कंगाल बनाउने ९ वास्तुदोष

२०७६ असार १९ बिहीबार १३:४१:०० मा प्रकाशित

एजेन्सी । मानव जीवनमा संघर्षको एउटै लक्ष्य हुने गरेको छ, खुशी तथा सुखी जीवन । यसको लागि सबैले अहोरात्र काम गर्ने देखि लिएर आवश्यक पर्ने हरेक प्रयास गर्ने गरेका हुन्छन् । मेहनतका बावजुद पनि अपेक्षाकृत सफलता नपाउँदा भने मानिसले भाग्यलाई दोष दिने गरेका छन् ।

पछिल्लो समय नेपालमा वास्तु सम्बन्धी चासो तथा चर्चा हुने गरेको छ । घरको शक्ति सन्तुलनलाई मिलाउनको लागि प्रयोग गरिने शास्त्र भएकोले घर बनाउनु भन्दा पहिले देखि नै वास्तुको विषयमा चनाखो हुने गरेको पाइएको छ । कस्तो जग्गामा घर बनाउने, कुन दिशातर्फ घर फर्काउने, कुन दिशातर्फ सुत्ने कोठा तथा भान्छाभर बनाउने विषय अहिले अति नै चर्चित छ ।

यी सबै वास्तुका आवश्यक तत्व मिलाउन प्रयासरत रहँदा रहँदै पनि कतिपय गल्तीका कारण आफ्नै घरमा वास्तुदोषलाई स्थान दिइरहेका हुन्छन् । जसले मानिसलाई कुनै गल्ती बिनानै कंगाल बन्ने दिशातर्फ लगिरहेको हुन्छ । तिनै केहि वास्तु दोषको बारेमा यहाँ चर्चा गरिएको छ ।

१. फुटेको वस्तु

टुटेको तथा फुटेको शिशा, भाँडाकुँडा, सजाउने सामग्री, फोटोफ्रेम, इलेक्ट्रोनिक वस्तु घरमा रहँदा वास्तुदोष लाग्ने बताईन्छ । यी वस्तुको प्रयोग पनि खासै नहुने तर फाल्न माया लागेको कारण घरमा राखिइँदा यसले नकारात्मक उर्जा दिने वास्तुशास्त्रले बताउने गरेको छ । यसको कारण मानिसको सञ्चित धन नोक्सान हुँदै जाने हुन्छ ।

यसको दोष निवारणका लागि अविलम्ब यस्ता वस्तुलाई ठेगान लगाउन आवश्यक रहेको बताईएको छ ।

२. माकुराको जालो

परापूर्वकाल देखीनै घरमा माकुराको जालो हुनुलाई अशुभ मानिएको छ । मानिस बस्ने घरमा माकुराको जालो हुनु हुँदैन भन्ने पुरानो मान्यतालाई वास्तुले पनि अनुशरण गरेको छ । माकुराको जालो हुनुले भएको धनको नाश हुनुको साथै अनावश्यक ऋण लाग्ने हुनाले यस्तो वास्तुदोषलाई तुरुन्तै निवारण गर्न सुझाइन्छ ।

३. गलत तस्विर

कतिपयले घरमा युद्ध सम्बन्धि तस्विर राख्दै सुन्दरता बढाउने गरेको पाइन्छ । वास्तु शास्त्र अनुसार युद्ध तथा युद्धको तस्विरबाट नकारात्मक उर्जा प्रवाह हुन्छ । यस्ता तस्विर राख्दा घरमा बालबालिकाहरु झगडालु तथा रिसाहा हुने बताईन्छ । त्यस्तै डुब्दै गरेको जहाज, जंगली जनावरको चित्र, काँडा भएको बोट बिरुवाको चित्र जस्ता तस्विर वास्तु अनुकुल नभएको बताईएको छ । यसले मानसिक शान्ती घटाउनुको साथै धनको पनि नोक्सानी गर्ने बताईन्छ ।

४. फाटेको कपडाको पोको

फाटेको टालाटुलीहरु काम लाग्छ भन्दै पोको पार्दै राख्ने स्वभाव पनि वास्तुदोषको कारण हुने गरेको छ । यी पुराना कपडाहरुले घरमा झै झगडालाई बढावा दिने उर्जा उत्पन्न गर्ने गर्दछ । यसको लागि ति कपडाहरु आवश्यक व्यक्तिलाई दान गर्नु उपयुक्त हुने बताईन्छ । अन्यथा धनको नोक्सानी सहनुको विकल्प रहँदैन ।

५. थोत्रो कवाडी सामान

कवाडी सामानले पनि घरमा नकारात्मक उर्जा दिने वास्तुशास्त्रको कथन छ । खिया लागेको डन्डी, पुराना बोतल, बिग्रेको ब्याट्रि जस्ता सामानलाई बेलैमा हटाउनु उपयुक्त हुन्छ । यी सामान अन्ततः धनको अनावश्यक नोक्सानीको कारक बन्ने गरेको छ ।

६. बिग्रेको दराज

घरको सामान वा पैसा राख्ने दराज बिग्रेको, कुच्चेको, तथा ढोका नै बन्द नहुने अवस्थामा छ भने यिनलाई हटाउनु नै उपयुक्त हुन्छ । यी वस्तुका कारण घरमा वास्तुदोष रहि सम्पत्तीको अनावश्यक नोक्सानी हुने बताईन्छ ।

७. भगवानको बिग्रेको प्रतिमा

भगवानको आस्था छ भन्दै फुटेको मूर्ति, च्यातिएको तस्विर राख्नु पनि वास्तुदोषको एक मुल कारण रहेको बताईन्छ । यसको कारण अनेक पारिवारिक समस्या आउन तथा धनको हानी हुनसक्ने हुनाले यस्ता तस्विर वा मूर्तिलाई पवित्र नदीमा लगेर सेलाइ दिनु उपयुक्त हुने सुझाव वास्तुशास्त्रीहरुले दिने गरेका छन् ।

८. घर सजाउने गलत सामान

घरलाई अरुको भन्दा भिन्न तथा आकर्षक देखाउने भन्दै कतिपयले काँडा भएको विरुवा, नक्कली फुल जस्ता सामानहरुले घर सजाउने गरेका छन् । यी वस्तुका कारण परिवार बिचको सम्बन्धमा तिक्तता आउने तथा धनको हानी हुनाले यस्ता वास्तु दोषका कारकहरुको बेलैमा निदान गरेमा जीवन सुखी हुने वास्तुको निष्कर्ष रहेको छ ।

९. बिग्रेको टेबल र कुर्सी

फुटेको तथा भाँचिएको टेबल तथा कुर्सी प्रगतीको बाधक तथा धन नासक मानिन्छ । वास्तुदोष सिर्जना गर्ने यस्ता वस्तुलाई हटाउन सकेमा प्रगती गर्न सकिने वास्तुको तर्क रहेको छ । त्यस्तै बैठकमा राखिने सोफा पनि नभाँचिएको तथा सफा हुनुपर्ने सुझाव दिइन्छ । ती सोफा तथा कुर्सीलाई राम्रोसँग बाहिरि ‘कभर’ ले छोप्दा सकारात्मक उर्जा निस्कने बताईन्छ ।

वास्तुदोष हटाउन यस्ता सामान्य तरिका अपनाउन सकेमा जीवन सुखी हुने वास्तु शास्त्रको ठम्याइ छ । मेहनत गरेर मात्र जीवन सफल नहुने भएकोले यी विषयमा चनाखो भइ मेहनतलाई निरन्तरा दिन सके सफलता पाउन बेर नलाग्ने विश्वास रहेको छ ।

 

ताजा खबर