तनावबाट यसरी मिल्छ छुट्कारा  

२०७६ असार ६ शुक्रबार १०:५२:०० मा प्रकाशित

मैले सुनेको थिएँ, एकपटक भगवान्को अदालतमा दुईटा मुद्दाहरु परेछन् । अनि मुद्दा पेश गर्ने मानिसले भन्यो, दुईटा मुद्दा परेका छन् भगवान्, पहिलो मुद्दा अँध्यारोको परेको छ । सूर्यमाथि मुद्दा हालेको छ । मुद्दा के छ भने अँध्यारोले काहीँ चूप लागेर बस्न सकेन । शान्तिसँग बस्न सकेन । जहाँ अँध्यारो बस्छ, सूर्यको प्रकाशले लखेटिहाल्छ । यहाँचाहिँ आनन्दसँग बस्छु भन्यो, फेरि त्यहाँ सूर्यको प्रकाश आउँछ, फेरि दौडाउँछ । कुनै ठाउँमा पनि शान्तिसँग बस्न दिएन । सूर्यको नोक्सान गरिदिएको पनि छैन, मेरो तर्पmबाट गल्ती भएको छैन । मैले कहिल्यै सूर्यलाई भेटेको पनि  छैन । फेरि केको दुश्मनी ? तर मलाई जहाँ गए पनि लखेट्छ र म एक ठाउँमा स्थिर भएर बस्न सकिनँ । विश्राममा जान सकिनँ । भगवान् यो सौर्यमण्डलबाट सूर्यलाई नै हटाइपाऊँ भनेर निवेदन हालेछ । 

अनि भगवान्ले भन्नुभयो, सूर्यबाट यति ठूलो गल्ती भएछ त, त्यसो भए ठीक छ सूर्यलाई झिकाऊँ । साँच्चै सूर्यले लखेटेको हो कि हैन ? पत्ता लगाउनुप¥यो । 

अनि अर्को मुद्दा कसको छ ? अर्को मुद्दाचाहिँ धेरै जनाको छ । तर संयुक्त मुद्दा हालेको छ । यसमा ग्रहदशाहरु छन् । राहु, केतु, अढैया, साढेसाती, विभिन्न प्रकारका ग्रहदशाहरु छन् । त्यसपछि विभिन्न नाम भएका भूतप्रेतहरुले मुद्दा हालेका छन् र सबैको मुद्दा एउटै प्रति छ । एउटा प्रति सबैले मुद्दा हालेका छन् । वादी अनेक छन् तर प्रतिवादीचाहिँ एउटै मात्र छ । त्यो हो मानिसमा रहेको ध्यान । निवेदनमा उल्लेख छ, भगवान्, जब–जब मानिस ध्यानस्थ रहन्छ, तब–तब हामी मानिसको नजिक जान पनि सक्दैनौं । ग्रहदशाहरुले भनेका छन्, मानिस ध्यान गर्न थाल्यो भने हामी विभिन्न प्रकारका दशाहरु मानिसलाई लाग्नको त कुरा छाडिदिउँ, ती मानिसको नजिक पनि जान सक्दैनौं । अनि ती भूत, प्रेत, पिशाचहरु उनीहरुले पनि भने, जब मानिस ध्यानमा जान्छ, हामी नजिक पर्न पनि सक्दैनौं ।

कुनै प्रकारको भूतप्रेतहरु नजिक आउन सक्दैन । भगवान् या त हामीलाई अर्को काम दिनुप¥यो, भूतप्रेतको काम त मानिसलाई दुःख दिने हो, ग्रहदशाको काम नै त्यही हो, दशा भन्नेबित्तिकै मानिसलाई दुःख दिने, हाम्रो काम नै मानिसलाई दुःख दिने हो र सबै मानिस ध्यानस्थ भए भने दुःख दिने काम नै बन्द हुने भयो । कसैलाई दुःख दिनै नपाउने भयौं । या त हाम्रो काम परिवर्तन गरिदिनुप¥यो, हैन हामीलाई दुःख दिनकै लागि बनाएको हो भने यो मानिसको जीवनबाट ध्यान हटाइदिनुप¥यो । 
मुद्दाको शीर्षक थियो– ‘मानिसको जीवनबाट ध्यान हटाइपाऊँ ।’ 

अनि भगवान्ले भन्नुभयो, ठीक छ उसो भए ध्यानलाई पनि बोलाइपाऊँ, ऊसँग पनि कुरा बुझौं । के भएको रहेछ । अनि सूर्यलाई पनि बोलाइयो, ध्यानलाई पनि बोलाइयो । दुवै भगवान्को दरबारमा उपस्थित भए । तर वादी उपस्थित भएनन् । जसले मुद्दा हालेको ती भूत, प्रेत, ग्रहदशा पनि छैनन्, अँध्यारो पनि छैन । बेपत्ता । 

