मध्यावधिका लागि तयार रहन ओलीले दिए प्रचण्डलाई धम्की

२०७६ असार ६ शुक्रबार १६:४८:०० मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मध्यावधि निर्वाचनको धम्की दिएको बुझिएको छ । सत्तामा आलोपालोको बिषयमा केही समययता सत्तासीन नेपाल कम्यनिष्ट पार्टी नेतृत्वबीच तनाव भैरहेका बेला दुइ अध्यक्षवीचको पछिल्लो छलफलमा प्रधानमन्त्रीले राजनीतिक धम्की दिएका एक उच्च समाचार सूत्रले बताएको छ । 

 अस्ति बुधबार पार्टीका दुई अध्यक्ष ओली र दाहालबीच बालुवाटारमा भएको वार्ताले यहि कुराको संकेत गरेको छ । विगत केही साताबाट सम्वादहीन अवस्थामा रहेका दुई अध्यक्षबीचको सम्वादहीनतालाई तोड्दै प्रधानमन्त्री ओलीले बालुवाटारमा दाहालसँग चर्काचर्कीको शैलीमा कुराकानी गरेको स्रोतले बतायो । 

दाहालले पार्टीमा कार्यकारी अधिकार सहितको जिम्मेवारी मागे पछि वार्ता केही असहज अवस्था तर्फ मोडिएको थियो । पूर्व माओवादी केन्द्र सम्बद्ध समाचार सूत्रका अनुसार प्रधानमन्त्री ओलीले पार्टी सञ्चालन र सरकार सञ्चालनमा यस्तै अवरोध कायमै रहे आफू मध्यावधि निर्वाचनमा जान वाध्य हुने भन्दै गम्भीर धम्की दिएका थिए । पार्टीकै केही साथीहरुको संसद भंग गरेर नयाँ जनादेशका लागि मध्यावधि निर्वाचनमा जानुपर्ने दवाव आउन थालेको भन्दै प्रधानमन्त्री ओलीले दाहाललाई झस्का दिएका थिए । ओलीको यो भनाई धम्कीका भाषामा आएको र दाहाललाई गलाउने नियतले आएको सूत्रको भनाई छ । 

प्रधानमन्त्रीले त्यसो भनिरहँदा दाहालले भने पार्टी एकताका बाँकी रहेका कामलाई अबिलम्ब सिध्याउनु पर्ने, मन्त्रीमण्डलको पुनर्गठन हुनु पर्ने, स्थायी कमिटीले अनुमोदन गरिसकेको पार्टीको राजनैतिक प्रतिवेदन छापेर कार्यकर्तालाई उपलब्ध गराईनु पर्ने र पार्टीमा कार्यकारी अधिकार सहितको जिम्मेवारी आफुले पाउनु पर्ने कुरामा अडिग नै रहेपछि भने प्रधानमन्त्री ओली केही मत्थर भएका थिए । दाहाल आफ्नो अडानमा कायमै रहेपछि ओली गलेका हुन् । दाहाल आफ्नो अडानमा टसमस नहुने संकेत पाएका प्रधानमन्त्री ओलीले राजनैतिक प्रतिवेदन छाप्ने, मन्त्री मण्डल पुनर्गठनको तयारी थाल्ने, पार्टी जिम्मेवारीका बिषयमा चाँडै गृहकार्य शुरु गर्ने प्रतिबद्धता जनाए पछि दाहाल वैठकबाट निस्केका थिए । तर प्रधानमन्त्रीको उक्र आश्वासनप्रति प्रचण्ड विश्वस्त नरहेको सोही श्रोतले बताएको छ ।  श्रोतका अनुसार, पार्टी र सरकार सञ्चालन प्रति असन्तुष्ठ पार्टीका नेता र कार्यकर्ता बिच विकल्पबारे छलफल शुरु भएको सुईंको पाएका प्रधानमन्त्रीले प्रचण्डलाई थर्काउने, त्यो उपाय काम नलागे फकाउने रणनीति अन्तर्गत बुधबारको वार्ता भएको थियो । बुधबार दुई नेताहरु बिच भएको वार्तामा आज शुक्रबार सचिवालयको बैठक राखेर थाती रहेका एकतामा सबै काम टुंग्याउने बिषयमा समेत सहमती भएको बताईएको छ । 

