राष्ट्रपतिले किन धान रोपिनन् ?

२०७६ असार १६ सोमबार १४:२२:०० मा प्रकाशित

 यो वर्षको असार १५ आयो गयो । दही चिउरा खाएर मनाउने यो पर्व देशैभरी मनाईएको छ । कृषिप्रधान देश नेपालमा यो दिन पर्व र संस्कृतिका रुपमा मनाउने चलन चलिआएको छ । यसैपनि असार महिना खेती लगाउने महत्वपूर्ण समय हो । धान दिवस नाम दिईएपछि त यस दिनलाई किसान भन्दा बढी सेलिब्रेटी र नेताले सस्तो प्रचारवाजीका लागि मनाउने पर्व जस्तो बनाएका छन् । असार १५ को गरिमा बढाउन भन्दा बद्नाम गर्नमा ती सेलिब्रेटी र नेताको योगदान भैरहेको देखिएको छ । जुन वास्तवमै चिन्ताको बिषय हो । एकपटक मदिरामस्त कृषिमन्त्रीले हिलाम्मे खेतमा प्रदर्शन गरेको निन्दनीय व्यवहारले यसदिनकै मानमर्दन गरेको थियो । 

उद्योग व्यापारको आधार बलियो हुननसकेको नेपालमा कृषि नै अहिले पनि मुख्य पेशा हो । परम्परागत शैलीमा गरिने कृषि पेशाले आम्दानी र रोजगारी आवश्यकता अनुसार दिन सकेको छैन । न त यसलाई आधुनिकीकरण गरेर दुवै कुरामा फाईदा लिन सरकारले प्रभावकारी कार्यक्रम नै अघि सारेको देखिन्छ । यही कारण कुनै बेला धान बेच्ने हाम्रो देश चामल किन्न विवश छ । राजनीतिको ठूलो असफलता यहीँनेर प्रष्ट देखिन्छ । लाखौं युवा भविष्यलाई जोखिममा राखेर रोजगारीका लागि विदेशिनु परेको मुख्य कारण कृषि पेशा सरकारको प्राथमिकतामा नपर्नु पनि हो भन्दा अन्यथा हुने छैन ।

यस्तो अवस्थामा वर्षमा एकपटक १५ असारमा मनाईने धान पर्व सही अर्थमा राष्ट्रिय पर्वका रुपमा मनाउनु आवश्यक थियो । तर यो त सुविधाहरुबाट वञ्चित किसानहरुमाथि व्यंग गरे जसरी मनाईएको छ । न यसदिन राष्ट्रको अभिभावक न त सरकार प्रमुख नै हातमा हिलो लगाउन तयार देखिन्छन् । यसमा उनीहरुको कुनै रुचि नै देखिएन । 

जापानका सम्राट त्यस देशमा अत्यन्त लोकप्रिय छन् । राजपरिवारलाई जापानी जनता हार्दिक सम्मान गर्छन् । सम्राटले खेतमा पसेर धानको बिउ नरोपेसम्म त्यस देशमा खेतिको सुरुवात नै हुँदैन । जब उनले धान रोप्छन् अनि किसान जमेर आफ्नो काममा जुट्छन् । यो अन्य देशका राष्ट्र प्रमुखहरुले पनि सिक्नुपर्ने एउटा उदाहरणीय व्यवहार हो । यसले देशवासीमा प्रशन्नता विस्तार गर्छ र आत्मगौरव समेत बढाउन मद्दत गर्छ । 

तर खै नेपालका राष्ट्रपतिले खेतमा पसेर धान रोपेको ? कृषि प्रधान देशको राष्ट्रपतिको त स्वाभाविक अग्रसरता हुनुपर्ने हो कि धान दिवस उनको हातबाट रोपाइँ सुरु भएपछि देशभरीका किसानले हर्षित हुँदै रोपाइँ अघि बढाउन् ।

