सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जरिवाना

२०७४ भदौ १३ मंगलबार १६:२१:०० मा प्रकाशित

पाँचथर, १३ भदौ । निर्धारित समयमा सम्पति विवरण बुझाउन अटेर गर्ने जिल्लाका डेढ सय शिक्षकलाई कारबाही स्वरुप जरिवाना गरिने भएको छ । गत आर्थिक वर्ष ०७२/७३ मा सम्पत्ति विवरण नबुझाउने एक सय ६४ शिक्षकलाई जनही पाँच हजार रुपैंयाँ जरिवाना गरिने भएको हो ।

जिल्लास्थित विभिन्न विद्यालयमा कार्यरत शिक्षकले २०७३ भदौभित्र सम्पति विवरण बुझाउनुपर्नेमा अटेर गरी नबुझाएकाले शिक्षा विभागले पत्र लेखेपछि त्यस्ता शिक्षकलाई जरीवाना गरिएको हो । उनीहरुलाई जरिवाना रकम सहित सम्पति विवरण बुझाउन ताकेता गरिएको जिल्ला शिक्षा अधिकारी राज कुमार विश्वकर्माले बताए । ‘अख्तियारको पत्रलाई आधार मान्दै जरीवाना सहित विवरण बुझाउन पत्र पठाइएको छ’ जिशिअ विश्वकर्माले भने ।

अशिअ विश्वकर्माका अनुसार सम्पति विवरण नबुझाउने शिक्षकको नामावली सहितको पत्र कार्यालयमा आइपुगेको हो । सम्पति विवरण विद्यालय शिक्षक किताब खाना काठमाण्डौंमा बुझाउनुपर्ने व्यवस्था छ । राजस्व खातामा जरीवाना बुझाएर रसिद र सम्पत्ति विवरण भरी किताब खानामा बुझाउन निर्देशन दिइएको छ । शिक्षकले आर्थिक वर्षको सुरुवाती ६० दिनभित्र सम्पति विवरण बुझाउनुपर्ने भए पनि जिल्लाका केही शिक्षकले भने अटेर गरेको पाइएको हो ।

जिल्ला शिक्षा कार्यालयका अनुसार सम्पति विवरण नबुझाउने शिक्षकहरु विभिन्न तहका छन् । अख्तियारले विभागलाई पत्र लेखेपछि विभागले जरीवाना सहित निर्धारित समयमा विवरण बुझाउन पत्र लेखेको हो । अब विवरण नबुझाएका शिक्षकले जरीवाना सहित चालु आर्थिक वर्षको ६० दिन अर्थात भदौ महिनाभित्रमा विवरण बुझाउनुपर्ने भएको छ । विवरण नबुझाएका शिक्षकहरुलाई यसबारे जानकारी गराइसकिएको जिशिकाले जनाएको छ । 

ताजा खबर