मापदण्डविपरीतका संरचना भत्काउन आनाकानी

२०७४ भदौ १५ बिहीबार ०९:२५:०० मा प्रकाशित

मापदण्डविपरीत बनेका सडक छेउका धेरै घरधनीले सडक विस्तारका क्रममा घर भत्काउन आनाकानी गरिरहेका छन्। थोरै जग्गामा बनेको घर सडकमा गए विस्थापित भएर बहालमा बस्नुपर्ने अवस्था आउला भन्ने उनीहरूलाई त्रास छ। उचित क्षतिपूर्ति नपाइनु घर नभत्काउनुको अर्को मुख्य कारण बनेको छ। 

यस्तै विस्थापित भइने डर छ, ललितपुर हरिसिद्धि नगरपालिकाका जोगबहादुर महर्जनलाई पनि। ‘हाम्रो घरको नक्सा हेर्दा ४ मिटर सडक प्रस्ट देखिन्छ। अहिले सडक विस्तार गर्दा हाम्रो घर भत्कियो भने जम्मा दुई फिट बाँकी हुन्छ। त्यसमा घर बनाउने, कि फुटपाथ दिने के गर्ने हामीले?’ उनले प्रश्न गरे।

कर तिरेको जग्गालाई सडक बनाउँदा स्थानीयसँग छलफल नगरी माथिको निर्णय लाद्ने प्रवृत्तिले राज्य र स्थानियबीच तिक्तता बढाएको उनी बताउँछन्। ‘हाम्रो थातथलो यही हो, कहाँ जानु ? आँगन छाड्यौं, पेटी छाड्यौं अब घर पनि छाडेर कहाँ जाने ?’ उनले भने।

हरिसिद्धि–गोदावरी सडक खण्ड विस्तारका क्रममा हरिसिद्धि र बाँडेगाउँका एक दर्जनजति सांस्कृतिक तथा धार्मिक महत्त्वका सम्पदा पर्ने ठेचोका राजु महर्जनले बताए। गोदावरी नगरपालिका–१४ का जोगबहादुर भन्छन्, ‘काठमाडौंको सोह्रखुट्टेमा पुरानो चैत्य थियो। जसको नामले त्यो ठाउँको नाम राखिएको थियो। अहिले त्यो चैत्यको नामोनिसान छैन। सडक विस्तारले यहाँको हालत पनि यस्तै होला भन्ने खतरा छ।’ मल्लकालीन बस्ती हुँदै जाने उक्त सडकले त्यहाँका परम्परा मान्ने समुदायलाई नै विस्थापित गराउने डर स्थानीयवासीमा छ। सम्पदा र संस्कृति स्थानीय समुदालयले जोगाउने भएकाले उनीहरूकै उठिबास गराएर सडक विस्तार गर्ने सरकारको नीतिमा विकल्पका बारेमा नसोची हचुवा भरमा गरिएको उनको आरोप छ। कान्तिपुर दैनिकबाट ।

ताजा खबर