शहीद स्मृति विद्यालयको मन्त्री पोखरेलद्वारा अनुगमन

२०७६ असार ७ शनिबार १२:३५:०० मा प्रकाशित

लमही, ७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुरस्थित स्मृति आवासीय विद्यालयको अनुगमन गरेका छन् । द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको उक्त विद्यालयको उनले आज अनुगमन गरेका हुन् । 

त्यस अवसरमा उनले शान्ति सम्झौतापछि द्वन्द्वपीडितका छोराछोरीलाई शिक्षा दिन सञ्चालन गरिएका यस्ता विद्यालयलाई केन्द्रीय विद्यालयका रुपमा विकास गरिने बताए । “देशभर रहेका यस्ता विद्यालयको मैले अनुगमन गरेको छु”, उनले भने, “द्वन्द्वपीडित विद्यार्थी पढ्ने यस्ता विद्यालयलाई केन्द्रीय विद्यालयका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

यी विद्यालयलाई शान्ति प्रक्रियापछि सञ्चालन हुने क्रममा संस्थागत विद्यालयका रुपमा दर्ता गर्दा यी विद्यालयलाई सामुदायिक विद्यालय सरह सुविधा दिन नसकिएको उनको भनाइ छ । उनले आवासीय रुपमा सञ्चालनमा आएका यस्ता विद्यालयलाई सीमित स्रोत, साधनबाट पनि सञ्चालन गर्नु राम्रो पक्ष भएकाले विद्यालयको स्तरवृद्धिका लागि पहल भइरहेको समेत बताएका छन् ।

मन्त्री पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधिलाई उत्पादन शक्तिका रुपमा जोड्नुका साथै व्यवहारिक कार्यान्वयनको मार्गमा सरकार अघि बढेको समेत जानकारी गराए । उनले अवको शिक्षा प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । “अब कक्षा १२ को पढाइसकेपछि विद्यार्थीले सीप सिक्नुपर्छ”, उनले भने, “अहिले ८० प्रतिशत विद्यार्थीले साधारण शिक्षा र २० प्रतिशतले मात्रै प्राविधिक शिक्षा लिएका छन्, यो अनुपातलाई ठीक उल्टो बनाउनुपर्छ ।” 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । विद्यालयमा पूर्वाधार अभाव हुँदा पठनपाठनसँगै विद्यार्थीको आवासीय सेवामासमेत समस्या हुने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक धनेश्वर पोखरेलले बताए । 

उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्माले अहिले विद्यालयमा द्वन्द्वपीडितका छात्रछात्रा कक्षा १२ सम्म पढ्ने गरेका छन् । त्यसपछि भने आर्थिक अभाव हुँदा उनीहरु माथिल्लो तहमा पढ्न पाएका छैनन् । त्यसैले उनीहरुको  माथिल्लो तहको पढाइ निःशुल्क पठनपाठनका लागि माथिल्लोस्तरको कक्षा सञ्चालन गर्नुपर्ने समेत उनको माग थियो ।  रासस

ताजा खबर