ओली तर्सिएपछि टर्यो सम्भावित घटना

२०७६ असार ७ शनिबार १३:१४:०० मा प्रकाशित

काठमाडौं । अन्ततः गुठी विधेयकमा सरकार पछि हटेको छ । तथापि आन्दोलन कारीहरु भने सडकमै छन् । विधेयक ३ असारसम्म फिर्ता नभए आन्दोलन अनियन्त्रित भई खतरनाक अवस्था आउँछ भनी सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनेका थिए । आन्दोलनकारीले विधेयक खारेजीको माग राखेपनि सरकारले फिर्ता मात्रै गर्ने निर्णयले पनि सम्भावित दुर्घटनालाई टार्न सहयोगी भूमिका खेलेको बताईदै छ । 

नेकपा सांसद रामवीर मानन्धरले ४ असारमा भयावह अवस्था आउने चेतावनी दिएका थिए । उनले गणतन्त्र नै खतरामा पर्नेबारे सार्वजनिक मञ्चमै बोलेका थिए । काठमाडौंमा आन्दोलनको आँधीबेहरी आउँदै गर्दा दुर्घटना हुनसक्ने खतरा देखिसकेको थियो सरकारले । सरकार अर्थात स्वयं प्रधानमन्त्रीले गुठीका नाममा काँग्रेसले संघियता विरुद्ध नै आन्दोलन चर्काएको आरो लगाए पनि यो आन्दोलन कुनै राजनीतकि दलको नेतृत्व र संलग्नतामा भइरहेको थिएन । राजनीतक दलको संलग्नता नभएका यस्ता आन्दोलन अराजक हुनसक्ने इतिहासले देखाउँदै आएको छ । सुरक्षा निकायबाट प्राप्त सूचना पनि गम्भीर थिए । आन्दोलनमा घुसपैठ भइरहेको सूचना सरकारलाई मिलेको थियो । कथंकदाचित् हिंसात्मक घटना भएमा स्थिति अनियन्त्रित हुनसक्थ्यो । यी सूचनाका कारण प्रधानमन्त्री ओली गम्भीर भएका थिए । 

ओलीले निकै गा¥हो मानेर विधेयक फिर्ता गर्न लगाएका छन् । यो उनको रहर नभई वाध्यता देखिन्छ । संसदमा पेश भइसकेको विधेयक फिर्ता लिने सरकारको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीका लागि धक्का बनेको छ । सडक र संसदमा व्यापक विरोधको सामना गर्नुपर्दा ओलीको अडान समेत कमजोर बन्यो यसपटक । आफ्नो विषय दरिलोसँग राख्ने र अडान नछाड्ने ओली यसपटक भने गलेको देखियो, त्यो पनि गुठी विधेयकमा । काठमाडौंका रैथाने नेवार विधेयकको विरुद्ध आन्दोलनमा उत्रनु ओलीका लागि गम्भीर विषय हो । नेवार समुदायकी राधिका शाक्य उनकी पत्नी हुन् । रैथाने नेवारसँग उनको लामो निकटता र पारिवारिक सम्बन्ध समेत भएका उनलाई तिनै रैथानेले गलाए यसपटक । 

विवादास्पद गुठी विधेयकको विरोधमा आन्दोलन उठिसकेको जानकारी ओलीले यूरोपमै पाएका थिए । सत्तारुढ नेकपाकै सांसदहरु चर्को विरोध गरिरहेका थिए । कुनैबेला उनका विश्वासपात्र रामवीर मानन्धरले समेत ओलीलाई तोकेरै कडा अभिव्यक्ति दिन थालिसकेका थिए । ओली स्वदेश फर्कने वित्तिकै यही विधेयकले उनका आन्तरिक र बाह्य प्रतिष्पर्धीहरुले मुद्या बनाएर कमजोर बनाउन लागिसकेको सूचना पाए । माधवकुमार नेपाल पक्ष मात्र नभई प्रचण्ड निकटस्थ समेत गुठी विधेयकको विरोधमा आन्दोलनमा सहभागी हुनथालिसकेका थिए । माधव नेपाल र प्रचण्डको मौनता खतरनाक हुने देखेका थिए ओलीले । 

ओलीले सोमबार अबेरसम्म विधेयकबारे परामर्श थाले । विधेयक तयार गर्ने सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरुप्रति पनि प्रधानमन्त्री असन्तुष्टि पोखे । गम्भीर त्रुटीहरु भएको सूचना पाएपछि किन त्यस्तो भयो ? भनी ओलीले खोजी गर्न लगाए । प्रधानमन्त्रीले गुठी विधेयक आउनुका कारणहरुबारे समेत गहिरो जानकारी लिए । ओली स्वयंले भूमाफियाविरुद्ध कडा कदम चालिरहेको बखत विवादास्पद गुठी विधेयक सामान्य विषय थिएन । गुठी र भूमिबारे जानकारहरुसँग परामर्श गरेका थिए । विधेयकमा गम्भीर त्रुटीबारे जानकारी लिएपछि उनी सचेत भए । 

प्रधानमन्त्रीले सम्बन्धित अधिकारी र जानकारहरुसँग छुट्टाछुट्टै र सामूहिक भेटघाट पछि सोमबार भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई बालुवाटार बोलाएर विधेयकमा किन त्रुटी भयो भनी सोधेका थिए । तत्काल यसबारे निर्णय लिने गरी तयार हुन निर्देशन दिए । त्यसपछि उनले सत्तारुढ दलका सांसद र नेताहरुसँग परामर्श गरे । काठमाडौं उपत्यकाका सांसद र नेताहरुलाई बोलाएर परामर्श थाल्दा सबै जसोले विधेयक फिर्ता लिनुपर्ने सुझाव दिएका थिए । सबै जसोले विधेयककै कारणले भोलीको अवस्था झनै परिस्थिति भयावह हुनसक्ने बताए । गुठीको विषयलाई उठाएर गणतन्त्र नै धरापमा पार्ने खेल हुने चेतावनी दिए । सांसद रामवीर मानन्धरले ३ असारभित्र विधेयक फिर्ता नलिए ४ असारमा देशमा थेगिनसक्नुको आन्दोलन हुने चेतावनी दिएपछि ओली गम्भीर भए । 

यसैगरी, गुठीबारे पूर्व राजा ज्ञानेन्द्र शाहले थाइल्यान्डबाट अभिव्यक्ति दिएका थिए । धर्म निरपेक्षता विरोधी शक्ति समेत सक्रिय भइसकेका थिए । घटनाक्रम धर्म निरपेक्ष र गणतन्त्रको विरोधमा मोडिदै गएपछि ओली दबाबमा परे । साप्ताहिक विमर्शले लेखेको छ- उनी विधेयक फिर्ता गर्न वाध्य भए । देशमा हुनसक्ने सम्भावित भयावह घटनालाई रोक्न ओलीले हठ त्यागे ।
 

ताजा खबर