गणतन्त्र विरुध्द तुरुपको एक्का बन्दैछन् गच्छदार !

२०७६ असार २१ शनिबार १०:१८:०० मा प्रकाशित

काठमाडौं । सरकारको एकलौटी व्यवहार र छिमेकीप्रतिको असहिष्णुताका कारण मुलुकमा गम्भीर अनिष्टका संकेत देखा पर्न थालेका छन् । इतिहासमै दोस्रोपल्ट पूर्ण बहुमतको सरकार बनाउन सफल संसद्कै सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी र यसका अध्यक्ष केपी ओलीनेतृत्वको सरकारकै कारण हजारौं जनताको त्याग र बलिदानबाट प्राप्त राजनैतिक व्यवस्था नै समाप्त हुने संकेत देखा परेका छन् । 

यसमा कतिपय बेला सरकार र यसका हर्ताकर्तामा देखिने गरेको आडम्बरले मुलुकमा गणतन्त्रका नाममा नयाँ राजा उदाएको भन्दै जनता वर्तमान व्यवस्थाविरुद्ध मत बनाउने तयारी गरिरहेकै बेला नेपालको आन्तरिक राजनीतिमै प्रभाव पार्ने किसिमका कामको अभ्यास हुन थालेको छ । नेपालको शान्त वातावरणमाथि छिमेकीको षड्यन्त्रको गन्ध मिसिन थालेको संकेत मिलेको छ ।

नेपाली राजनीतिमा उति साह्रो महत्व नराख्ने उत्तरी छिमेकी राष्ट्र चीन र नेपाली जनताको आकांक्षा तथा यहाँका राजनैतिक दलले उठाउने गरेका मुद्दामा सदा सहयोगी बन्दै आएको दक्षिणी छिमेकी भारतसमेत वर्तमान सरकारले आफ्नो विदेश नीतिमा अख्तियार गरेको ‘जता मल्खु उतै ढल्कु’ जस्तो दोधारे चरित्रका कारण यतिबेला सरकारप्रति नै रुष्ट देखिएका छन् । गत मंसिरमा सरकार आफैं आयोजक बनेर काठमाडौमा सम्पन्न युनिभर्सल पिस फाउण्डेसनको कार्यक्रमकै कारण दुवै छिमेकी सरकारसँग सशंकित रहेकै बेला पछिल्लो समयमा नेपालले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा जस्केलाबाट समर्थन गरेपछि भने सरकारप्रति दुवै देश अझै बढी सशंकित हुन पुगेका छन् । 

नेपालमा बढ्दो पश्चिमा र अमेरिकी प्रभावलाई दुवै देश स्वीकार्न तयार नहुनु नै नेपाल गम्भीर राजनैतिक संकटको भूँमरीमा पर्दै जान लागेको संकेत हो । वास्तवमै यस्ता आशंकाले सार्थकता पाए ओली यो अवस्था ल्याउनका लागि प्रमुख जिम्मेवार मानिन्छन् र यो कलंकको टीका ओलीको निधारमा मात्रै हैन– सत्तामा रहेको नेकपा र त्यसको सिंगो नेतृत्वका निधारमा सजिने छ । 

संसद्मा सत्तापक्षकै प्रमुख सचेतकले मुलुक गम्भीर दुर्घटनामा पर्न सक्ने बताइरहेकै बेला प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पनि देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

 यसैको हाराहारीमा रहेर प्रतिनिधिसभाका पूर्व सभामुख तारानाथ रानाभाटले समेत यस्तो दुर्घटनाको संकेत गर्नु पक्केै पनि काकताली नपरेको हुनसक्छ । यसैबीच देशमा वर्गीय हिसाबले उठाइँदै आएका मुद्दा र तीसँग सम्बन्धित गुठी, नागरिकता, राहदानी, मिडिया काउन्सिल र सूचना प्रविधि र मानवअधिकार सम्बन्धमा बन्न लागेका कानुनका विषयमा हुँदै आएका विरोध र खबरदारीका कारण पनि वर्तमान सरकारको छवि जनताबीच धुमिल हुँदै गएको एवं सरकार तथा अन्य विभिन्न सरकारी निकायमा बढ्दो भ्रष्टाचार, शासकीय उत्ताउलोपनका कारण पनि व्यवस्थालाई लिएर जनतामा नकारात्मक सन्देश प्रवाह भइरहेको वर्तमान अवस्थामा रचिने षड्यन्त्र सफल नहोलान् भन्न सकिन्न ।

