दिल्ली उडान थप्दै निगम, सुधारात्मक कामहरु गरेको दाबी

२०७६ असार १० मंगलबार १३:३४:०० मा प्रकाशित

काठमाडौं, १० असार । काठमाडौं–दिल्ली रुटमा यात्रुहरुको चाप उच्च रहेपनि उडान थप्ने कार्यमा उदासिन रहेको नेपाल वायुसेवा निगम (नेवानि) ने अन्ततः दैनिक १ उडान थप्ने भएको छ ।

भारतीय निजी विमान कम्पनी जेट एयरवेज आर्थिक संकटले थलिएपछि आफ्नो सम्पूर्ण उडान रद्द गरेको थियो । जेटले काठमाडौं–दिल्लीमा दैनिक तीन उडान भर्दै आएको थियो भने मुम्बई रुटमा कम्तिमा दैनिक एक र ‘पिक सिजन’ मा दैनिक २ उडान भर्दै आएको थियो । जेटको दिल्ली तथा मुम्बई क्षेत्रको उडान रद्द भएसँगै नेवानि लगायतको अन्य एयरलायन्समा यात्रुको चाप बढेको बताइन्छ ।

यस्तोमा भारतीय बजेट एयरलायन्स इन्डिगोले दैनिक १ उडानलाई बढाएर दैनिक तीन उडान बनाइसक्दा पनि नेवानिले यस्तो मौकाको फाइदा लिन नसकेको आरोप लागिरहेको थियो । दिल्लीको लागि सातामा ११ उडान मात्र भएको नेवानिले जम्मा ३ उडान थप्दै सातामा १४ वटा बनाएपछि नेवानिको चर्को आलोचना भएको थियो ।

उच्च मुनाफा हुने बेलामा उपलब्ध जहाजको उपयोग नगरेको भन्दै नियमित आलोचना भएपछि नेवानि व्यवस्थापनले बाध्य भएर उडान थपेको बुझिएको छ । हाल आएर दैनिक ३ उडान गर्ने तयारी भइसकेको नेवानिले जनाएको छ । यसको लागि टाइम स्लट पनि पाइसकेको बताइएको छ । कुन मितिबाट दैनिक तीन उडान गर्ने भन्ने अहिलेसम्म खुलेको छैन ।

त्यस्तै दुबईको लागि पनि सातामा एउटा उडान थप गर्ने निर्णय भएको नेवानिले जानकारी दिएको छ । मुम्बई क्षेत्रमा उडान थप्ने विषयमा भने नेवानि अझै मौन रहेको छ ।

त्यस्तै आन्तरिक उडानका पाइलटको तालिम सञ्चालन गर्न एटीओ सम्बन्धी संस्थागत कार्य अघि बढाइ नेपालमा नै तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको पनि नेवानिले बताएको छ । अस्तव्यस्त भएको आन्तरिक उडानलाई गति दिनको लागि वाई १२ ई जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्त भित्रै तालिम सम्पन्न गरी उक्त जहाजहरु सुचारु गर्ने योजना रहेको बताइएको छ ।

त्यस्तै निगमको ट्विन अटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजना अनुरूप निगमले हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको र दुई वर्ष देखि रोकिएको को–पाइलटहरुको तालिम सुचारु गराई एक जनाको तालिम सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स इन्डोर्समेन्ट गर्ने कार्य भइरहेको बताइन्छ ।

बाँकी तीन जनाको तालिम समेत सञ्चालन भइरहेको छ र सो तालिम आगामी साउन मसान्त भित्र सम्पन्न गरिने दाबी नेवानिले गरेको छ ।

ताजा खबर