राजनीतिमा आयाराम गयाराम : बाबुराम

२०७६ असार १७ मंगलबार १७:१२:०० मा प्रकाशित

राजनीतिमा एक समय मिडियाबाट धेरै नै खोजी हुने नेता डा. बाबुराम भट्टराई आजभोलि मिडियामा छाइरहनका लागि आफै अनेकौं मुद्दा र कामको सिर्जना गरेर आफ्नो अस्तित्व देखाइरहेका छन् । निर्वाचनमा भएको धेरै ठूलो पराजय र आफूले निर्माण गरेको पार्टीबाट नेता तथा कार्यकर्ताहरुको निरन्तर बहिर्गमनले निकै नै कमजोर बनेपछि डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसँग एकीकरण गरे ।


पार्टी एकीकरणपछि पनि आफूले भनेजस्तो काम नभएकैले होला मिडियामा छाइरहनका लागि अनेकौं लफडा गरिरहेका छन् । उनी कहिले हलो जोत्न गोरखा पुग्छन् त कहिले मधेसी भेषभुसामा हिसिलासँगै सामाजिक सञ्जालमा छाउँछन् । कहिले खसान साम्राज्यको कर्णाली पुगेर लवेदा सुरुवाल भिर्छन् । उनी यतिसम्म गर्छन् कि हास्य ब्यङ्ग्यकार मनोज गजुरेललाई ‘डमी प्रचण्ड’ बनाएर टेलिभिजनमा मनको तीतो पोखेर मनोरञ्जनको साधन बन्न पनि भ्याउँछन् । 
बाबुरामको विचलन

नेपालको राजनीतिक परिवेशमा बाबुरामले बेलाबेलामा मनोरञ्जन दिए पनि उनीभित्र इष्र्या, इख र कुण्ठाको आगो दन्केको छ । गमक्क हौसिँदै नयाँ शक्ति नामको जुन वैकल्पिक शक्ति बनाउन खोजे त्यो आफैं विघटन नै भयो । 

नयाँ त भएन भएन, पुरानो नहुँदै भङ्ग भयो । त्यसपछि उनले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग बचेखुचेका कार्यकर्ता लगेर मिलान गरे । तर, मिल्ने वित्तिकै खटपट सुरु भएको छ । स्थिति यही रहिरहे पार्टी फुटेमा पनि आश्चर्य नहुने समाजवादी पार्टीभित्रको अन्तरविरोधलाई नजिकबाट नियालिरहेकाहरु बताउँछन् । एउटै पार्टी र विचारमा बस्नै नसक्ने बाबुरामको प्रवृत्ति कतिबेला ‘आया बाबुराम’ कति बेला ‘गया बाबुराम’ हुने हो ठेगान छैन ।

संवैधानिक सम्बाद समितिको अध्यक्ष भएर संविधान घोषणा गरेको जश लिने बाबुरामले लगत्तै संविधान अपुरो भएको अर्को जश लिन मालश्री धुन पनि बजाउन थालिहाले । संविधान घोषणाको धुन बजिरहेकै बखत जनकपुर पुगेर संविधान अपुरो भएको राग अलापे । 

यतिखेर त्योभन्दा बढी राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड सुझाव उच्चस्तरीय आयोगले प्रस्ताव गरेको संघीय संरचना दश जोड एकको मुद्दा उछालेर लोकप्रिय हुन खोजेका छन् । एउटा व्यवस्था संस्थागत नहुँदै त्यसलाई भत्काउने बाबुरामको कर्मले नेपालको राष्ट्रिय राजनीतिलाई कहाँ पु¥याउँछ उनै ‘राम’ (बाबुराम) जाने ।

समाजवादी नेताको शङ्का

नयाँ शक्तिसँग पार्टी एकीकरण गरेपछि फुटको सम्भावना हटाउने योजनाका साथ तुहिने अडकल गरिएको थियो । 
तर, संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ शक्ति पार्टीसँग एकीकरण गरी समाजवादी पार्टी बनाए पनि पार्टी फुटको सम्भावनालाई पञ्छाउन नसकेको पार्टीभित्रका नेताहरु बताउँछन् । 

सत्ताधारी नेकपाभित्रको आन्तरिक द्वन्द्वका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयलाई महत्व नै दिएका छैनन् । नेकपाभित्रको यो द्वन्द्वले समाजवादी पार्टीलाई नराम्रोसँग गिजोलेको छ । सत्ताधारीले संविधान संशोधनको कुरा नकोट्याइदिने, यता समाजवादीका प्रतिपक्षी र नयाँ शक्तिका नेताहरु यही बुँदामा छिनोफानो गर्ने मनसुवामा छन् ।

पार्टीभित्र कमजोर हैसियतका तर पार्टी फुटाउन खोज्ने तत्कालीन फोरमका नेताहरूका लागि गोलबन्द हुने बलिया नेताको रुपमा डा. भट्टराईलाई पार्टीका अध्यक्ष बनाएर भित्र्याएको समाजवादी पार्टीका अध्यक्ष यादवले बल्ल बुझ्न थालेको उनी निकटकाले बताउन थालेका छन् । राजपाका नेताहरूले पनि सरकार छाड्ने माग अगाडि तेस्र्याएपछि अध्यक्ष यादवलाई समस्या भएको उनीहरूको भनाइ छ ।

