आठ सयभन्दा बढी घर विद्युत्को पहुँचभन्दा बाहिर

२०७६ असार ६ शुक्रबार १३:४०:०० मा प्रकाशित

बेझाड, ६ असार । रामपुर नगरपालिकाभित्रका आठ सयभन्दा बढी घरधुरीमा विद्युत् सुविधा पुग्न सकेको छैन । 

नगरका वडा नं १, २, ३, ४, ९ र १० का गरी ८३३ घरधुरी विद्युत्को पहुँचबाट बाहिर रहेका छन् । नगरका ५, ६, ७ र ८ वडामा भने सबै घरधुरीमा बिजुलीका राम्रो सुविधा पुगेको छ । 

    नगरपालिका–१ मा सबैभन्दा बढी घर बिजुलीको पहुँचभन्दा बाहिर रहेका छन् । यहाँका करीब सात घरधुरीमा बिजुली पुग्न सकेको छैन । नगरकै विकट र दुर्गममा रहेको यो वडाको पन्थे क्षेत्रमा ३० घरधुरीमा बिजुली पुगे पनि वडावासी अझै पनि अन्धकारमा जीवन बिताउन बाध्य छन् । 
       
    छम्के, पन्थे, फोक्सिङ्गकोट, बार्दाकोट, चिहानडाँडा, साखर्दी, मकैडाँडा, कुमैडाँडा, फुकलडाँडा, गजबन्दीलगायतका क्षेत्रमा विद्युतीकरण विस्तारको काम भइरहेको वडाध्यक्ष मित्रलाल कँडेलले जानकारी दिए । यी क्षेत्रमा पहिलो प्राथमिकता दिएर विद्युतीकरणको काम सम्पन्न भएपछि अरू क्षेत्रमा विद्युतीकरणको प्रक्रिया अगाडि बढाउने योजना रहेको अध्यक्ष कँडेलको भनाइ छ ।
      
    यस वडामा तीन वटा लघु जलविद्युत् आयोजना निर्माण भएपनि हाल भने बार्दाकोट र छम्केमा दुई वटा मात्र लघु जलविद्युत् आयोजना सञ्चालनमा छ । विद्युत् सेवाको सुविधा नहँुदा कामकाजमा समस्या परेको वडाका कर्मचारी तथा जनप्रतिनिधिको गुनासो छ ।
 
    त्यसैैगरी वडा नं २ को अत्रवास क्षेत्रका ४० घरधुरीमा विद्युत् सेवा पुगेको छैन । विद्युतीकरणका लागि काम भइरहेको वडाध्यक्ष ताराबहादुर थापाले बताए । उनका अनुसार घरघरमा वायरिङ र बिजुलीको पोल गाड्ने कामहरु सकिसकेको छ । पहिले बिजुली पुगेका गाउँमा पुराना पोल जीर्ण र काठका पोललाई विस्थापित गरी १३ वटा नयाँ पोलका लागि नगरपालिकामा माग गरिएको छ । 

    त्यस्तै वडा नं ३ को ओइरेघाट, सिनाह, तमलोकवारी क्षेत्रका करीब ६५ घरधुरीमा विद्युत् सेवा नपुगेको वडाध्यक्ष दिनेशकुमार खनालले जानकारी दिए । पुरानो र जीर्ण पोललाई विस्थापित गरी नयाँ पोल नगरपालिकासँग माग गरिएको छ । ४ नं वडाको देविस्थानमा एक घरबाहेक वडाका सबै घरधुरीमा बिजुलीको सुविधा पुगेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए । आर्थिक अवस्था न्यून भएकाले एक घरमा मात्र बिजुली नपुगेको र अब वडा कार्यालयले विद्युतीकरणका लागि सहयोग गर्ने नेपाली बताए । 

    वडा नं  ९ का २५ घरधुरीका नागरिकले अझै पनि विद्युत्को सेवा सुविधा उपभोग गर्न पाएका छैनन् । यहाँका मन्छेलुङ्गका पाँच घर, लाम्दीखरकका एक, जब्गादी मधुकोटका एघार, लाम्दीखोलाका आठ घरमा विद्युत् सेवा नपुगेको वडाध्यक्ष इच्छराम सिञ्जालीले जानकारी दिए । 

    विद्युतीकरण विस्तारको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । “विद्युत्का लागि नगरस्तरीय रुपमा अन्य वडामा काम भइरहे पनि यस वडामा कुनै पनि प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन”, अध्यक्ष सिञ्जालीले भने ।

    नगरकै दश नं वडाको मगरे गाउँका दुई घर परिवारबाहेक सबै घरधुरीमा बिजुलीको सुविधा पुगेको वडाध्यक्ष लीलबहादुर गाहाले बताए । आर्थिक अवस्था अत्यन्तै न्यून र अपायक स्थानमा घर रहेका कारण मगरे गाउँका मुक्तबहादुर कुँवर र जङ्गबहादुर आलेको घरमा बिजुलीको सुविधा पुगेको छैन । वडा कार्यालयको यसै वर्षमा यी दुई घरमा पनि विद्युतीकरणका लागि सुविधा पु¥याउने योजना रहेको छ ।
   
    वडा नं ८ मा सबै वडाका घरमा विद्युत् सेवा पुगे पनि पुरानो काठका पोलहरु जीर्ण अवस्थामा रहेकाले ७५ वटा पोल नगरपालिकामा माग गरिएको वडाध्यक्ष बोमबहादुर नामजालीले जानकारी दिए ।
    
    नगरप्रमुख रमणबहादुर थापाले आगामी दशैँसम्ममा विद्युत् सेवा नपुगेका नगरका सबैजसो घरमा बिजुली बाल्ने गरी काम धमाधम भइरहेको बताए । “रामपुर नगरलाई उज्यालोमय नगरका रुपमा घोषणा गर्ने गरी आउँदो दशैँसम्ममा नगरका सबै घरधुरीमा बिजुलीको सुविधा पुग्नेछ, विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ”, नगरप्रमुख थापाले भने ।

    केन्द्रीय विद्युत् प्राधिकरणमार्फत नगरपालिकाका लागि रु ६० लाख रकम विद्युतीकरणमा बजेट प्राप्त भएकामा प्राविधिकको अनुमानअनुसार ४० लाखमा काम सम्पन्न हुने भएपछि रु २० लाख रकम फिर्ता गरिएको नगरपालिकाले जनाएको छ । पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिका कालीगण्डकी वेशीकै व्यापार व्यवसाय गर्ने उपत्यकाका रुपमा लिइन्छ । 

    २०७१ साल वैशाख २५ गते रामपुर गाविसबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका नागरिकले अझसम्म पनि विद्युत्को सुविधा उपभोग गर्न पाएका छैनन् । केही स्थानमा सोलार र लघु जलविद्युत्मार्फत सुविधा उपभोग गरे पनि गाउँका गरीब, दलित तथा विपन्न परिवारले अँध्यारोमै जीवन व्यतित गर्न बाध्य छन् । रासस

ताजा खबर