहन गर्नुपरेको थियो । 

कपिलको जस्तै कपाल देखाइनको लागि रणवीरको लागि ‘विग’ बनाइएको बताईन्छ । त्यस्तै आँखी भौं पनि रणवीरको बाक्लो भएकाले त्यसलाई मिलाएर कपिलको जस्तै पातलो बनाइएको छ । 

शारिरीक हाउभाउ कपिल जस्तो बनाउन उनले मेहनत गरेपनी कपिलको जस्तै नाक देखिनको लागि भने रणवीरको लागि कृत्रिम वस्तुको प्रयोग गरिएको बताईन्छ । यसको लागि ‘प्रोस्थेटिक’ को प्रयोग गरिएको छ । 

त्यस्तै जुँगा पनि कपिल जस्तै बनाउनको लागि रणवीरलाई बाक्लो जुँगा पाल्न लगाइएको थियो । पछि त्यसलाई मिलाएर कपिलको जस्तो बनाएको बताईन्छ । त्यस्तै कपिल हाँस्दा उनको दाँत अलिकति बाहिर आउने गरेको छ, रणवीरको दाँतलाई पनि कपिलको जस्तै बनाउन कृत्रिम प्रविधि ‘डेन्चर’ को प्रयोग गरिएको छ ।

ताजा खबर