मनको कुरा सुनेर सफल भए आयुष्मान

२०७६ असार २२ आइतबार १३:१८:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा ठुलो बजेटको फिल्महरु स्टार कलाकारको नामले मात्र चल्न छोडेका छन् । भारतीय फिल्मका दर्शकहरु केहि समययता राम्रो कथावस्तु भएको फिल्म प्रति आकर्षित हुँदै गइरहेको देखिएको छ ।

गत वर्ष शाहरुख खानको फिल्म ‘जिरो’, सलमान खानको ‘टाइगर जिन्दा हे’ र आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ जस्तो ठुला बजेटको फिल्महरु ओरालो लागेको थियो । केहि समय पहिले यि तीन खानको नाम मात्रले फिल्म चल्ने गरेको भएपनि पछिल्लो समय भने बलिउडको ‘टे«न्ड’ परिवर्तन भएको छ ।

यहि परिवर्तित ‘टे«न्ड’ को फाइदा भने जीवन्त अभिनय गर्ने नायक आयुष्मान खुराना जस्ता उदीयमान स्टारहरुलाई भइरहेको बताइन्छ ।

एमटिभी रोडिजबाट फिल्म उद्योगमा आएका आयुष्मानको पछिल्ला फिल्महरुले अपेक्षाकृत राम्रो व्यापार गरिरहेका छन् । हालसालै रिलिज भएको फिल्म ‘आर्टिकल १५’ बाट भने उनले थुप्रै प्रशंसा पाइरहेका छन् ।

जातीय भेदभावमा आधारित उक्त फिल्ममा काम गर्ने निर्णय गरेर ठिक गरेको जस्तो लागेको आयुष्मान बताउँछन् । अनुभव सिन्हाले निर्देशन गरेको उक्त फिल्मको कथावस्तु पढेपछि आफ्नो मनले यो फिल्म गर्नको लागि प्रेरित गरेको बताउँदै उनले भने, ‘फिल्ममा कथावस्तु नै सर्वोपरी हो । यो फिल्ममा काम गर्न मनको कुरा सुनेर मैले ठिक गरें । फिल्मलाई दर्शकले मन पराएकोमा म अति खुशी छु । ’

यो फिल्म भारतीय संविधानको अनुच्छेद १५ अर्थात् आर्टिकल १५ मा आधारित रहेको बताइन्छ । उक्त बुँदामा कसैलाई पनि धर्म, जाति, लिंग वा जन्मको आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ ।

कानुनमा यस्तो भएपनि व्यवहारिक जीवनमा भएको वास्तविकतालाई उजागर गरेको औसत बजेटको यस फिल्मलाई भारतमा अति मन पराइएको छ । रिलिज भएको ९ दिनमा यो फिल्मले अहिले नै करिब २७ करोड भारुको व्यापार गरिसकेको छ ।

 

ताजा खबर