नेपालले दुइजना राष्ट्रपति व्यहोर्यो । अहिले दोस्रो राष्ट्रपतिको पनि दोस्रो कार्यकाल चलिरहेको छ । तर राष्ट्रको अभिभावक बनेर बसेका दुवैजनाले देशवासीले अनुशरण गर्न लायक र उदाहरणीय एउटै पनि काम गरेको सम्झन सकिँदैन । बरु बिकृतिजन्य र निन्दनीय काम भने जनताले देख्न पाएका छन् विभिन्न अवसरमा । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चपदस्थ व्यक्तित्वहरुलाई आफ्ना सामु घुँडा टेकाएर दशैंको टीका लगाईदिएको घटनाले नेपालीलाई लज्जित तुल्याएको थियो । उनका छोरीहरुको जुत्ता सेनाका जवानलाई बोक्न लगाएको घटना पनि विस्मृतिमा छँदैछ । अरु सानामसिना कुरा गणनै भएन । तर खै त चर्चा गर्न लायक उदाहरणीय काम । के हाम्रा राष्ट्र प्रमुखले धान दिवसका दिन किसानको भेषमा खेतको गरामा पसेर एकदुइ गाँज धानको बिउ रोप्दा हुँदैनथियो । के यो कुरा पदीय मर्यादा विपरित हुन्थ्यो कि प्रतिष्ठा बढाउने महत्वपूर्ण कार्य हुनेथियो ? सायद धेरै नेपाली जनताको मनमा यही प्रश्न तरंगित भैरहेको हुनुपर्छ यतिबेला ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट त  यो कुराको आशा गर्न पनि सकिँदैन सायद । उनको राजशी ठाँट दिनदिनै अग्रगतिमा गतिमान छ । जननिर्वाचित प्रधानमन्त्रीको सार्वजनिक सभाको आशन व्यवस्थापन देखेर अनि त्यहाँ उनको विना संकोच बसाई नियालेका जनता लाजले पानी पानी भए भने त्यसलाई अन्यथा भन्न मिल्दैन । सम्राटको शैलीमा नियन्त्रित शासन गर्ने आकांक्षा बोकेको प्रधानमन्त्री कसरी हिलाम्मे खेतमा पस्छ र उसले हिलोमा हात गाडेर धान रोप्छ ? यो त कल्पना पनि गर्न नसकिने कुरा हो अहिलेको नेपालमा ।

देशका मुुख्य नेताहरुले नै महत्व दिन आवश्यक नठानेको अनि उपेक्षा गरेको धान दिवसमा अनेक किसिमका नौटंकी नदेखिए अरु के पो देख्न पाईन्छ र ! हातमा पंजा र विहेमा जाँदा लाउने जुत्ता लाएको व्यक्तिले धान रोपेको,नांगो शरीरभरी धानका बिउ बेरेर खेतमा पसारिएकी कुनै मदमस्त युवती अनि प्लाष्टिक ओछ्याएर त्यसमाथि टेकेर सेल्फी खिच्न धान रोपेको स्वांग गर्ने महिलाको हुल असार १५ का चर्चित घटना बने ।

 यसले के देखाउँछ भने राष्ट्रका अभिभावक बनेर बसेका नेताहरु जनताको आत्मविश्वास र गौरव बढाउन चाहँदैनन् या त त्यसो गर्न जान्दैनन् । होइन भने यस्तो राष्ट्रिय पर्व जसरी पुरै देश सहभागी भएर मनाउनु पर्ने दिवसलाई किन उनीहरुले उपेक्षापूर्ण व्यवहार गरे ? कतिपय अत्यन्त हलुका लाग्ने कार्यक्रममा घण्टौ बसेर आफ्नो पदीय गरिमालाई फिका बनाउन नचुक्ने राष्ट्रपति र प्रधानमन्त्रीले यस्ता राष्ट्रिय महत्वका बिषयलाई हलुका रुपमा हेर्नु कुनै अर्थमा पनि वुध्दिमानी कुरा हुनसक्दैन । उनीहरुले गम्भीर भएर सोच्नुपर्ने प्रश्न हो । 

(फायल तस्बिर: पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली घुँडा जोतेर राष्टपतिसँग दशैं टीका लगाउँदै ।)
 

ताजा खबर