‘सिक्रेट सुपरस्टार’ लाई रवीना टण्डनको कटाक्ष

२०७६ असार १६ सोमबार ११:५६:०० मा प्रकाशित

एजेन्सी । कलिलै उमेरमा बलिउडमा स्थापित हुने क्रममा रहेकी नायिका जायरा वसीमले फिल्म उद्योगबाट सन्यास लिने घोषणा गरेसँगै सामाजिक संजाल तरंगित भएको छ ।

जायराले सामाजिक संजाल मार्फत् सन्यासको घोषणा गर्दै लेखेकी छिन्, ‘५ वर्ष अगाडि मैले एउटा निर्णय लिएकी थिएँ, त्यसले मेरो जिन्दगी नै परिवर्तन गरिदियो । अहिले फेरी एउटा निर्णय लिँदै छु, यसले पनि मेरो जीवन परिवर्तन गराइदिन्छ र यो पटक राम्रो परिवर्तन ल्याउनेछ । ’

आफ्नो करियरको ५ वर्ष आफुलाई अति कठिन भएको र यो समय आफ्नो अन्तरआत्मासँग लडिरहेको उनले उक्त पोष्टमा लेखेकी छिन् । आफ्नो जिन्दगी छोटो भएको र यस्तोमा लामो लडाइँ  गर्न आफु नसक्ने भन्दै आफ्नो निर्णयको बचाउ गरेकी छिन् ।

उनले आफुले यो निर्णय निक्कै सोचविचार गरि लिएको पनि बताएकी छिन् । यस्तो निर्णयको पछाडि आफ्नो धार्मिक आस्था रहनु पनि उनले उल्लेख गरेकी छिन् । फिल्म उद्योगले आफ्नो धर्म तथा नैतिकताको लागि असहज भएको उनले उल्लेख गरेकी छिन् ।

उनको यस्तो धारणा आएसँगै बलिउडमा लामो समय काम गरेकी नायिका रवीना टण्डनले आक्रोश व्यक्त गरेकी छिन् । ट्वीटरमा कटाक्ष गर्दै उनले लेखेकी छिन्, ‘दुई फिल्ममात्र खेलेपनि फिल्म उद्योगले सबैथोक दिएकाहरु फिल्म उद्योगसँग खुशी नहुँदा केहि फरक पर्दैन । ति व्यक्तिहरु खुशीसाथ बाहिरिए हुन्छ र आफ्नो अनावश्यक विचार आफैंसँग राखुन् भन्ने चाहन्छु । ’

जायराले आमिर खानको फिल्म ‘दंगल’ मा गीता फोगाटको शुरुवाती भुमिका निभाएकी थिइन् भने त्यस्तै आमिरकै फिल्म ‘सिक्रेट सुपरस्टार’ मा उनले इन्सीया मल्लिकको भुमिका निभाएकी थिइन् । हाल उनको नयाँ फिल्म ‘द स्काई इज पिंक’ को निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

 

ताजा खबर