पूर्व राजा ज्ञानेन्द्रलाई कवि ज्ञानेन्द्रको शुभकामना

२०७६ असार २३ सोमबार ११:४६:०० मा प्रकाशित

ज्ञानेन्द्र शाह भाग्य र वाध्यताले पटकपटक राजा भएका राजपरिवारका एक सदस्य हुन् । हजुरबुवा(महाराज), बुवा (युवराजधिराज) र दाजु (नवयुवराज) जीवितै छँदा नाति बेलामै २००७ सालमा श्रीपेच पहिरिने पहिलो मौका जुर्यो उनलाई, यसलाई इतिहासले उनको सौभाग्य भनेको छ । त्यसबेला उनी हर्षित भए वा आश्चर्यचकित त्यो अवोध बेलाको अनुभव स्वयं उनलाई पनि सपनाजस्तो मात्रै होला । तर उनी राजा भए, तत्कालिन राजाबाट हुने सबैखाले काम-कार्यवाहि केही दिन भएपनि उनीबाट संचालन गरियो । संजोगले बनेका यी वालराजाले नै जहांनिया राणाशासन र प्रजातान्त्रिक नेपालको दशगजामा श्रीपेच पहिरिएर राजतन्त्रको निरन्तरता कायम राखेका हुन् आधुनिक नेपालका लागि ।

 

सात सालमा प्रजातन्त्रको उदयसंगै उनले आफ्ना हजुरबुवा त्रिभूवनलाई श्रीपेच सुम्पिए र पुनः राजाका माइला नातिमा कायम रहे । प्रारम्भिक शिक्षा दरवारमै र देशविदेशमा बसेर उच्च शिक्षा हासिल गरेका ज्ञानेन्द्रले बुवा(राजा महेन्द्र) र दाजु(राजा विरेन्द्र)को छत्रछायाँमा रहेर राजकाज सम्बन्धि काममा गहन अनुभव हासिल गरेको कुरा उनकै अभिव्यक्तिहरु र तत्तत् समयमा उनले वहन गरेका जिम्मेवारीहरुबाट थाह लाग्दछ । साहित्यमा गहन रुचि राख्ने राजपरिवारका सदस्यहरुमध्ये यिनी एक कुशल गीतकार पनि हुन्, संगीतमा रमाउने संगीतप्रेमि पनि । गीत संगीत र साहित्यका पारखी उनी स्वभावैले प्रकृतिप्रेमि हुन्, देशको प्राकृतिक संरक्षणमा अभिरुचिका साथ प्रत्यक्ष सहभागिता रहेको छ उनको । उनी एक सच्चा राष्ट्रवादी हुन् | विचार, जीवनशैली, साहित्यलेखन र व्यवहारमा समेत प्रत्यक्ष देख्न र अनुभव गर्न पाइन्छ उनको गहिरो राष्ट्रभक्ति । प्रकृति र देश उनका गीति सिर्जनाहरुमा शव्दहरुका माध्यमबाट हिमालयको कञ्चन पानी झैं बगेका छन् । 

 

साहित्य–संगीतको सेवा एवं प्रकति संरक्षणको अभियन्ताको अलावा स्वदेशी उद्योग धन्दा र व्यापार व्यावसायमा समेत प्रत्यक्ष संलग्न भै देश विकासमा समर्पित ज्ञानेन्द्र शाहलाई नियतिले दोश्रोपल्ट पनि राजाको श्रीपेच पहिराइदियो, जुन उनको लागि वाध्यात्मक अवसर मानिएको छ । तत्कालिन राजनैतिक संकटग्रस्त अवस्था र दरवार हत्याकाण्ड जस्तो भयावह परिस्थितमा समेत धैर्यता र संयमता नगुमाइ २०५८ सालमा एकपल्ट फेरि श्रीपेच पहिरिएर राजतन्त्रको निरन्तरता कायम गरे यो देशमा उनले । माओवादी युद्धका कारण, आर्थिक र सामाजिक रुपले तहसनहस बनेको देश र जनतामा राजनीतिप्रति नै चरम निराशा छाएको तत्कालिन अवस्थामा राजगद्धि सम्हाल्न पुगेका राजा ज्ञानेन्द्र जनताका एकमात्र आशाका केन्द्र बनेका थिए ।

