फेवाताल अतिक्रमणप्रति ध्यानाकर्षण

२०७४ भदौ १३ मंगलबार ०८:१२:०० मा प्रकाशित

काठमाडौँ, १३ भदौ । पोखरास्थित फेवातालको जग्गा अतिक्रमण छानबिनको अध्ययन प्रतिवेदन र त्यस सबन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ध्यानाकर्षण भएको जनाएको छ । 

ताल आसपासको हजारौँ रोपनी जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता हुने तथा त्यही अतिक्रमित क्षेत्रमा बिना स्वीकृति नीजि होटलका संरचना बनाउने काम भइरहेको नेफेजका अध्यक्ष अर्जुन ढकालद्वारा  जारी विज्ञप्तिमा जनाइएको छ । 

जग्गा अतिक्रमणमा निजी व्यवसायी र राजनीतिक दलका नेता नै संलग्न भएको खबर सार्वजनिक हुनु निन्दनीय भएको नेफेजको विज्ञप्तिमा उल्लेख छ । सन् १९६० मा करिब १० वर्ग किमी क्षेत्रफल भएको ताल क्षेत्र सन् २००७ को सर्भेअनुसार ४.२ वर्ग किमीमा खुम्चिएको तथ्यांक छ । 

एकातिर अतिक्रमण अर्कोतिर यसको जलाधार क्षेत्रमा अनियन्त्रित तरिकाले सडक निर्माण गर्दा माटो बगेर ताल पुरिँदै गएकोप्रति नेफेजले चिन्ता प्रकट गरेको छ । नेफेजले फेवाताललाई पुरानै अवस्थामा फर्काउन अतिक्रमण भएको सबै जग्गाहरुको तुरुन्त दर्ता खारेजी गरी यहाँ बनाइएका स्थायी संरचनाहरुलाई तुरुन्तै हटाउन सम्बन्धित पक्षसँग माग गरेको छ । 

साथै यसको जलाधार क्षेत्रको दिगो भू–व्यवस्थापनका लागि प्रभावकारी कानूनी तथा संस्थागत संरचनाको व्यवस्था गर्न पनि सरकार, पोखरा लेखनाथ महानगरपालिका सरोकारवालालगायत सबै जिम्मेवार निकायसँग माग गरिएको छ । रासस 

ताजा खबर