'सरकारको काम गर्ने शैलीले निराश बनायो'

२०७६ असार २१ शनिबार १२:१०:०० मा प्रकाशित

रिलायन्स फाइनान्स लिमिटेडको हालै सम्पन्न साधारण सभाबाट कुशप्रसाद मल्ली संचालक समितिको अध्यक्षमा निर्वाचित भएका छन् । बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मल्ली एनएलजी इन्सुरेन्सका पनि पूर्व अध्यक्ष हुन् । नेपाल एलपि ग्याँस उद्योग संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छन् । लायन्स क्लवको माध्यामबाट सामाजिक क्षेत्रमा सक्रिय रहेका उनी लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि २ का सिनियर डिष्ट्रिक्ट एडभाइजर छन् । मल्लीसँग बैकिङ क्षेत्रका विषयमा सरल पत्रिकाले गरेको कुराकानी ।

तपाईँको बैकिङ करियर कसरी अगाडि बढ्यो ?

२०६६ सालमा लायन्स क्लवका  साथीहरु  मिलेर एउटा फाइनान्सीयल इन्ष्टिच्युट खोल्ने सल्लाह भयो । सोही सालबाट रिलायन्स फाइनान्स कम्पनीको स्थापना गरिएको हो । 

अरु कुन कुन व्यवसायिक प्रतिष्ठानसँग सम्वद्धता छ ?  

म ठूलो व्यवसाय गर्ने मान्छे होइन । बुबाबाट सुरु भएको व्यापारमा संलग्न थिएँ । पछि अटोमोबाइलका प्रतिष्ठित कम्पनीहरुको डिलरको रुपमा व्यापार गरें । २०६६ सालमै राजधानी ग्याँस उद्योग संचालन गरें, नवलपुरको मुकुन्दपुरमा । नेशनल लाइफ इन्सुरेन्सको प्रोमोटर छु । नेशनल लाइफ इन्सुरेन्सकै निर्जीवन विमा गर्ने संस्था एनएलजी इन्सुरेन्स कम्पनीमा १४ वर्षदेखि आवद्ध छु ।

एकातिर व्यावसायिक जीवन र अर्कोतिर सामाजिक जीवनकावीचमा समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

समयको व्यवस्थापन त आफैंले गर्ने हो । मेरो विचारमा हरेक व्यवसायीले आफ्नो सामाजिक दायित्व पनि निर्वाह गर्न जरुरी छ । सामाजिक क्षेत्रमा लागेका व्यक्तिहरु अलि अनुशासित र जवाफदेही हुन्छन् । त्यसैले व्यवसायिक क्षेत्रका व्यक्तिहरु पनि सामाजिक क्षेत्रमा लाग्नु राम्रो हो भन्ने लाग्छ ।

भरखरै रिलायन्स फाइनान्स कम्पनीको अध्यक्षमा निर्वाचित हुनु भएको छ, देशको आर्थिक क्षेत्र कस्तो देख्नु भएको छ ?

विकास बैंक र फाइनान्स कम्पनीहरु विगतको तुलनामा मर्जरपछि कम भएका छन् । उनीहरुको वित्तिय अवस्था सुदृढ हुँदै जानु राम्रो संकेत हो । धेरै बैंक, फाइनान्स कम्पनीहरु हुँदा अनुगमनको असजिलोले पनि आर्थिक क्षेत्रमा अलि समस्या भएकै हो । देशमा राजनीतिक स्थिरतापछि धेरैले उद्योग व्यवसायमा लगानी बढाउन खोजीरहेको अवस्थामा  नगद प्रवाहको समस्या हामी सवैले तीन वर्षदेखि भोग्दै आइरहेका छौं । यसका लागि नेपाल राष्ट्र बैंकको नीतिगत त्रुटीले गर्दापनि समस्या थपिएको हो । नेपालमा लगानी गर्नुपर्ने धेरै क्षेत्र छन् , तर हामीकहाँ पूँजीको अभाव छ । भारत लगायत अन्य देशमा विदेशबाट पनि पैसा आइरहेको छ । तर हामीकहाँ यस्तो हुन सकेको छैन । 

बैदेशिक लगानीको कुरा गर्नु भएको हो ?