 विगतका धेरै उदाहरणले यस्ता षड्यन्त्रले सार्थकता पाउने कुराको संकेत गर्छन् । यस्तै संकेत पाएर नै होला– गत मंगलवार काठमाडौंमा भएको पूर्व सांसद मञ्च नेपालको १९ औ साधारणसभामा पूर्व सभामुख तथा पूर्व सांसद मञ्च नेपालका पूर्व अध्यक्ष तारानाथ रानाभाटले सरकारमा निरंकुश चरित्र हावी भएको भन्दै सबैलाई मिलाएर अघि बढ्न सुझाव दिएका थिए । रानाभाटले मुलुक दुर्भाग्यपूर्ण चरणमा प्रवेश गरेको भन्दै पूर्व सांसदहरुले गम्भीर अध्ययन गरेर सरकारलाई ठोस सल्लाह दिनुपर्ने बताएका थिए । यस्तै सोही कार्यक्रममा बोल्दै पूर्व सभामुख दमननाथ ढुंगानाले संविधानको रक्षा गर्नको राजनीतिक दलबीच एकता हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताएर संविधानै नष्ट हुने दिशातर्फ मुलुक अघि बढेको संकेत गरेका थिए । 

यसो त मुलुक गम्भीर दुर्घटनातर्फ अघि बढेकोमा सत्ताधारी दलकै अर्का अध्यक्ष प्रचण्डले पनि बेला÷बेलामा सार्वजनिक मञ्चबाटै अगाह नगर्नुभएको हैन तर उनको यो चेतावनीलाई सत्ताको सिंगौरीका रूपमा बुझिदिनाले पनि समस्या झनै जटिल बन्दै गएको देखिन आएको छ । केही समयअघि भारत भ्रमणमा रहेका पत्रकारलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाललाई हिन्दू राष्ट्र भएको देख्न चाहेको अभिव्यक्ति दिनु र भारतका विदेश सचिव विजय गोखलेले नेपाली पत्रकारलाई बताएको, ‘इतिहासलाई बिर्सेर अघि बढ्न’ भन्ने भनाइले कूटनैतिक महत्व राख्ने विश्लेषकहरुको धारणालाई स्वीकार गर्ने हो भने यी दुवै भनाइमा गहिरो रहस्य लुकेको छ । 
 

भ्रममा छ सरकार

अघिल्लोपटक प्रम हुँदा भारतको विरोधलाई राष्ट्रवादको जामा पहिल्याएकै कारण देशमा वाहवाही लुटेका र चीनको सहयोगले मुलुकको विकासलाई गति दिन सकिन्छ भन्ने मान्यता पालेका ओली पछिल्लो समय चीनको समेत विश्वास जित्न असफल भएका छन् । 

भारत चिढिए चीन छँदैछ भन्ने मान्यताविपरीत वर्तमान सरकारका क्रियाकलापकै कारण कुनैबेला ओलीका लागि सञ्जीवनी बन्न पुगेको चीनसमेत यतिबेला ओली सरकारप्रति वक्र बन्न पुगेको छ । भारतले त यसै पनि ओलीलाई पछिल्लो समय शंकाको घेरामा राख्दै आएको थियो भन्ने कुरालाई नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ समारोहमा दिल्ली पुगेका ओलीले पाएको सत्कारको स्वरूपले नै छर्लंग पारिदिएको छ । 

नेपालमा चिनियाँ गतिविधि बढेको भारतलाई पच्दैन तर भारतीय गतिविधिलाई चिनियाँ पक्षले आफ्नो चासोका रूपमा समेटेको छैन । उसको नेपाल चासो भन्नु नै यहाँ हुने पश्चिमा र अमेरिकीको गतिविधि हो । पछिल्लो समय नेपालमा बढ्दो पश्चिमा मुलुक र अमेरिकी चासोकै कारण यतिबेला नेपाल मामिलामा भारत र चीनको समान धारणा बनेको हुन सक्नेतर्फ कूटनैतिक अध्येताहरुले संकेत गरेका छन् । भारतीय राजनीतिमा भाजपाको प्रभावशाली उदय र उसले बोकेको हिन्दूवादी धारणाकै कारण नेपालमा बढ्दै गएको इसाईकरणकै कारण भारतको चासो बढेर गएको छ भने पश्चिमाले नेपाली भूमि प्रयोग गरेर आफ्नो मुलुकको शान्ति सुरक्षामा खलल पु¥याउन सक्ने निष्कर्षकै कारण यतिबेला नेपालका विषयमा दुवै मुलुक एउटै निर्णयमा नपुग्लान् भनेर भन्न नसकिने स्थिति रहेको कूटनीतिज्ञहरुको तर्क छ । यसका लागि उनीहरुलाई एउटै ठाउँमा उभिनका लागि शांघाई सहयोग संगठनको मञ्चले उत्पे्ररित गरेको तर्क दिन्छन् । 