तत्कालीन नेकपा एमाले र पूर्व नेकपा माकेबीच एकता हुँदैताका तीन महिनाभित्र एकीकृत दलको कार्यविभाजन गरिसक्ने र दुई वर्षमा दलको एकता महाधिवेशन गर्ने मौखिक समझदारी भएको थियो । तर पार्टी एकीकरणको १३ महिनासम्म प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको कार्यशैली देखेर यतिबेला दलकै अर्का अध्यक्ष प्रचण्ड ओलीसँग बिस्तारै टाढिन थालेको बताइन थालिएको छ । प्रचण्ड टाढिनुको अर्को प्रमुख कारण पार्टी एकता गर्ने टुंगोमा पुगेकै दिन यी दुवै नेताबीच अर्को पाँचबुँदे लिखित सहमति भएको थियो । उक्त सहमतिको ४ नं. बुँदामा, ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।’ तर पछिल्लो समय ओलीको पछिल्लो गतिविधिले प्रचण्डलाई झस्काएको छ । समाचारस्रोतले बताएअनुसार प्रचण्डले ओलीसमक्ष पार्टी र सरकारमा आफ्नो भूमिका के हुने र पार्टी सञ्चालन कसरी हुने भनेर केही समयदेखि पटक÷पटक कुरा राख्दै आए पनि ओलीले बेवास्ता गर्न थाल्नुभएको र उल्टो एकताप्रक्रियाकै विरोधमा रहनुभएका उपप्रम ईश्वर पोखरेललाई उचालेर पूर्व माकेका कार्यकर्तासमेतलाई उत्तेजित बनाउने काममा ओली लागेको आशंकाका कारण प्रचण्ड यतिबेला ओलीप्रति चिढिन थालेकै कारण पनि पछिल्ला सार्वजनिक अभिव्यक्ति आउने गरेको हो । 

ओली र आफूबीच भएको पाँचबुँदे सहमतिको चार नं. बुँदा यतिबेला प्रचण्डको राजनैतिक हतियार बन्न पुगेको छ र पूर्व एमालेकै कतिपय नेता उक्त बुँदा कार्यान्वयन गरिनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेकै कारण पनि यतिबेला ओलीमाथि प्रचण्डलाई व्यवस्थापन गर्नुपर्ने दबाव दलभित्रै बढ्न थालेको छ । पूर्व एमालेकै वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालको रोहबरमा भएको उक्त बुँदा कार्यान्वयन गर्नेतर्फ भने ओली पक्ष अनुदार देखिन थालेको छ । उपप्रम पोखरेलले सहमतिबारे बेला÷बेलामा व्यक्त धारणाकै कारण पनि ओली र उहाँको समूह सजिलै प्रचण्डलाई सत्ताको साँचो सुम्पन तयार नरहेको आभाष पाएपछि यतिबेला प्रचण्ड दलको राजनैतिक समीकरण नै फेरेर भए पनि ओलीलाई गलाउने रणनीतिमा लाग्नुभएको बताइन्छ– जसमा प्रचण्डलाई पूर्व एमालेका वरिष्ठ नेताको साथ र सहयोग मिल्न थालेको छ । ओलीको हेपाहा शैलीका कारण ओलीप्रति रुष्ट नेता तथा कार्यकर्ताहरु नै अहिले प्रचण्डसँग निकट हुन थालेका छन् । शीर्ष राजनीतिमा माधव र खनालको त प्रचण्डलाई साथ थियो नै– पछिल्लो समय युवा नेताहरु भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतको समेत प्रचण्डले साथ पाउन थालेका छन् । 

