लुम्बिनी एक सातादेखि अन्धकार

२०७४ भदौ १४ बुधबार ०६:२६:०० मा प्रकाशित

लुम्बिनी, १४ भदौ । विश्व शान्तिको केन्द्र एवं बुद्ध जन्मस्थल लुम्बिनी एक सातादेखि अन्धकार बनेको छ । तिव्र विद्युतिय भार थाम्न नसकी ट्रान्सफर्मर पड्किएपछि लुम्बिनी अन्धकार बनेको हो । 

लुम्बिनीमा रहेको विद्युतिय ट्रान्सफर्मर अघिल्लो शनिबार वैकल्पिक व्यवस्था नहुँदा पर्यटकीय नगरी लुम्बिनीमा हालसम्म पनि विद्युत सप्लाई हुन सकिरहेको छैन् ।  लुम्बिनी क्षेत्रमा वितरण हुँदै आएको ५ एमभिएको ट्रान्सफर्मरबाट आठ एमभिए विद्युत् वितरण हुँदै आएको थियो । 

बिजुली अभावमा पर्यटकीय क्षेत्र अस्तव्यस्त बनेको र लुम्बिनीको सौन्दर्यतासमेत हराएको पर्यटन व्यवसायी प्रकाश भट्टराईले जानकारी दिए  । विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले लुम्बिनीमा दीर्घकालीन रुपमा विद्युत्भार कटौतीमुक्त गर्न १६ एमभिएको ट्रान्सफर्मर आवश्यक रहेको र उक्त ट्रान्सफर्मर जडानका लागि पहल शुरु गरिएको बताए । “१६ एमभिएको ट्रान्सफर्मर जडानका लागि प्रक्रिया अगाडि बढाएका छौँ,” उनले भने, “उक्त ट्रान्सफर्मर जडान हुनका लागि कम्तीमा ६ महिनादेखि १ वर्षसम्म लाग्ने अनुमान गरेका छौँ ।” 

तत्काललाई समस्या समाधान गर्न ७.५ एमभिएको ट्रान्सफर्मर जडान गर्न लागिएको उनले जानकारी दिए । लुम्बिनी क्षेत्रमा हाल  १८ हजार विद्युत प्रयोगकर्ता रहेका छन् । लुम्बिनीको ट्रान्सफर्मर जलेपछि हाल रुद्रपुर क्षेत्रमा अमुवा र कक्रहवा क्षेत्रतर्फ मर्चवारबाट बिजुली दिइएको छ । लुम्बिनीमा कपिलवस्तुबाट बिजुली दिइएको छ । 

कपिलवस्तुले दिउँसोमा मात्र बिजुली दिएकाले साँझदेखि बिहानसम्म लुम्बिनीका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा विद्युत् आपूर्ति हुँदैन । जसले गर्दा रातिको समयमा लुम्बिनी घुम्न मन पराउने पर्यटकलाई खल्लो महसुस गरेको पर्यटक व्यवसायीले गुनासो गरेका छन् । पर्याप्त विद्युत्को व्यवस्था नहँुदा लुम्बिनी विकास कोषको नियमित काममा समेत समस्या उब्जिएको कोष प्रशासनले जनाएको छ । रासस 

ताजा खबर