के गर्ला त कांग्रेस बैठकले ?

२०७६ असार २० शुक्रबार १५:५५:०० मा प्रकाशित

मुख्य विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आउने आइतबार सुरु हुँदैछ । राष्ट्रिय जागरण अभियानको एक महिने पहिलो चरण सम्पन्न भई दोस्रो चरण सुरु हुन लागेको, संघीय र प्रादेशिक संसदका अधिवेशन चलिरहेको र सरकार एकपछि अर्को विवादास्पद निर्णयमा फसिरहेको अवस्थामा विपक्षी दलको बैठक हुन लागेको छ । कांग्रेस आफैँ आन्तरिक विवादको भुमरीमा छ । पार्टी नेतृत्वले जागरण अभियान सफल भयो भने पनि महाधिवेशन पर सार्ने रणनीतिक चालबाजी भनेर अर्को पक्षबाट असन्तोष प्रकट भएको छ । संस्थापन र विपक्षी गुटहरू आपसमा आरोप प्रत्यारोप गर्दैछन् । 

राज्य प्रणालीमा निर्वाचनबाट संघीयता कार्यान्वयन भएको दुई वर्ष भइसक्दा कांग्रेस संगठनहरू पुरानै संरचनामा छन् । राज्य प्रणालीअनुसार पार्टीका संरचना नहुँदा पहिलो चरणको जागरण अभियान प्रभावकारी हुन सकेन भन्ने अनुभव नेताहरूले नै सुनाएका छन् । कांग्रेसमा सबैभन्दा सशक्त र सक्रिय मानिने नेवि संघ महाधिवशेन हुन नसकेर विघटित अवस्थामा छ । अन्य कतिपय जनवर्गीय संगठनहरू निष्क्रियसरह छन् । केन्द्रीय समितिको कार्यकाल सकिन लाग्दा पनि कतिपय विभागहरू गठन नै भएका छैनन् । केन्द्रीय कार्य सम्पादन समिति नै गठन भएको छैन । कतिसम्म भने केन्द्रीय समितिले समेत पूर्णता पाएको छैन । 

कांग्रेसका अगाडि राष्ट्रिय मुद्दाहरू पनि त्यतिकै छन् । निर्वाचन क्षेत्रमा सांसदलाई दिइएको तजबिजी विकास बजेटको कांग्रेसकै कतिपय सांसदहरूले चर्को विरोध गरेका छन् । कांग्रेसकै केही सांसदका उक्त बजेटका पक्षमा छन् । कांग्रेस संसदीय दल र पार्टीको आधिकारिक धारणा भने प्रष्ट छैन । यो बजेटका बारे कांग्रेसले प्रष्ट आधिकारिक निर्णय गर्नुपर्छ– सांसदले बजेट लिने कि नलिने । संसदीय दल र पार्टी मौन रहन्छन् भने संसदमा केही सांसदले विरोध गर्नुको अर्थ हुँदैन । सरकारका विवादास्पद निर्णयहरू छन् । विवादास्पद विधेयकहरूको चाङ छ । संक्रमणकालीन न्याय ओझेलमा परेको छ । सरकार एकपछि अर्को गर्दै नियन्त्रणमुखी हुँदैछ । 

राष्ट्रिय मुद्दाहरूमा बृहत् छलफलद्वारा विपक्षी दलको आधिकारिक धारणा आउनु आवश्यक हुन्छ । संसदीय लोकतन्त्रमा विपक्षी दल सरकारभन्दा कम जिम्मेवार हुँदैन । कांग्रेसले छाया सरकार बनाएको छ । यसको प्रभाव कस्तो छ, संयोजकहरूले उद्देश्यअनुरूप काम गर्न सकेका छन् कि छैनन् भन्नेमा पनि समीक्षा गर्नु आवश्यक छ । सरकारलाई खबरदारी गर्ने जिम्मेवारी विपक्षको हो । विपक्षले जिम्मेवारी पूरा गर्न सकेन भने सरकार पनि गैरजिम्मेवार हुन्छ । विपक्षी कांग्रेसको बैठक उसका आन्तरिक विषय र राष्ट्रिय विषयहरू दुवै दृष्टिले महत्वपूर्ण हुनेछ । हिमालय टाईम्स दैनिकले लेखेको छ- परिस्थितिको गम्भीरता बुझ्न कांग्रेस नचुकोस् ।

पार्टीमा स्वस्थ आन्तरिक प्रतिस्पर्धा कायम राखेर आफ्नो राष्ट्रिय भूमिका प्रभावकारी बनाउनु पर्ने महत्वपूर्ण घडीमा छ विपक्षी कांग्रेस । यसकारण आइतबार सुरु हुने बैठकको बढी महत्व छ र यसैअनुसार नजर छ । 

ताजा खबर