के हो शांघाई सहयोग संगठन

सन १९९६ अप्रिल २६ मा चीन, रुस, कजाकस्तान र किगिस्तानबीच द्विपक्षीय सहयोग लेनदेन गर्न चीनको व्यावसायिक शहर शांघाईमा एउटा सम्झौता भयो । यसलाई शांघाई–५ नामकरण गरिएको थियो । २००१ म आएर यो समूहमा उज्वेकिस्तान पनि छिरेपछि यसको नामाकरण शांघाई– ६ गरियो र युरेसियाली क्षेत्रमा सदस्य राष्ट्रबीच विकास, आर्थिक सैनिक सहयोग बढाउने घोषणापत्रसमेत यो शिखर बैठकमा जारी जरिएको थियो । यही समूहमा सन २०१७ जुन ९ मा कजाकस्तानको राजधानी अस्तानामा भएको शिखर सम्मेलनमा भारत र पाकिस्तानको पनि सहभागिता रह्यो ।

यसै वर्ष दुवै देशले शांघाई ६ को सदस्यता लिएपछि भने यसको नाम परिवर्तन गरेर शांघाई सहयोग संगठन बनाइयो । सन २०१७ देखि भारत अविच्छिन्न यसका विभिन्न बैठकमा सहभागिता जनाउँदै आएको छ र यसै संगठनमार्फत आएका विभिन्नखाले ठूला परियोजना हाल भारतमा सञ्चालित छन् । पछिल्लो समय गत जुन १३ र १४ मा किगिजस्तानको राजधानी बिस्केकमा आयाजित शांघाई सहयोग संगठनका सदस्य राष्ट्रको शिखर बैठकका क्रममा चीन र भारतबीच सम्पन्न ‘साइडलाइन’ वार्तामा नेपाल रणनीति बनेको समाचार स्रोतको दाबी छ । यसअनुसार नै दुवै देशको सहमतिमा नेपालमा सम्भावित परिवर्तनतर्फ घटनाक्रमले संकेतसमेत गर्न थालेका छन् । 

 जानकार सूत्रका अनुसार, सम्भावित परिवर्तनविरुद्ध हुन सक्ने जनआक्रोशलाई थेग्न सक्ने व्यक्तिको खोजी यतिबेला भइरहेको छ ।   यसका लागि पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व सभामुख तारानाथ रानाभाटसम्मलाई प्रयास गरिएकोमा दुवैबाट देश र जनताविरुद्ध नजाने किसिमको जवाफ पाएको थियो ।

 यसै कारण योजना थाती रहेकै बेला काँग्रेस उपसभापति विजय गच्छदार दिल्ली पुगेका छन् । आवरणमा गच्छदारको यो यात्रा राजस्थानको माउण्ट आबुस्थित ब्रह्मकुमारी राजयोग केन्द्रको भ्रमण बताइएको छ । काठमाडांैबाट जिल्लातिर जाने भन्दै विराटनगर पुगेका गच्छदार पश्चिम बंगालको वाग्डोगरा विमानस्थल प्रयोग गर्दै गत शुक्रवार दिल्ली उडेका थिए । विमर्शको समाचार विश्लेषण अनुसार, ‘आटर््स अफ लिभिङ’ का संस्थापक रविशंकरको मध्यस्थतामा भारतीय संस्थापन पक्षले कुराकानीका लागि गच्छदारलाई दिल्ली बोलाएको समाचार सूत्रको दाबी छ । गच्छदार दिल्लीको कार्यक्रम सकेर त्यताबाट सीधै अमेरिका जाने बताईएको छ । उनी अमेरिकाको क्यालिफार्नियामा बस्दै आएका आफ्ना जेठा छोरा भेट्न जान लागेका हुन् ।
 

ताजा खबर