अनि भगवान्ले भन्नुभयो– फेरि ती मुद्दा हाल्नेचाहिँ कहाँ गए ? भगवान् अलप भए, कहाँ गए कहाँ । उनीहरु छैनन् भने ठीक छ यी प्रतिवादीहरुलाई सोधौं । अनि सूर्यलाई भगवान्ले सोध्नुभयो, सूर्य, तिमी अँध्यारोलाई लखेटेको लखेट्यै गर्छौ रे । काहीँ बस्न दिँदैनौ रे हो ? सूर्यलाई अचम्म लाग्यो । लौ मैले त अहिलेसम्म अँध्यारोलाई देखेकै छैन, कस्तो हुन्छ अँध्यारो ? जसलाई मैले देखेकै छैन, त्यसलाई मैले कसरी दुःख दिऊँ ? हे भगवान् मैले त कसैलाई दुःख दिएको छैन । अँध्यारोसँग मेरो अहिलेसम्म भेट भएकै छैन । 

त्यसपछि भगवान्ले ध्यानलाई सोध्नुभयो, ए मानिसभित्र रहेको ध्यान, तिमी भन, तिमीले यी भूतप्रेतहरु, दशाहरु मैले बनाएको, मैले सिर्जना गरेको, गलत काम गरे भने दुःख दिनु, सजाय दिनु, उनीहरुलाई बाटोमा लिएर आउन भनेर मैले बनाएको हो । अब यिनीहरुलाई त मानिसको जीवनमा छिर्नै दिँदैनौ रे, कुनै प्रकारका दशाहरु, भूतप्रेतहरु लाग्दै लाग्दैनन् रे, आउनै सक्दैनन् रे, अब यसरी तिमीले मेरो नियमलाई नै बिगारिदिनु त भएन नि । 

अनि मानिसभित्र रहेको ध्यानले भन्यो, यो अचम्मको कुरा के गरेको ? तपाईंको सृष्टिमा त के के छ, के के छ । यो अथाह छ, बुझेर बुझिनसक्नु, जानेर जानिनसक्नु छ । यो सृष्टि धेरै ठूलो छ । विराट छ, म कसरी जानौं भगवान् ? तर मलाई ती भूत, प्रेत, ती ग्रहदशाहरु भनेको के हो ? कुनै जानकारी नै छैन । अहिलेसम्म तिनीहरुसँग मेरो भेट भएको छैन । म जहाँ हुन्छु, त्यहाँ कुनै प्रकारको ग्रहदशा आउँदैन । आएकै छैन । म जहाँ हुन्छु, त्यहाँ कुनै प्रकारको भूतप्रेत आएकै छैन । अब यो हुँदै नभएको कुरा, कसैलाई भेट्दै नभेटेको, देख्दै नदेखेकोलाई मैले कसरी दुःख दिनु ? ग्रहदशासँग मेरो कहिल्यै भेट भएन । भूतहरुसँग भेट भएन । अब कसरी मैले दुःख दिनु । अनि भगवान्ले भन्नुभयो, ल त्यसो भए ती जसले दुःख दियो भनेर मुद्दा हालेका थिए, तिनीहरु दुईटालाई उपस्थित गराउँ या जुन दिन ती वादी, प्रतिवादी उपस्थित हुन्छन्, त्यो दिन मलाई भनौं । र भनिन्छ, अहिलेसम्म पनि वादी प्रतिवादी एकै ठाउँमा जम्मा हुन सकेकै छैनन् । 

जहाँ सूर्य हुन्छ, त्यो सूर्य भएको ठाउँमा अँध्यारो पुग्न सकेन, दुईटाको भेट नै भएन र जहाँ ध्यान हुन्छ, त्यहाँ ग्रहदशा, भूतप्रेत जानै सक्दैन । अहिलेसम्म भेट नै भएन । ध्यानी व्यक्तिलाई कुनै प्रकारको दशा लाग्दैन । दशा भनेको ध्यान हट्नु हो । ध्यानी व्यक्ति असफल हुँदैन । ध्यान भनेको सफलता हो । कुनै पनि मानिसले मैले ध्यान लगाएर काम गरेँ, त्यसकारण असफल भएँ भनेको छैन । ध्यान लागेपछि त केही पनि काममा सफल हुन्छौं । ध्यान र असफलताको सम्बन्ध बन्नै सक्दैन । दशाहरु भनेको असफलता हो । जहाँ–जहाँ मानिस असफल भयो, त्यहाँ–त्यहाँ हामी दशा लाग्यो भन्छौं । असफलता र दशा एउटै हो । ध्यानसँग सबै प्रकारका ग्रहदशाहरु भाग्छन् । कुनै दशासँग भेट हुँदै हुँदैन । ध्यान लगाएर काम गर्ने मानिस कहिल्यै असफल हुँदैन ।