पूर्व एमालेको साथ र सहयोग पाउनुभएका प्रचण्डले यतिबेला दलभित्र र बाहिर पनि एकता हुँदाको उक्त सहमतिलाई वारम्वार दोहो¥याउने गर्नुभएको छ । यतिमात्रै हैन– सहमतिको चार नं. बुँदासँगै उहाँले दलले बोक्ने राजनैतिक कार्यदिशाका विषयमा पनि ‘जनताको बहुदलीय जनवाद (जबज) र वैज्ञानिक समाजवाद’का विषयमा कुरा उठाउन थाल्नुभएको छ । प्रचण्डले उठाउनुभएको यो कार्यदिशा सार्वजनिक हुन नसकेको दलको राजनीतिक दस्तावेजको एउटा महत्वपूर्ण अंगसमेत हो । यता ओलीनिकट मानिने नेता भने दलको अबको लाइन पनि जबज नै हुने अभिव्यक्ति दिइरहेका छन् । जसको नेतृत्व तहमा उपप्रम पोखरेल रहनुभएको छ । यसैले पनि पोखरेलले पार्टी लाइनका विषयमा व्यक्त गर्नुभएका कुरालाई ओलीकै योजनाअन्तर्गत आएको बताइन्छ । यसकारण पनि प्रचण्डलाई लागिरहेको चिन्ता भनेकै, दलको सिद्धान्त र संरचनामै पनि आफ्नो उपस्थिति कमजोर हुने हो कि भन्ने हो । 

यस्तोमा दलकै अर्का प्रभावशाली नेता माधवसमेत ओलीसँग चिढिनुभएको छ । ओलीप्रति रुष्ट माधवले कतिपय अवस्थामा सार्वजनिक मञ्च र छलफलका कार्यक्रमसमेत बीचमै छोडेर हिँड्नुभएको छ । ओलीले आफूलाई वारम्वार पाखा पार्ने गरेको ठान्नुभएका माधव दलमा कार्यकर्ताको गहिरो साथ भएका नेता हुनुहुन्छ । दलभित्र कार्यकर्ताको साथ पाएकै कारण पनि माधव प्रम र अध्यक्षका हैसियतमा ओलीले गर्नुभएका निर्णयबारे सार्वजनिक रूपमै तिखो आलोचना गर्न धक मान्नुहुन्न । माधवकै अडानका कारण अहिलेसम्म पार्टी नेताकार्यकर्ताको कार्यविभाजन टुंगिन सकेको छैन । माधव दलको जिल्ला इन्चार्ज र सहइन्चार्ज छनौट गर्दा कोही पनि दोहोरो जिम्मेवारीमा नपर्नेगरी गर्नुपर्छ भन्ने अडानमा रहनुभएको छ । माधवको यही अडानका कारण ओली गुटबाट पेलाइमा परेका कतिपय नेताकार्यकर्ता यतिबेला माधवनिकट बनेका छन् । 

ओलीसँग प्रचण्ड र माधवको चित्तदुखाइ भएजस्तै ओलीको पनि यी दुवै नेताप्रति गुनासा धेरै छन् । पार्टी सञ्चालन र सरकारको काममा प्रचण्डले खुलेर साथ नदिएकामा प्रचण्डप्रति ओलीको दुखेसो रहेको उहाँकै निकटवर्तीहरु बताउँछन् । यस्तै ओलीले माधवलाई त मुखै फोरेर आफ्नो विरोध गरेकोमा असन्तुष्टि पोख्नुभएको थियो । असार १ गते युरोप भ्रमणबाट फर्किएको साँझ बालुवाटारमा करिब दुई घण्टा माधवसँग भलाकुसारीपछि ओलीले गुनासो गर्नुभएको थियो– ‘सरकारले गरेका जुन काममा पनि तपाईंहरूले विरोध गरिरहनुहुन्छ ।’ यसको उत्तरमा माधवले भन्नुभएको थियो– ‘सरकारले निर्णय गर्नुअघि पार्टी सचिवालयमा छलफल त गर्नुप¥यो नि ।’ पछिल्ला दिनमा ओली र प्रचण्डबीचको संवादहीनतालाई लामो समयपछि तोड्दै ओली र प्रचण्डबीच गत बुधवार अपराह्न १२ बजे बालुवाटारमा भेट भएको छ । ओलीकै अनुरोधमा बालुवाटार पुग्नुभएका प्रचण्ड र ओलीबीच देशमा विकसित पछिल्लो राजनैतिक घटनाक्रम तथा पार्टी एकताका बाँकी कामलाई सम्पन्न गर्ने विषयमा वार्ता भएकोे बालुवाटारस्रोतले जनाएको छ । सरकारविरुद्ध माइतीघर मण्डलामा उपत्यकाका गुठियार सरकारविरुद्ध प्रदर्शनमा जुटिरहेका बेला भएको यो बैठक यसै पनि अर्थपूर्ण मानिएको छ । 

