दिपक मनाङे र नेकपाको भविष्य

२०७६ असार १९ बिहीबार १६:१६:०० मा प्रकाशित

आतंक र गुण्डागर्दीको छवि बनाएका दीपक मनाङे अर्थात, राजिव गुरुङ सत्तारुढ दल नेकपा प्रवेश गरेपछि नेपालको राजनीतिक बृत्तमा धेरै चर्चा परिचर्चा र टिकाटिप्पणीहरु उठ्न थालेका छन् । यसले एउटा बहशको विषय पनि सिर्जना गरेको छ । 

विशेषतः नेकपा भित्र जो, बैचारिक राजनीति गर्छन्, विचारका मुद्धाहरु निरन्तर पार्टीभित्र उठाउँछन् र पार्टीलाई एउटा स्वच्छ विचार निर्माणको विश्वविद्यालय बनाउनु पर्ने धारणा बिगतदेखि राख्दै राखएका छन्, उनीहरु मनाङे जस्ता सांसदहरु नेकपामा प्रवेश गरेकामा पटक्कै खुशी छैनन् । 

मनाङको प्रदेशसभा ख बाट निर्वाचित मनाङेको नेकपामा प्रवेश पश्चात गण्डकी प्रदेशमा नेकपाले संख्यात्मक हिसावमा बहुमत त प्राप्त गरेको छ नै तर मनाङेको सदनमा बोल्ने एजेण्डा, उनले बोकेको राष्ट्र निर्माणको विचार, संविधान संशोधनका एजेण्डा, संघीयता कार्यान्वयनको सवाल, गुण्डागर्दी र हप्ता असुलीको अन्त्य र सत्तारुढ दल नेकपाको बहुदलीय जनवादको सिद्धान्तसँग कत्तिको मेल खान्छ ? वा कत्त्तिको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितीहरुको बारेमा जानकार र जिज्ञासु छन् उनी ? आजैदेखि यो प्रश्नले नेकपालाई घोच्न थालिसकेको छ ।

यसै सन्दर्भमा नेकपाका केन्द्रीय सदस्य एवम् प्रखर बक्ता तथा पूर्व अखिल (क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमा मनाङे र मनाङे प्रबृत्तिको बारेमा घोचपोच गर्दै स्ट्याटस लेखेका छन् । उनले पार्टीमा पहिल्यै अनगिन्ती मनाङेहरु भएको उल्लेख गर्दै एउटा अर्को मनाङे थपिएकोमा के को कोकोहोलो ? भन्दै ब्याङ्ग्य प्रहार गरेका छन् ।

वर्तमान नेकपाको बिराशत गौरवपूर्ण छ । ज्यानको बाजि मारेर, परिवारका सदस्यहरु गुमाएर तत्कालीन नेकपा माओवादीले जनयुद्ध गर्यो । यो सामान्तवादी, पुरातनवादी र तानाशाही अनि निरंकुश राजतन्त्रबिरुद्ध जनअधिकार, लोकतन्त्र, संघीयता, गणतन्त्र धर्मनिरपेक्षका लागि चालिएको कदम थियो । अझै पनि समाजमा रहेका भुरे टाकुरे राजाहरुको अन्त्य गर्नुपर्ने छ । र, भष्टाचारको अन्त्य गर्दै सुशासनका लागि वैचारिक मतभेदहरु चिर्दै अघि बढ्नु पर्ने छ । यस्तो अवस्थामा मनाङेहरु कुन कित्तामा उभिन्छन् र उनीहरुको यसबारेमा के धारणा छ त्यो आजैदेखि स्पष्ट हुन जरुरी  छ ।

नेकपाकै अर्को पार्टी अर्थात, तत्कालीन नेकपा एमालेको पनि इतिहास गौरवपूर्ण छ । यसले पनि झापा आन्दोलनदेखि पटक पटक जनबिद्रोह र जनआन्दोलन गरेको छ । राजतन्त्र र पञ्चालयतको बिरोध गर्दा स्वयम् वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली  १० पटक भन्दा बढी गिरफ्तार हुँदै १४ वर्ष जेल जीवन व्यतित गरेका । वर्तमान नेकपाका अधिकाँश शीर्षस्थ नेताहरु राजनीतिमा लागेकै कारण र राज्य व्यवस्थाको बिरोध गरेकै कारण जेलका चिसा छिँडिमा बस्नु परेको थियो ।

राजीव अर्थात, मनाङेको प्रवेशसँगै गण्डकी प्रदेशमा नेकपालाई बहुमत मिलेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खुसी व्यक्त गरेका छन् । तर मनाङेको प्रवेशले संख्यात्मक रुपमा छलाङ मारेजस्तै गुणत्मक रुपमा पनि छलाङ मार्न सकेको खण्डमा बास्तविक रुपमा आम जनताले खुशी मान्ने छन् । स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका राजीवको राजनीतिक चरित्र, व्यबहार, आचरण, विचार परिपक्व हुन जरुरी छ ।

यसका लागि नेकपाले पनि विचार निर्माणका लागि गुट र उपगुटको अन्त्य गर्दै आन्तरिक तथा खुला प्रशिक्षण कार्यक्रमहरु संचालन गर्नु जरुरी छ ।  झिल्को डट कममा फणीन्द्र फुयाल ज्वाला लेख्छन् - नत्र भने आज मनाङेहरुलाई पार्टी प्रवेश गराउँदा खुशी भएको प्रदेश र केन्द्र सरकार भोली उनीहरु अर्कै पार्टी प्रवेश गर्दा चुकचुकाउनु पर्ने दिन पनि चाँडै नआउला भन्न सकिन्दैन । 

ताजा खबर