 

देशि विदेशी कारणहरु अनगिन्ति छन्, विस्तृत केलाउन यो छोटो आलेखमा संभव नहोला, उनको लोकप्रियता जनतामा दिगो रहन सकेन । बाह्य शक्तिको इशारामा सुझबुझ गुमाएका राजनैतिक दलहरुले राजाविरुद्ध अनेक नकारात्मक भ्रमहरु फैलाए | राष्ट्रविरुद्ध वाहिरी शक्तिकेन्द्रहरुको स्वार्थमा बगेर राजालाई घेराबन्दीमा पारे | जनताको प्रत्यक्ष अभिमत बिना नै अबैधानिक तरिकाले जबर्जस्ति गणतन्त्र घोणमा गरे देशमा । राजा आखिर राजै हुन्, देश र जनताको माया राजालाई हुन्छ नै | अन्ततः मुठभेडमा जाने दुस्साहस त्यागेर जनता र राष्ट्रको जय गाउंदै असहज परिस्थितिमा पनि सहज मुखाकृति बोकेर राजपाट छाडेर नागरिक जीवनमा पर्किए राजा ज्ञानेन्द्र २०६४ सालमा । 

 

आज एक दशक नाघिसक्यो गणतन्त्र नेपालको अवस्था हामी सबै सामु जगजाहेर छ । राजाको रिसले राजसंस्था नै मास्ने काम भयो, यही मौकामा धर्म संस्कृति र नेपालको मौलिकतामाथि प्रहार गरियो । राजा र राजसंस्थाका बारेमा जुन नकारात्मक हौवा फिंजाएर जनता भड्काइएको थियो त्यसले देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावनामा नै नराम्रो क्षति पुगेको अवस्था छर्लंग छ । विखण्डनको विरुवा देख्न थालिएको छ, राष्ट्रिय एकतामा आघात पुर्याइएको छ र जनताको मतलाई बोरामा पोको पारेर लोकतन्त्रको धज्जि उडाइएको छ । यो अन्योलको अवस्थामा राजा मुकदर्शक बनेर मात्र जनताको शान्ति र देशको समृद्धिको कामना गर्दै भगवानका मन्दिरहरु धाइरहेका छन्, जनता चुपचाप परिस्थिति सहन विवस छन् ।

 

यसरी २००७ सालमा प्रजातन्त्रको स्वागत गर्ने बालराजा, विश्वमानचित्रमा आधुनिक नेपालको गरिमामय परिचय दिलाउने पिताजीको २०१७ साल अभियानका समर्थक, २०३६, ०४६ का परिवर्तनका प्रत्यक्ष साक्षी र २०५८ को पारिवारिक वियोगको चोटबाट प्राप्त आंशु सुक्न नपाउंदै भोग्नुरेको २०६३ को अनपेक्षित लान्छना, अपहेलना र पिढा समेत हांसिहांसी सहन सक्ने सहनशील व्यक्तित्वका धनि राजा ज्ञानेन्द्रले आफ्नो जीवनको सात दशक हिउंद–बर्खा पार गरिसकेका छन् । समय बलवान छ, नजाने नियतिले देशका निम्ति अरु कुनै अहम् भूमिका निर्वाह गर्ने जिम्मेवारी अझै दिंदैछ कि !

 

देशको आवश्यकता, जनताको मनोभावना र विश्व जगतले पनि राख्न थालेको चासो बमोजिम एकपल्ट फेरि पनि मुकुट पहिरिएर नेपाललाई दिगो शान्ति र स्थायीत्वको मार्गमा लैजाने अविभारा अरु एकपटक उनलाई दिने हो कि समयले !  अमेरिका निवासी कवि तथा गीतकार ज्ञानेन्द्र गदालले पूर्व राजालाई शुभकामना दिँदै आफ्नो फेसबूकमा लेखेका छन्-यदि यो भैदियो भने विगतमा आफुबाट पनि भए-गरेका कमि-कमजोरीप्रति आत्मसमिक्षाका साथ जनहितका निम्ति अघि बढ्न भगवानले शक्ति दिउन्, ७३औं शुभजन्मोत्सवको उपलक्ष्यमा राजा ज्ञानेन्द्रप्रति हार्दिक मंगलमय शुभकामना ।

ताजा खबर