स्टार कलाकारसँग काम गर्न नपाएपछि...

२०७६ असार १४ शनिबार १३:५९:०० मा प्रकाशित

एजेन्सी । दक्षिण भारतीय फिल्म हुँदै बलिउडमा स्थापित हुने क्रममा रहेकी नायिका तापसी पन्नूले अहिलेसम्म शाहरुख, सलमान र आमीर खानसँग काम गर्न पाएकी छैनन् ।

पछिल्लो समय राम्रो अभिनयको लागि चिनिंदै आएकी तापसीलाई बलिउडका खानहरुसँग काम गर्ने इच्छा थियो कि भन्ने प्रश्नमा उनले आफुलाई तीनै खान अति मनपर्ने र उनीहरुसँग काम गर्न पाइन्छ भन्ने आशा रहेको बताइन् । तर अहिलेसम्म आफुले उक्त मौका नपाएको बताइन् ।

उनि भन्छिन्, ‘शुरुमा मैले लामो समयसम्म यि मध्ये कुनै एकसँग फिल्म खेल्ने प्रस्ताव आउँछ कि भनेर कुरिरहें । तर मैले त्यो मौका पाउन सकिन । सोहीकारण मैले आफैले फिल्म उद्योगमा आफ्नो लागि स्थान बनाउन अन्य मौकाहरु खोजें ।’

उनले आँफु बलिउडमा प्रवेश गरेपनि स्टारडम नभएको स्वीकार्छिन् । फिल्म शुटिङ नभएको बेला सामान्य मानिस जस्तै सामान्य जीवन बिताउन पाउने भएकोले यसले उनलाई खुशी बनाएको उनी बताउँछिन् । उनले आफु बलिउडमा ‘बाहिरिया’ हुनु आफ्नो सबल पक्ष रहेको दाबी गर्छिन् ।

पछिल्लो समय व्यस्त रहेकी उनले अघिल्लो वर्ष फिल्म ‘मुलुक’, ‘मनमर्जिंयाँ’, र एक तेलुगु फिल्म ‘निवेवारो’ मा काम गरेकी थिइन् । त्यस्तै यो वर्ष ‘गेम ओभर’, ‘मिसन मंगल’ र ‘साँड कि आँख’ फिल्ममा काम गरिरहेकी छिन् ।

हालसालै मुम्बईमा अपार्टमेन्ट किनेकी तापसी आफ्नो सफलतासँग सन्तुष्ट रहेको बताउँछिन् । उनको फिल्म ‘गेम ओभर’ यहि जुन १४ मा रिलिज हुँदैछ ।

उनको पछिल्लो फिल्म ‘बदला’ ले राम्रै कारोबार गरेको बताइन्छ । अमिताभ बच्चनसँगको फिल्म भएर पनि यो फिल्मले सामाजिक संजालमा भने त्यति चर्चा कमाउन नसकेको बताइन्छ ।

 

ताजा खबर