चरा पर्यटनमा आकर्षण

२०७६ असार २० शुक्रबार १३:१४:०० मा प्रकाशित

पोखरा, १९ असार । चराहरूको संरक्षण एवम् पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा दोस्रो चरा उत्सव पोखरामा शुरु भएको छ ।

चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवम् यसको संरक्षण समेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव आयोजना गरिएको हो ।

पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालका अनुसार उत्सवका क्रममा चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालीम, चरा संरक्षणमा देखिएका चुनौती र उपायलगायतका विषयमा सरोकारवालाबीच छलफल गरिनेछ ।

उत्सवको पहिलो दिन विभिन्न विद्यालयका विद्यार्थीबीच चरा, समुदाय र पर्यटन शीर्षकमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता आयोजना गरिएको र उक्त प्रतियोगितामा २७ जना विद्यार्थीले भाग लिएको उनले जानकारी दिए। हिजो बिहीबारदेखि शुरु भएको उत्सव भोलिसम्म जारी रहनेछ ।

“उत्सवको दोस्रो दिन चित्रकला प्रतियोगितामा तयार गरिएका तस्वीरका साथै विभिन्न फोटोग्राफरले खिचेका चराका फोटो प्रदर्शनीमा राखिएको छ”, उनले भने, “फोटो प्रदर्शनीसँगै विभिन्न स्थानमा पाइने चरा एवम् चरा पर्यटनका विविध पक्षबारे सर्वसाधारणले जानकारी हासिल गर्नेछन् ।”

चरा उत्सवको आफैँमा महत्व रहेको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल पर्यटनका विभिन्न विधामध्ये चरा पर्यटन पनि एक महत्वपूर्ण विधा भएको धारणा राखेका छन् । नेपालमा आउनेमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकाले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई ध्यानाकर्षण गर्नु पनि उत्सव आयोजनाको उद्देश्य भएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए ।

पर्यटन व्यवसायी र अन्यलाई यो विषयमा बुझाउन सके चरा पर्यटन बढाउन सहयोगी हुने घिमिरेको भनाइ छ । उनका अनुसार पोखरामा ४६७ प्रजातिका चरा रहेको तथ्याङ्क छ । पोखरा र आसपासको क्षेत्रमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर अत्यधिक पाइन्छ भने यस क्षेत्रलाई मांसाहारी चराको राजधानी मानिन्छ ।

चरा उत्सवका क्रममा नेपालका चराविद्, चरा संरक्षणकर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिबीच चरा संरक्षण, यसमा देखिएका चुनौती एवम् उपाय लगायतमा विभिन्न चरणमा छलफल हुने उनले जानकारी दिए । चरा चिनाउने चरा गाइडले दिनमै एक सय अमेरिकी डलर शुल्क लिने भएकाले पनि यस्ता पर्यटकको विकास गर्न सके धेरै युवाले रोजगार पाउने देखिएको छ ।

पोखराका अष्ट्रियन क्याम्पबाट अङ्ग्रेजी महीनाको सेप्टेम्बरदेखि डिसेम्बर महीना शिकारी प्रजातिका चरा बसाइँसराइ गरेको देख्न पाइन्छ । चरा पर्यटनका माध्यमबाट पर्यटकको बसाइ लम्ब्याउन सकिने चरा संरक्षण एवम् पर्यटनमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार कृष्णमणि बरालले बताए । “कतिपय पर्यटक त महिनौँ बसेर चरा हेर्ने सोचले आएका हुन्छन्”, उनले भने, “चरा पर्यटनको विकास राज्यको पनि प्राथमिकतामा पर्नु पर्दछ ।”

पछिल्ला समयमा चरा पर्यटनको विकासका लागि समुदायको सक्रियतासमेत बढेको छ । नेपालकै पहिलो मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) क्षेत्रमा ठूलो सङ्ख्यामा चरा पाइने भएकाले उक्त क्षेत्रमा चरा पर्यटनको विकासका लागि चरा पहिचान गर्न थालिएको मिलेनियम ट्रेक सञ्चालक समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामाबाछा जोड्ने ७२ किलोमिटर दूरीको उक्त पदमार्ग क्षेत्रमा अत्यन्त रमणीय घना वन जङ्गलका साथै विभिन्न प्रजातिका चरा पाइने भएकाले पोखरा पन्छी समाजसँगको सहकार्यमा चरा पहिचान एवम् गणना गर्न थालिएको उनले जानकारी दिए ।

 

ताजा खबर