एउटा वैदेशिक लगानीको कुरा भयो । अर्को बैंकिङ मार्फत लगानी गर्ने बैदेशिक पूँजीको कुरा हो । बैंकिङ इन्भेष्टरको रुपले लगानी गर्नुपर्ने विषयमा उपलव्धी हासिल हुन सकेको छैन । कानूनी रुपले हामीकहाँ सम्भावना हुँदा हुँदैपनि यस्ता लगानीकर्तालाई विश्वासमा लिन सकिएको छैन । लविङ गर्न सकिएको छैन ।

तपाईँ आफैं उद्योगी व्यवसायी पनि हुनुहुन्छ, उद्योग व्यवसाय चाहिं घाटामा जाने तर बैंक वित्तिय संस्थाहरु सधैं एकदमै नाफामा जाने, यो कसरी भएको हो ?

अलिकति स्प्रेड दर बढी भएरपनि होला । कतिपय बैंकले छिटो नाफा खोजेर पनि हो । विस्तारै परिपक्व हुँदै जाला । बैंकिङ क्षेत्र भनेको एकदमै संवेदनशील क्षेत्र हो । एउटा बैंक डुव्यो भने हजारौं उद्योग व्यवसाय डुव्न पुग्छन् ।

नीजि क्षेत्र बाहेक बैंकको अवस्था कल्पना गर्न सकिन्न, नीजि क्षेत्रलाई बैंकले फस्टाउनु दिनुपर्ने होइन र ?

विगतमा बैंकिङ क्षेत्रले व्यवसायीबाट कसरी बढी व्याज अशुल गर्न सकिन्छ भनेर लागेकै हो । तर, अहिले परिपक्वता देखिँदैछ । सम्हालिने अवस्थामा छ । बैंकले लगानी गरेका उद्योग व्यवसाय फस्टाउन सकेमा मात्र देशको अर्थतन्त्र मजवुत हुन जान्छ । यसका लागि बैंक सस्तो हुनु प¥यो ।

राजनीतिक अस्थिरताले नेपालको आर्थिक क्षेत्रमा ठूलो असर परेको थियो । अहिले राजनैतिक स्थिरतापनि देखिएको छ, कतिको उत्साही हुनुहुन्छ ?

पन्ध्र महिना अघि जति उत्साही थिएँ, अहिले त्यति उत्साही छैन । सरकारको काम गर्ने शैलीले हामीलाई निराश बनायो । सरकार नारामा मात्र सीमित भयो । अझैपनि सरकारले काम गर्ने समय छ ।

सरकारले तपाईँहरु जस्ता व्यवसायीहरुसँग नीजि क्षेत्रको समस्या र लगानीका विषयमा केही राय सल्लाह लिने र कार्यान्वयन गर्ने गर्दैन ?
एकदमै सही प्र्रश्न गर्नुभयो । सरकारका मन्त्रीहरुसँग भेट हुन्छ । तर, उहाँहरुको काम गर्ने शैली र सिस्टम छैन । उहाँहरु एकदमै निरीह देखिनुहुन्छ । सरकारले  नीजि क्षेत्रलाई दोस्रो दर्जाको  रुपमा व्यवहार गरिरहेको छ ।

फाइनान्स कम्पनीका समस्याहरु के के छन् ?

बैंक, विकास बैंक र फाइनान्स कम्पनी सवैले एउटै क्षेत्रमा लगानी गर्छन् । आठ अर्बको कम्पनीसँग ८० करोडको कम्पनीले कसरी प्रतिस्पर्धा गर्न सक्छ ? अझ काठमाडौं बाहिरका कतिपय फाइनान्स कम्पनीहरु त १० करोडमैं खुलेका छन् । उनीहरुले कसरी प्रतिस्पर्धा गर्ने ठूला बैंकसँग ? 
त्यसैगरी फाइनान्स कम्पनीहरुले कर्मचारीलाई थेग्नै सकेका छैनन् । तालिम दियो, काम सिकायो हामीले भन्दा बढी तलब सुविधा बैंकले दिन्छन् उनीहरु जान्छन् । फाइनान्स कम्पनीको काम त कर्मचारी उत्पादन गर्ने जस्तो मात्र भै राखेको छ ।

रिलायन्स फाइनान्सको नयाँ योजना के छ ?

यो बर्ष हामी पाँचवटा शाखा खोल्दैछौं । उपयुक्त परिस्थिति र आवश्यकता हेरेर मर्र्जरको प्रक्रियामा जाने योजनामा छ ।
 

ताजा खबर