ध्रुवस्थलिका बाँदर र २१ तोपको सलामी

२०७६ असार ९ सोमबार १२:३६:०० मा प्रकाशित

शहरसँगै जोडिएको भएपनि शहरको कोलाहलबाट मुक्त झैं लाग्छ ध्रुवस्थलि । विमानघाट देखि आर्यघाट ओहोर दोहोर गरिरहने धेरै मानिसलाई पनि अत्तोपत्तो नहुनसक्छ के हो ध्रुवस्थलि र कहाँ पर्छ यो ठाउँ । अन्तर्राष्ट्रिय विमानघाटसँगै जोडिएको यो स्थल आजसम्म कुनै पनि भूमाफियाबाट बचेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि उत्तालिएको माओवादी सत्ताले मृगस्थलि र ध्रुवस्थलि छुट्याउने गरी बीच जंगलमा डोजर चलाएर बाटो बनायो । तर त्यसको न आवश्यकता नै महसुस गरिएको थियो न कुनै प्रयोजन नै थियो । स्थानीय जनताको सरोकार नै नभएको बाटो खोलेर भूमाफियाहरुलाई जंगल हडप्न सजिलो बनाउने उदेश्य बाहेक त्यसको कुनै अर्थ भेटिएन त्यसबेला । पाशुपत क्षेत्रको पर्यावरणमा आघात पुर्याउनेगरी भएको त्यो उपद्रव आखिर माओवादी समेत समाहित रहेको नेकपाको सरकारले सच्याउने प्रयाश गरेको छ, बाटो बन्द गरेर । 

 

यहाँ चर्चा गर्न खोजिएको बिषय हो ध्रुवस्थलि परिसरको । शिवपुरी बाबाले लामो समय तपस्या गरेको र त्यहीँ समाधिस्थ समेत भएको सुन्दर वन हो ध्रुवस्थलि । त्यहाँ बाँदर समेतका वन्यजन्तु र विभिन्न पंक्षी विचरण गर्ने गर्छन् । समाधिस्थलमा ध्यान केन्द्र छ जहाँ आस्थावान मानिसहरु समय र सुविधा अनुसार समय समयमा पुग्ने गर्छन् । जो जो पुग्छन् त्यहाँ बुर्कुसी मारिरहने आफ्नो मन शान्त पारेर फर्कन्छन् फेरि शहरको कोलाहलमा । 
यही ध्रुवस्थलिमा छन् चञ्चल चित्त र चरीत्र भएका चौपाया बाँदर । शिवपुरी बाबाले यी रुख आफैं नढलेसम्म नकाट्नु भनेकाले हुर्किन पाएका विभिन्न प्रजातिका रुखहरु छन् यहाँ । शिवपुरी बाबाले आफ्ना सहयोगीलाई अर्थ्याउँदा – ‘चर्मचक्षुले हेर्दा यी रुख हुन् तर वास्तवमा यी तपस्या गरिरहेका ऋषिमुनी हुन्,यिनलाई नकाट्नु’ भनी सम्झाएको जानकारहरु बताउँछन् । 

 

त्यसैकारण हुनसक्छ, ध्रुवस्थलि तपोवन भन्न सुहाउँदो हुँदै गएको   छ । हरियाली बढ्दै गएकाले पशुपंक्षीले पनि बास पाएका छन् भने शहरवासीले पनि स्वच्छ श्वास फेर्न सफा बतास पाएका छन् । कुनै नवधनाढ्य भूमाफियाले द्रव्य–मोहनी लाएर सरकारलाई नलठ्याउन्जेल यो तपोवन अझ हुर्कँदै बढ्दै गर्न पाउने छ । यस्तो खतरा यताका दिनमा आएर बढ्दै गएको पनि देखिन्छ । प्रधानमन्त्री निवास बालुवाटारमै भूमाफियाको जगजगी रहेको प्रमाणित भएपछि अरु सार्वजनिक जमीन र सम्पदा कति सुरक्षित रहन पाउलान् र भन्ने चिन्ता सर्वत्र पाईन्छ । 

 

त्यसो त ध्रुवस्थलिमा खचाखच भिडभाड पनि हुँदैन न यो सुनशान नै रहन्छ कहिल्यै । छलछाम गरेर धन कमाएका भन्दा मेहनत गरी नाम कमाएका व्यक्तिहरु ज्यादा पुग्छन् यहाँ । जो जो पुग्ने गर्छन् उनीहरु यो तपोवनको दीर्घायुको कामना गरिरहन्छन् र कुनै पनि प्रकारको अतिक्रमणबाट जोगाउन सल्लाह परामर्श पनि गरिबस्छन् । 

 

यता आएर प्रकृतिको सानिध्य पाईरहेका वन र बाँदरहरु ध्वनि प्रदुषणको चपेटामा पर्न थालेको देखिन्छ । एकातिर रातदिन उड्ने र अवतरण गर्ने हवाई जहाजको कर्कश आवाजले त वन परिसर थर्किरहेकै छ । यो तत्काल समाधान हुनसक्ने समस्या परेन । तोपको ध्वंशकारी आवाजले भने बाँदर र पंक्षीहरुमा निकै नकारात्मक असर पुगेको बुझिएको छ । खासगरी राष्ट्रपतिको विदाई र स्वागतमा हुने तोपको सलामी–बढाईँले वनक्षेत्र अत्याशलाग्नेगरी थर्किने अनुभवी व्यक्तिहरु सुनाउँछन् । विदाईका बेला २१ र स्वागत सलामीमा दिईने त्यति नै संख्याको सलामीले बाँदर परिवारको जीवनमा निकै तनाव बढाएको बताईन्छ । 


कुनैबेला राजाको यस्तै सवारीमा पनि तोपको सलामी दिने परम्परा थियो । तर त्यस्तो सलामीको सम्मान अर्पण गर्दा खुलामञ्चसँगैको सैनिक मञ्च टुँडीखेलमा तोप पड्काउने चलन थियो । गणतन्त्र आएपछि टुँडिखेलको तोप अन्तर्राष्ट्रिय विमानघाट सँगै रहेको अतिविशिष्ट कक्षमा सारियो । अनि त्यहीँ नै पड्काउन थालिएको हो । नेपाली सेनाले यसको प्रवन्ध गर्ने परम्परा छ ।


तोप पड्काउन थालेपछि रुखमा रमाईरहेका सबै बाँदर भुँईंमा झरेर बस्ने गरेको प्रत्यक्षदर्शीले सुनाए । सामान्यतया चारोको खोजी गर्दा बाहेकको समयमा बाँदरले रुखको हाँगोमै समय कटाउने गर्छ । सूर्य ग्रहण लागेका समय भने अत्यन्त चञ्चल स्वभावको बाँदर जमीनमा झरेर बस्छ शान्त मुद्रामा बुध्द झैं ध्यानस्त । ग्रहण अस्त भएपछि उ फेरि मौलिक स्वभावमा फर्कन्छ । 

 

तोपको आवाजले बाँदरको जीवन अस्तव्यस्त बनाएको सन्देश शीतल निवासको कानमा पर्यो भने सलामीको विकल्प खोज्न र बनवासीको कल्याण गर्न सहज हुने देखिन्छ । यो पृथ्वी मानिसले मात्र रजाईँ गर्ने मैदान होइन, प्रकृति र प्राणीले समेत बराबर यसमा आश्रय लिन पाउनुपर्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।   

ताजा खबर