डा. भट्राईले यादवसँग एकीकरण गर्नु अघि फोरमको केन्द्रीय समिति बैठकमा संविधान संशोधनको एजेण्डा अगाडि बढाउने प्रक्रिया अगाडि बढाउनुपर्ने, होइन भने सरकार छोड्नु पर्ने माग उठेपछि अध्यक्ष यादवले यसको ठोस हल खोजिने विश्वास पार्टीका नेताहरूलाई दिएका थिए । त्यतिखेर ठोस हल खोज्ने र समान विचार भएका पार्टीहरूसँग एकीकरण गर्ने विषयमा पार्टीका नेता एक मत भएका थिए । उति नै बेला सरकार छाड्नु पर्ने धारणा राख्ने नेताहरूलाई वार्ता कमिटीको जिम्मेवारी दिइएको थियो ।

उपाध्यक्ष पार्टीका प्रतिपक्षी

गत असोजमा पार्टीले संविधानको समर्थन पनि नगर्ने, विरोध पनि नगर्ने नीति लिएपछि त्यो पार्टीका केही उपाध्यक्षहरूले असन्तुष्टि जनाएका थिए । उनीहरूले संविधानको विरोध गर्ने कार्यक्रम अघि सारेर अध्यक्ष यादवलाई चुनौती पनि दिएका थिए । त्यो समूहको नेताको रूपमा उपाध्यक्ष रेणु यादव थिइन् । उपाध्यक्ष रेणुलाई अर्का उपाध्यक्ष तथा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतले सघाएका थिए । पार्टीभित्रको यो समूहले संघीय सरकारबाट पार्टीले राजीनामा दिएर संविधान संशोधनका लागि आन्दोलन गर्नुपर्ने दवाब दिएको थियो । त्यतिबेला सरकार छाड्नुपर्ने पक्षधरलाई राजनीतिकरूपमा अल्मल्याउँदै ल्याएको कतिपय नेताको बुझाइ छ ।

तर यो समूह समाजवादी पार्टी बनेर डा. भट्टराई अध्यक्ष भएपछि सक्रिय भएको छ । यो समूहको नेता बन्नुमा भट्टराईले पार्टी एकीकरण अघि यादवलाई सरकार छाड्न गरेको प्रस्ताव मुख्य रहेको पार्टी निकट नेताले जनाएका छन् । सरकार छाड्नका लागि यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डसँग भेटेर स्पष्ट वार्ता गर्ने पार्टीभित्रका नेताहरूलाई बताएका छन् ।

साउने बैठक निर्णायक

समाजवादी पार्टीका निकट स्रोतका अनुसार पार्टी सरकारबाट हट्ने निर्णय पार्टीको साउनमा बस्ने केन्द्रीय समितिबाट गरिनेछ । साउनमा बस्ने पार्टीको केन्द्रीय समतिको बैठक अघि ओली र प्रचण्डसँग भेटेर संविधान संशोधनको विषयमा उनीहरूको धारणा लिइनेछ । 

उनीहरूको धारणा बुझेपछि सरकार छाड्ने वा नछाड्ने निर्णय हुनेछ । संविधान संशोधन हुने छाँट नआए यहीँबाट समाजवादी सरकारबाट बाहिरिनेछ । यसरी सरकार छाड्ने निर्णयसँग पार्टीले आन्दोलनको निर्णय गर्नेछ । समाजवादी पार्टी सरकार छाड्ने निर्णयमा पुगे राजपासँगको एकीकरण ठोस हुन सक्ने देखिएको छ ।

महतो वार्ताकार

राजपाका अध्यक्ष मण्डलको तर्फबाट अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई वार्ता समितिको संयोजक बनाइएको छ । समाजवादी पार्टीका अध्यक्ष यादवले महतोसँग दुई पटक लामो अनौपचारिक वार्ता गरिसकेका छन् । पार्टी नेताहरूका अनुसार दुबै पार्टी एकीकरणको 
निकट वार्ता पुगेको छ । तर राजपाका नेताहरूमध्येका केहीले उपेन्द्रको सरकारमा रहने लाइनको पक्षपोषण गरेकाले पार्टी एकीकरणपछि सरकार छाड्ने निर्णय गर्ने अडानमा उनी रहेका छन् ।

आग लगाकर जमालो दूर खडी

नेकपाभित्रको आन्तरिक किचलोले प्रधानमन्त्री ओलीले संविधान संशोधनको एजेण्डालाई अगाडि नबढाउनेमा राजपा र सपाका नेताहरू विश्वस्त छन् ।

पार्टीभित्र नै एकमत नभएकाले संविधान संशोधनको विषयलाई ओलीले फेरि बेवास्ता गर्ने देखिएको छ । पार्टी निकटका अनुसार साउनको बैठकबाट यादवले सरकार छाड्ने निर्णय नगरे पार्टी फुट्नेमा शङ्का छैन । सत्तारुढ पार्टीसँगको सहकार्य समाजवादीका निम्ति हिन्दी कहावत (उखान) ‘अंग्रेज कि नोकरी और बन्दर नचाना बराबर है’ अर्थात् विवादास्पद निर्णयको काम निप्टाउनु मुस्किल हुन्छ । यता बाबुरामको नयाँ शक्तिलाई के छ र ? हिन्दी कहावत ‘आग लगाकर जमालो दूर खडी’ (झगडा लगाएर अलग हुनु) भनेझैं सहज हुनेछ । (समयबद्ध साप्ताहिक)

ताजा खबर