पर्वतारोहण सङ्घको अत्याधुनिक भवन तयार

२०७६ असार ७ शनिबार १२:५१:०० मा प्रकाशित

काठमाडौँ, ७ साउन । पर्वतारोहणसम्बन्धी व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङघ (एनएमए( को आफ्नै भवन तयार भएको छ । विगत तीन वर्षदेखि मासिक रु एक लाख ३५ हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएको सङ्घले नयाँ केन्द्रीय सचिवालयको अत्याधुनिक भवन बनाएको हो ।

    आगामी साउनदेखि नयाँ भवनमा कार्यालय हुने संस्थाका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकारले जानकारी दिए । सङ्घले पुरानो भवन रहेको १४ आना जग्गामा सरकारी मापदण्ड अनुरुप सुविधा सम्पन्न भवन बनाएको छ । मूल्य अभिवृद्धि करसहित रु आठ करोड ८१ लाख १६ हजार लागतमा बनेको साढे पाँचतले भवनको भुँईतला र पहिलो तला व्यावसायिक प्रयोजनमा दिइने प्रमुख प्रशासकीय अधिकृत सिन्दुराकारको भनाइ छ ।

    बैठक हल, लाइब्रेरी, पर्वतारोहण प्रशिक्षक हल, सम्मेलन कक्ष रहने भवन अहिले बनिरहेका समकालीन भवनमध्येको उत्कृष्ट भवन बनेको सङ्घले दाबी गरेको छ । आर्थिक रुपमा सबल बनाउने उद्देश्यले भवनका केही तला भाडामा दिन लागिएको जनाइएको छ । पिक व्यवस्थापनमा केही कटौती भएपछि सङ्घले आत्मनिर्भरताका लागि पनि व्यावसायिक प्रयोजनमा भाडामा दिन लागेको जनाएको छ ।

    अहिले पिकको रोयल्टी ४५ प्रतिशत मात्र खर्च गर्न पाउने प्रावधान छ । सङ्घको पोखरा सचिवालय पनि आफ्नै भवनमा छ । काठमाडौँमा १२ र पोखरामा २२ जना कर्मचारी छन् । सङ्घले पाँच हजार ८०० मिटरदेखि छ हजार ५०० मिटरसम्मका २७ वटा चुली ‘पिक’ व्यवस्थापन गर्दै आएको छ । थप पिक व्यवस्थापनका लागि पनि पहल गरिएको संस्थाले जनाएको छ । 

    पिकको रोयल्टी बापतको रकम पर्वतारोहणसम्बन्धी जनशक्ति उत्पादन, गन्तब्य प्रवद्र्धन लगायतमा काम गर्दै आएको छ । पर्वतारोहणसम्बन्धी आधारभूत र विकसित तालीम सञ्चालन गर्दै आएको छ । सन् १९९७ देखि तालीम शुरु गरेको सङ्घले हालसम्म विभिन्न तालीम गरेर दुई हजार ३०० हाराहारीमा जनशक्ति उत्पादन भइसकेको जनाएको छ । 

    ‘माउन्टेनरिङ’ सम्बन्धी बेसिक र एड्भान्स कोर्ष, अन्तर्राष्ट्रियस्तरको ‘माउण्टेन गाइड’, ‘माउन्टेन लिडर कोर्ष’, ‘रक क्लाइम्बिङ’, ‘रेस्क्यू’लगायतका तालीम सञ्चालन गर्दै आएको छ । पर्वतीय वातावरणको संरक्षण, स्थानीय विकास, पदयात्राको मर्मत तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग भाइचारा वृद्धिका काम पनि गर्दै आएको सङ्घले जनाएको छ । रासस

ताजा खबर