असफल नभएपछि ग्रहको कुरै आएन, दशाको कुरै आएन । जे काम गर्छौं, ध्यान लगाएर गरौं । होस पु¥याएर गरौं । थाहा पाएर गरौं । अब कुनै भूतप्रेतहरु लाग्दैन । भूतप्रेतहरु जहिले पनि बेहोसीमा लाग्छन् । होस छैन, ध्यान छैन, सजग छैन भने यो ब्रह्माण्डमा भएको नकारात्मक ऊर्जा शरीरमा प्रवेश ग¥यो भने हामी भूत लाग्यो भन्छौं । यो ब्रह्माण्डमा त नकारात्मक सकारात्मक सबै छ । हरेक चीजमा छ । कुनै पनि मानिस बत्तीसै लक्षणले युक्त हुँदैन । केही गुण, केही अवगुण सबैमा हुन्छ । कुनै पनि तत्वमा, कुनै पनि चीजमा गुण अवगुण हुन्छ । यो प्रकृतिको नियम हो । यदि हामी ध्यानस्थ हुन सकेनौं भने अवगुणले हामीलाई घेर्छ र ध्यानस्थ भयौं भने गुणहरुको सान्निध्य उपलब्ध हुन्छ । त्यसैले ध्यानस्थ भयौं भने कुनै प्रकारको भूतप्रेत नजिक नै आउँदैन । ध्यान हट्यो कि भूत लाग्यो । ध्यानस्थ व्यक्तिलाई भूत लागोस्, बोक्सी लागोस्, दशाहरु लागोस्, यस्तो सम्भावना हुँदै हुँदैन । ध्यानस्थ बन्नु छाता ओढ्नुजस्तै हो । जतिसुकै पानी परोस् न, छाता ओढेको छ भने मानिस भिज्दैन । त्यसैगरी ध्यानस्थ भइयो, सजग भइयो भने कुनै प्रकारका दशाहरु र भूतप्रेतहरु लाग्दैनन् । ध्यान गर्नु नै स्वस्ति शान्ति हो । स्वस्ति शान्तिको अर्थ हुन्छ स्वास्थ्य अनि शान्त । ध्यान गरेपछि मानिस शान्त हुन्छ ।

अब शन्तिको लागि किन अरु कार्य गर्नुप¥यो र ? शान्त भइहाल्यो नि । र ध्यान गरेपछि मानिस स्वस्थ हुन्छ । अस्वस्थ बनाउने सबै प्रकारका ऊर्जाहरु अलग हुन्छन् । स्वास्थ्य, शान्ति अनि सफलता, यी तीनवटै तत्व ध्यानबाट प्राप्त हुन्छ । जसले जति बढी ध्यानस्थ भएर काम गर्न सक्यो, त्यही व्यक्ति सफल हुन्छ । जसले शरीरप्रति ध्यान लगायो, उसको स्वास्थ्य सबल हुन्छ र जसले आफ्नो मनप्रति ध्यान लगायो, उसको मन शान्त हुन्छ । आफ्नो शरीरप्रति ध्यान स्वास्थ्य, आफ्नो मनप्रति ध्यान शान्ति हुन्छ । ध्यान नलगाएको कारणले मात्रै हाम्रो मनमा नकारात्मक कुराहरु आएका हुन् । नकारात्मक कुरा मनमा कसरी छि¥यो ? बेहोस भएको कारणले छि¥यो । एउटा भजन छ– 'होस नराखी हिँड्दा यात्री मनमा चोर पसेछ ।' 

यो चोरहरुले दुःख दिन्छ । होस नराखी हिँडियो, होस रहेन अब मनमा नकारात्मक कुराहरु छिरे, अब दुःख दिन्छ । यिनै हुन्, ग्रहदशाहरु । दशा भनेको यही हो । भूत भनेको यही हो । नकारात्मक कुरा मनमा छि¥यो, भूत लाग्यो । यी भूतहरुबाट बच्ने एउटै उपाय ध्यान हो । मनमा ध्यान लगाउनुभयो भने अब नकारात्मक कुरा आउन दिनुहुन्छ र ? थाहा पाईपाईकन फोहोर कसले भित्र आउन दिन्छ ? थाहा नपाएर आउँछ यो, बेहोसीमा आउँछ । मनमा ध्यान लगायौं, हामी शान्त भयौं, शरीरमा ध्यान लगायौं, स्वस्थ भयौं, कर्ममा ध्यान लगायौं सफल भयौं । स्वास्थ्य, शान्ति र सफलता ध्यानबाट मात्रै प्राप्त हुन्छ । हामी स्वस्थ बन्न चाहन्छौं । सफल बन्न चाहन्छौं । शान्त हुन चाहन्छौं भने ध्यानको कला सिक्नुपर्छ । ध्यान गर्न जान्नुपर्छ । हामी सबैलाई पनि ध्यान गर्ने अवसर मिलोस् । (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट) 


 
 

ताजा खबर