नेवानिमा रणनीतिक साझेदार भित्र्याउन यस्तो छ चलखेल

२०७६ असार १७ मंगलबार १२:५९:०० मा प्रकाशित

काठमाडौं, १७ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि) मा रणनीतिक साझेदार भित्र्याउन चलखेल भइरहेको बुझिएको छ ।

महत्वाकांक्षी योजना सहित २४ अर्ब रुपैंयाँ लगानी गर्दै एयरबस कम्पनीको दुईवटा वाइडबडी जहाज किनेको नेवानिलाई ती जहाज नै घाँडो भएको व्यवहार देखाइने गरिएको छ । जहाजहरुको संचालन खर्च अधिक रहेको र आर्थिक अवस्था कमजोर रहेको भन्दै निगमको व्यवस्थापनले कर्मचारी संचय कोष र नागरिक लगानी कोषको ऋण तिर्न नसक्नुमा पनि वाइडबडी जहाज नै मुख्य कारण रहेको तर्क गर्दै आएको छ ।

पछिल्लो समय निगमको व्यवस्थापन नै निजी कम्पनीलाई जिम्मा लगाउने चलखेल भैरहेको आरोप व्यवस्थापनमाथि लाग्ने गरेको छ । जहाजलाई नयाँ गन्तव्यमा नउडाउने, आन्तरिक उडान पूर्णरुपमा असफल पार्ने, संचालन खर्चमा नियन्त्रण नगर्ने, सम्भाव्यता भएको र हाल उडान भएका गन्तव्यमा उडान नथप्ने जस्ता घटनाक्रमले ती आरोपको पुष्टी भइरहेको देखिएको छ ।

किन कड्किए प्रधानमन्त्री

निगमको ६१ औं वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेवानिलाई एक रुपैंयाँ पनि सहयोग नगर्ने भन्दै निगम व्यवस्थापनलाई चेतावनी दिएका छन् । उनले सोमबारमा त्यहाँ बोल्दै विमानको व्यवस्थापन गर्न र आफ्नो क्षमता नभए रणनीतिक साझेदार ल्याउन सुझाउनुले पनि निगमको साँचो निजी कम्पनीलाई बुझाउने रणनीति सफल हुँदै गइरहेको बुझिएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यसअघि नै निगमको आर्थिक अवस्थाका कारण नियमित किस्ता तिर्न असक्षम रहेको र सरकारको मुख ताक्नुको विकल्प नरहेको बताइसकेका छन् ।

प्रधानमन्त्री ओलीले पनि २० अर्ब वा ३० अर्ब दिँदैमा सुरुसुरु विमान उड्न सक्ने होइन भन्दै निगमको समस्या व्यवस्थापनमै भएको दाबी गरेका  छन् । आफैंले नियुक्त गरेका कार्यकारी अध्यक्ष खरेललाई भने उनले दोष लगाउन सकेका छैनन् । ‘निजी वायुसेवा कम्पनी नाफामा गएको तर निगम सरकारी भएकोले यस्तो भएको हो ? निजी कम्पनीलाई दिएपछि निगम ज्ञानी बन्ने हो ?’ प्रधानमन्त्रीले प्रश्न उठाएका छन् ।

त्यस्तै जहाजको कारणले घाटा नभएको तर व्यवस्थापनको कारणले घाटामा भएको भन्दै ओलीले निगम व्यवस्थापनको कार्यक्षमतामा प्रश्न उठाएका छन् । उनको यो शैलीलाई ‘म कुटेजस्तो गर्छु, तँ रोएजस्तो गर’ भनेजस्तो भएको आरोप लागेको छ । निगमको अकर्मण्यताको बयान गर्दै प्रधानमन्त्री ओलीले आकाशमा उड्नुपर्ने जहाजलाई अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ ओगटेर राखेको भन्दै दोष लगाएपनि यस कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छैनन् ।

नेवानि व्यवस्थापनको गल्तीहरुको विषयमा थाहा पाउँदा पाउँदै पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले अब के गर्छन् ? भन्दै आलोचकहरुले प्रश्न गरिरहेका छन् । निगम व्यवस्थापन र सरकार दुबैको मिलेमतोमा निगम घाटामा गयो, व्यवस्थापन चुस्त भएन भन्दै रणनीतिक साझेदार भित्र्याउने नाममा हवाई माफियालाई चलखेल गर्ने अवसर दिइन लागेको आरोपमा यी घटनाक्रमले बल पु¥याएको बताइएको छ ।

रणनीतिक साझेदारहरु अरुको संस्था कमजोर भयो भन्दै स्वयंसेवकको रुपमा नआउने बरु आएमा ठूलो मुनाफा लिएर जाने भन्दै विश्लेषकहरु यो नीति निगमको लागि प्रत्युपादक हुने बताइरहेका छन् । यसअघि पनि निगमलाई निजीकरण गर्ने वा निगममा रणनीतिक साझेदार भित्र्याउने चलखेल भएको थियो ।

त्यसबेला जर्मन कम्पनी लुफ्थान्सालाई रणनीतिक साझेदारको रुपमा ल्याउन तयारी अन्तिम चरणमा पुगिसकेको थियो । व्यवस्थापन सम्हाले बापत् कुल बिक्रीको तीन प्रतिशत हिस्सा लुफ्थान्साले लैजाने आत्मघाती प्रस्ताव निगमले स्वीकारेर अघि बढेको भएपनि राजनीतिक आवरणमा हवाइ माफिया त्यसमा संलग्न भएको भन्दै उक्त विषय त्यहिबेला रोकिएको थियो ।

केहि समयअघि निगमको रणनीतिक साझेदार बन्न अफ्रिकी कम्पनी इथियोपियन एयरलायन्सले प्रस्ताव गरेको थियो । यो प्रस्ताव खासै अघि बढेको छैन । सूत्रका अनुसार कतार एयरवेजले नेवानिको रणनीतिक साझेदारको रुपमा काम गर्न इच्छा देखाएको छ । सकेसम्म केहि प्रतिशत लगानी नै गर्ने नभएपनि रणनीतिक साझेदार बन्दै निगमको व्यवस्थापन सम्हाल्न कतारले प्रस्ताव गरिसकेको उनले बताएका छन् ।

यसअघि निगमको आर्थिक समस्या उजागर गर्न भन्दै गत वर्षको कात्र्तिक २९ गते श्वेतपत्र जारी गरेको थियो । उक्त पत्रमा निगमको कर्जा ३७ अर्ब ५८ करोड रहेको उल्लेख थियो । तत्कालै दुईवटा जहाज किनेको निगमको त्यसमध्ये २४ अर्ब नयाँ कर्जा थियो भने बाँकी कर्जा केहिसमय अघि खरिद गरेको न्यारोबडी जहाजको रहेको थियो । सोही समयपनि निगमलाई समस्यामा देखाउन श्वेतपत्र जारी गरिएको आरोप लागेको थियो ।

त्यतिबेला देखिनै निगमको आर्थिक अवस्थालाई देखाउँदै निगमलाई निजीकरण गर्ने अथवा रणनीतिक साझेदार भित्र्याउने योजना बनिसकेको र अहिले त्यहि योजनाले मूर्त रुप पाउन लागेको आरोप लागिरहेको छ ।

ताजा खबर