पाँचपोखरी–मेरा ट्रेक शुभारम्भ 

२०७६ असार ६ शुक्रबार १५:३७:०० मा प्रकाशित

काठमाडौं । सोलुखुम्बुका तन्नेरीहरूले एक्सप्लोर गरेको दश दिने नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा ट्रेक’ शुभारम्भ गरिएको छ । महाकुलुङ पर्यटन सूचना केन्द्र, सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा सभासद् उत्तम बस्नेत, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, टानका केन्द्रीय सदस्य सुकबहादुर लामा, पर्यटनविद् लक्की कार्की र केन्द्रका संयोजक विक्की कुलुङले शुभारम्भ गरेका हुन् । 

उनीहरूले पदमार्गको नक्शा र बुकलेट विमोचन गरे सँगै पदमार्ग शुभारम्भ भएको हो ।  पाँचपोखरी क्षेत्र नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले छनोट गरेका सय गन्तव्यमा परेको छ । पदयात्रा महाकुलुङ गाउँपालिकाको बुङबाट सुरु भएर चलेम, हुर्हुरे, पाँचपोखरी, खोलाखर्क, तैमे, छेस्काम, गुदेल, साल्पापोखरी, सिलुछो, साउनेखर्क, गुदेल हुँदै बुङ आइपुग्दा एउटा चक्र पुरा हुने केन्द्रका अध्यक्ष कुलुङ बताउँछन् । 

पदमार्गमा अन्यत्र सामान्य होटल सुविधा भए तापनि तैमे  र साउने खर्कमा क्याम्पिङ गर्नु पर्ने बाध्यता रहेको उनले जानकारी दिए । 

पदमार्ग शुभारम्भ कार्यक्रममा पाँचपोखरी क्षेत्रको चिनारी दिने वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा सभासद् बस्नेत, बोर्डका सिइओ जोशी, पर्यटनविद् कार्की, टानका सदस्य लामा, केन्द्रका अध्यक्ष कुलुङ र पत्रकार अमृत भादगाउँलेले नयाँ पदमार्गको मार्केटिङमा जोड दिनु पर्ने बताएका थिए । 

ताजा खबर