यता अध्यक्षद्वयसँग पालैपालो भेटेर दलमा आफ्नो दह्रो उपस्थिति देखाउने मामिलामा नेता माधव भने सफल देखिनुभएको छ । यही स्थितिमा गत सोमवार बिहान प्रचण्ड माधवनिवासमै पुग्नुभएको थियो । त्यहाँ माधव र प्रचण्डबीच लामै संवाद भएको थियो र संवादको केन्द्रमा ओलीको कार्यशैली थियो । दलभित्रको बदलिने दिशामा रहेको राजनैतिक समीकरणकै सन्दर्भमा नेकपाकै एक नेताले बताए ‘अहिले त नेकपाभित्र यस्तो अवस्था आएको छ, दुई नेताले छुट्टाछुट्टै भेट्नेबित्तिकै अर्का नेता झस्किने गर्छन्, यो अवस्थामा दलको सांगठनिक एकीकरण, कार्यविभाजन र राजनीतिक प्रतिवेदन सार्वजनिक गर्ने काम निकै परको कुरा हो ।’

नेकपामा सामेल हुनुअघि झन्डै २८ वर्ष दलको नेतृत्वमा रहनुभएका प्रचण्डमा यतिबेला दल र सरकार दुवैमा ओलीको एकलौटी हालीमुहाली भएकै कारण पनि पीर बढेर गएको सहजै अनुमान लगाउन सकिन्छ । यसैले पनि प्रचण्ड नयाँ समीकरण निर्माणको रणनीतिमा रहेको बताइन थालिएको छ । यसका लागि उहाँले पूर्व एमालेका प्रभावशाली नेताको विश्वास जित्ने प्रयास गरिरहनुभएको छ । नेकपा भित्र पूर्व एमालेले बोकेको राजनैतिक कार्यदिशा ‘जबज’कै कारण पनि परेको बेला ओली र माधवको सम्बन्ध नजिकिने बताउनेहरु पनि दलमा रहेका छन् । तर माधव आफैंले तयार पार्नुभएको राजनैतिक प्रतिवेदनमा उहाँले दलको आगामी कार्यदिशा भन्दै, ‘जबज र वैज्ञानिक समाजवादलाई उल्लेख गरेकै कारण जबजका पक्षमा उहाँको समर्थन रहेको भनेर भन्ने आधार छैन भन्नेहरु पनि दलमा रहेका छन् । उनीहरुकै भनाइअनुसार, ओली पक्षले भनेजस्तै माधव र ओली एकातिर बसेको अवस्थामा नेकपा यही अवस्थामा रहन सक्दैन ।

शुक्रबारको विमर्श साप्ताहिकले आफ्नो मुख्य समाचारमा लेखेको छ– आफूलाई एक्ल्याएको भन्ने थाहा पाउनासाथ प्रचण्ड पूर्व माके खेमालाई लिएर अलग हुने सम्भावना पनि उत्तिकै हुने भएकै कारण र यो कारणलाई माधवले नजिकबाट अध्ययन गरिरहनुभएकाले पनि ओलीको प्रचण्डप्रतिको यही प्रवृत्ति रहिरहे प्रचण्ड र माधवको नयाँ समीकरण बन्ने र त्यसले वर्तमान नेकपाको तस्बिर नै परिवर्तन गर्ने कुरालाई अस्वीकार भने गर्न मिल्दैन ।
 

ताजा खबर